प्रतिष्ठानलाई शुल्क बढाउने बाटो खुला 

दुर्गालाल केसी

दाङ — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शुल्क बढाउने बाटो खुला भएको छ । विभिन्न सेवामा अत्यधिक शुल्क वृद्धि गरेको भन्दै मदनकुमार वली समेतका व्यक्तिहरुले गत पुस १९ मा प्रतिष्ठानलाई विपक्षी बनाई दायर गरेको रिटमा बुधबार फैसला गर्दै उच्च अदालत तुलसीपुरले शुल्क वृद्धिको बाटो सहज बनाइदिएको हो ।

मुख्य न्यायाधीश रमेश पोखरेल र न्यायाधीश शालिग्राम कोइरालाको इजलासले रिट खारेज गर्ने फैसला गरेको हो । पुस २० मा अदालतले शुल्क वृद्धि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेश विपरित प्रतिष्ठानले बढी शुल्क लिइरहेको भन्दै वलीले असार २५ मा अदालतको अपहेलना सम्बन्धी रिट दायर गरेका थिए ।

अदालतले दुवै रिटमा निवेदकको दाबी कानूनसम्मत नभएको भन्दै खारेज गरिदिएको छ ।

प्रकाशित : भाद्र १२, २०७६ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्

दशगजामै घर–पसल

दुवै देशका सीमा सुरक्षा अधिकारीको बैठकमा दशगजा अतिक्रमण गर्न नदिने बहस हुँदै आए पनि कार्यान्वयन हुन सकेको छैन ।
शिव पुरी

रौतहट — दशगजाले नेपाल र भारतको सीमा छुट्ट्याउँछ । रौतहटको दशगजामा घर–पसल बनाइँदा दुई देशको सीमा छुट्ट्याउन हम्मे पर्छ । दुवै देशका नागरिकले दशगजामा घर बनाउने, खेती गर्ने, पशु बाँध्ने, पराल थुपार्ने र पसल थापेका छन् ।

रौतहटको ईशनाथ नगरपालिका–१ बन्जारा क्षेत्रको दशगजा अतिक्रमण गरी बनाइएका घर ।  तस्बिर : शिव/कान्तिपुर


यहाँको इशनाथ नगरपालिका १ बन्जाराहास्थित दशगजाको बाँधमै भारतीयले फर्निचर पसल थापेका छन् । केही होटल पनि त्यहाँ छन् ।

गौर, ईशनाथ, राजदेवी, परोहा र बौधीमाई नगरपालिका क्षेत्रभित्र पर्ने करिब ३२ मध्ये झन्डै २४ किमिसम्मको दशगजा क्षेत्रमा स्थानीयले खेती गर्ने र सामान राख्ने गरेका हुन् । दुवै देशका सुरक्षा अधिकारीको सीमा बैठकमा समेत दशगजा अतिक्रमण गर्न नदिने विषयमा बहस हुँदै आएको छ ।

जिल्लाको पूर्वी क्षेत्र राजदेवी नगरपालिकाको ब्रहमपुरीदेखि पश्चिम आरैयासम्मको दशगजा क्षेत्रका अधिकांश स्थानमा स्थानीयले अतिक्रमण गरी उपभोग गरेका छन् । प्रमुख जिल्ला अधिकारी किरण थापाले दुवै देशका नागरिकबाट दशगजा मिच्ने काम भएको बताए । ‘दशगजा मिच्नेलाई हटाउन त सकिएला,’ उनले भने, ‘तर सबैभन्दा ठूलो समस्या भनेको पिलर मासेर बाँध निर्माण गर्ने काम हुन थालेपछि समस्या बढेको छ ।’ राजदेवी र इशनाथ नगरपालिकासित सिमाना जोडिएको क्षेत्रमा भारतीयले दशगजाको बीचमा गाडिएको पिलरसम्म अतिक्रमण गरी खेती गरिरहेका छन् ।

बन्जारा क्षेत्रमा दशगजामै बजार लाग्ने गरेको छ । यहाँ दसैंका बेला दुवै देशका नागरिकले संयुक्त रूपमा दशगजामै मेला लगाउँछन् । अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र सय मिटर दायाँ र बायाँ कुनै पनि काम गर्न पाइँदैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले ‘अन्तर्राष्ट्रिय प्रावधान र नियमअनुसार दशगजा क्षेत्रमा घर वा कुनै निर्माण संरचना बनाउन नमिल्ने’ बताए । ‘यदि त्यस्तो स्थिति देखिएमा दुवै देशका सिमाना अनुगमन मामलाका अधिकारीले अनधिकृत रूपमा बनेका संरचना हटाउने छन्,’ उनले भने ।

राजदेवी सिमानामा रहेको ३४३ नम्बर मुख्य पिलरदेखि पूर्वको जमिन भारतीयले अतिक्रमण गरी खेती गरिरहेका छन् । यता नेपालीले समेत दशगजा क्षेत्रमा साना झुपडी बनाई केही स्थानमा मदिरा पसल सञ्चालन गरिरहेका छन् । अतिक्रमणकै कारण सीमास्तम्भहरू हराउने र जीर्ण हुँदै गएको स्थानीयको भनाइ छ ।

वाग्मती नदीदेखि पश्चिम क्षेत्रको दशगजामा भारतीयले एक पक्षीय ढंगले बाँध निर्माण गरी त्यहीमाथि घर बनाएर फर्निचरको व्यापार गर्दै आएका छन् । हनुमान मन्दिर पनि बनाएका छन् । नेपालीले बाँध भत्काउँछन् भनेर मन्दिर बनाएको स्थानीयको बुझाइ छ । नेपाल र भारत दुवै देशले दशगजा जोगाउन उच्चस्तरीय टोली गठन गरी अतिक्रमण भएको क्षेत्र खाली गराउनुपर्ने मेयर सन्तोष मेहताले बताए । ‘सीमा संरक्षण गर्नु दुवै देशको दायित्व पनि हो,’ उनले भने, ‘यस्ता समस्या दुवै देश मिलेर समाधान गर्नुपर्छ ।’

अन्तर्राष्ट्रिय सिमाना दसगजा लामो समयदेखि सीमा क्षेत्रका स्थानीयले मिचेर निजी प्रयोग गरिरहेकाले यसलाई पूर्ण रूपमा सुरक्षित राख्नका लागि दुवै देशका उच्च निकायको ध्यान जान जरुरी छ । सीमा क्षेत्र छुट्ट्याउन बनाइएका पिलरसमेत जीर्ण छन् ।

दशगजामा बस्दै आएका बन्जाराहाका जाकिर आलमले दशगजा उपभोग गर्न नपाइने प्रावधानबारे थाहा नभएको बताए । ‘मैले घर बनाएको ५ वर्ष भइसक्यो, दशगजामा घर बनाउनु हुँदैन भन्ने थाहा थिएन,’ उनले भने, ‘आफ्नो जग्गा छैन । दशगजाबाट हट्नुपरे हटौंला ।’ रौतहट जिल्लाअन्तर्गत ३२ किमि खुला सीमामा मुख्य १५, सहायक २९ र साना ११५ गरी १६२ पिलर छन् । सानो र मुख्य गरी १७ वटा पिलर हराइसकेको प्रशासन कार्यालयले जनायो ।

प्रकाशित : भाद्र १२, २०७६ ११:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्