कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पुल निर्माणमा ढिलाइले सास्ती

(प्यूठान) — स्थानीयको वर्षौंदेखिको झोलुंगे पुल निर्माण गर्ने सपना अधुरै छ । प्यूठान नगरपालिकाको सारीबाङ र पुन्यखोला जोड्ने झिमरुक नदीमा झोलुंगे पुल निर्माण नहुँदा स्थानीयले दुःख पाएका हुन् । ०७३ मै ठेक्का भई निर्माण थालिएको उक्त पुल निर्माण स्थल बगाएपछि रोकिएको थियो ।

१८ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ०७५ साउनमा अर्को सम्झौता भयो । काम सम्पन हुने बेलासम्म पनि पुल निर्माणको काम नथालिएको स्थानीय हेमराज पराजुलीले बताए । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरबाट १ करोड ९५ लाख रुपैयाँमा निर्माण गर्ने भनिएको पुलको ठेक्का नीलगिरी निर्माण सेवा काठमाडौंले लिएको हो ।


‘सारीबाङ फेदीको झिमरुक नदी घाटमा पुल निर्माणका लागि माग गर्न थालेको वर्षौं भयो,’ पराजुलीले भने, ‘माग गर्दागर्दै झिमरुकले धेरैको ज्यान लिइसक्यो ।’ झिमरुक नदी तर्ने क्रममा १० वर्षयता तीन जनाको बगेर ज्यान गएको छ । प्यूठान नगरपालिकाको सारीबाङ, मल्लरानीको धरमपानी, बड्डाँडा, लाम्बेलालगायत क्षेत्रका स्थानीय झिमरुक फाँटसम्म यही नदी तरेर जाने गरेको स्थानीय हिमाल केसीले बताए । ‘झिमरुक खोला नतरी हामीलाई सुखै छैन,’ उनले भने, ‘हरेक दिन जोखिम मोलेर वारपार गर्छौं ।’


गत वर्ष ठेकेदार आएर पुल निर्माण गर्न जमिन खन्दा धेरै खुसी भएका स्थानीय त्यसपछि कामअघि नबढदा निराश छन् । ‘एक–दुई दिन आएर पुल निर्माण गर्ने भनेर दुई–चारवटा खाडल खनेपछि ठेकेदार बेपत्ता छन्,’ केसीले भने, ‘पुल निर्माणमा भएको ढिलाइ बुझ्न सकिएको छैन ।’ हरेक वर्ष स्थानीयले काठको फडके बनाएर ओहोरदोहोर गर्ने गरेको स्थानीय सनत केसीले बताए । ‘स्थानीयले श्रमदान गरी निर्माण गरेको फडके हरेक वर्ष असार लाग्दा नलाग्दै बगाउँछ,’ उनले भने, ‘फेरि कात्तिकमा नयाँ बनाउँछौं ।’


यहाँका स्थानीयलाई झिमरुक पारि पुग्ने विकल्प बाग्दुला र बिजुवारबाहेक अन्यत्र नभएको केसीले बताए । यहाँका स्थानीयलाई पुल बने ३ मिनेटमा पुग्ने ठाउँमा घुमेर जाँदा झन्डै डेढ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।

पुल निर्माणमा रहेका विवाद समाधान गरी छिट्टै सुरु गर्ने प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । उनले ठेकेदारलाई छिट्टै काम थाल्न अनुरोध गरेको पनि सुनाए । ‘पुल्यखोला क्षेत्रतर्फ पर्ने जग्गावालसँग कुरा मिलेको थिएन,’ उनले भने, ‘विवाद मिलाउन पहल थालेका छौं । अब छिट्टै काम सुरु हुन्छ ।’


निर्माणको बाटो खुला

डिजाइन स्टिमेट फेल भएको भनिएको झिमरुक गाउँपालिका ५, मच्छीढाडस्थित झिमरुक नदीको पक्की पुल निर्माणको बाटो खुलेको छ । भदौ ८ गते प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीको संयोजकत्वमा निर्माण व्यवसायी, स्थानीय सडक, पुल सहयोग एकाइ (एलआरबीएसयू) का निर्देशक सकिल मानन्धर, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, प्यूठानका प्रदेश सांसद हरिप्रसाद रिजालसहितको बैठकले रोकिएको पुल निर्माण थाल्ने निर्णय गरेपछि पुल निर्माणको बाटो खुलेको हो ।


पुलको डिजाइन स्टिमेट नमिलेका कारण काम गर्न नसकिएको भन्दै निर्माण व्यवसायीले दुई वर्षदेखि पुल निर्माणको काम रोकेका थिए । बैठकले निर्माण गर्दा परेको प्राविधिक समस्याको प्रस्ताव निर्माण व्यवसायीले स्थानीय सडक, एलआरबीएसयूमा पेस गर्ने र स्टिमेट फेरेर निर्माण गर्ने स्वीकृति कार्यालयलाई पठाएपछि काम अगाडि बढाउने निर्णय भएको पूर्वाधार विकास कार्यालय प्यूठानका निमित्त प्रमुख नवीन श्रेष्ठले बताए । पुल निर्माणको काम नीलगिरी/आशु जेभी निर्माण सेवाले ३ करोड ५६ लाख रुपैयाँमा ठेक्का लिएको थियो । ०७२ कात्तिकदेखि काम थालेर ०७४ असोज मसान्तभित्र निर्माण सक्ने सम्झौता हो ।


‘पिलर राख्ने खाडल खन्दा दलदले माटो भेटिएपछि निर्माण व्यवसायीले काम रोकेका थिए,’ निमित्त प्रमुख श्रेष्ठले भने, ‘स्टिमेटमा ६ मिटर गहिरो जाने थियो । अब ५ मिटर गहिरो मात्र खनेर ढुंगा भरेर पिलर उठाउने सहमति भएको छ ।’ असोज पहिलो साताबाट निर्माण व्यवसायीले काम थाल्ने सहमति पनि भएको उनले बताए । ‘आउँदो असार मसान्तसम्म पुल निर्माण सकिसक्नुपर्ने हुन्छ,’ श्रेष्ठले भने, ‘अब म्याद थप्न सकिने अवस्था छैन ।’


स्थानीय सडक पुल सहयोग एकाइ ललितपुरले नयाँ डिजाइन दिन ढिलाइ गरेकाले पुल निर्माण दुई वर्षसम्म रोकिएको निर्माण व्यवसायी बालाजु श्रेष्ठले बताए । ‘बीचका तीनवटा पिलरको फाउन्डेसनमा डिजाइन अनुसारको माटो भेटिएन,’ उनले भने, ‘दुई/तीनपटक पिलर राख्ने खाडल खन्यौं । काम गर्न सकिने अवस्था नदेखिएपछि रोकेका हौं ।’ उनले पुल निर्माणमा देखिएको प्राविधिक समस्या र थप आर्थिक भारसहितको प्रस्ताव एकाइ कार्यालयमा पठाएको बताए । ‘बुटवलमा बसेको बैठकमा भएको निर्णय अनुसार डिजाइन संशोधन भए तत्कालै काम थाल्ने योजना छ,’ उनले भने ।

प्रकाशित : भाद्र १४, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?