कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गोठमुक्त भए विद्यार्थी

रुकुम पूर्व — सिस्ने गाउँपालिका ५, स्थित दुधिल्लागैरामा रहेको सहिद स्मृति आधारभूत विद्यालयका विद्यार्थीले गोठ छाडेका छन् । गोठमा पठनपाठन गर्दै आएका उनीहरू विद्यालयको नयाँ भवन बनेपछि त्यता सरेका हुन् ।

०६९ सालमा खुलेको विद्यालयले स्थापनाकालदेखि ४ वर्षसम्म भाडाको घरमा पठनपाठन संचालन गर्दै आएको थियो । त्यसपछिका ३ वर्ष खरले छाएको एउटा गोठ निर्माण गरी पठनपाठन गराएको थियो । ‘विद्यालयको आवश्यकता देखिएपछि स्थापना गर्‍यौं,’ विद्यालयका संस्थापक अध्यक्ष बलबहादुर परियारले भने, ‘भौतिक पूर्वाधार खडा गर्न लामो समय लाग्यो । बल्ल बालबालिकालाई सजिलो भएको छ ।’

कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयका विद्यार्थीले गोठसँगै झाडीमा दिसापिसाब गर्नुपर्ने बाध्यता पनि हटेको छ । विद्यालय भवनसँगै शौचालय बनाइएको छ । ‘आफैंले फोहोर गर्नुहुन्न, दिसापिसाब शौचालयमा गर्नुपर्छ भनेर सिकाउने तर आफैं झाडीमा जानुपर्दाको पीडा बिर्सन नसकिने छ,’ प्रधानाध्यापक गंगा थापाले भनिन्, ‘अब विद्यार्थीका लागि मात्रै होइन, शिक्षक र कर्मचारीका लागि पनि सजिलो भएको छ ।’


एउटै गोठमा तीनवटा कक्षाका विद्यार्थीलाई पठनपाठन गराउँदा समस्या भएको प्रअ थापाले बताए । सिस्ने गाउँपालिका र स्थानीयको श्रमदानमा विद्यालय भवन बनेको हो । सिस्नेले ६ लाख र स्थानीयले १ लाख ५० हजार रुपैयाँ बराबरको श्रमदान गरेका थिए । भूकम्प प्रतिरोधी भवन बनाइएको छ ।


शिक्षा लिनलाई वातावरण पनि उपयुक्त चाहिने भएकाले त्यसको व्यवस्थापनका लागि भवन र शौचालय बनाइएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै उनले भौतिक संरचनाका साथै गुणस्तरीयतामा पनि ध्यान दिइएको बताइन् ।


बाल शिक्षादेखि ३ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा दुई शिक्षक र एक कार्यालय सहयोगी छन् । उक्त विद्यालयमा दुधिल्लागैरा, भैंसीखाल, मटिखन्या, फुर्चेकोट, घङारुचौरका विद्यार्थी पठनपाठनका लागि आउँछन् ।

प्रकाशित : भाद्र १३, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?