कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सीमापारि बर्दिया गाउँ

ठाकुरसिंह थारू

बर्दिया — सीमावर्ती भारतको बहराइच जिल्ला मिहिपुरवामा रहेको एउटा गाउँको नाम बर्दिया छ । सीमा जोडिएको उक्त गाउँलाई स्थानीय बरदिया भन्छन् । मधुवन नगरपालिका ३, धनौराबाट दशगजा पार गरेपछि यो गाउँ आउँछ ।

सीमापारि बर्दिया गाउँ

त्यहाँ थारू समुदायको बाक्लो बसोबास छ । यहाँका बासिन्दा र मधुवन, ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका बासिन्दासँग ‘रोटीबेटी’ को सम्बन्ध छ ।


दुवैतिरका स्थानीयको भाषा, संस्कार र संस्कृति मिल्ने भएकाले उनीहरूबीच कसिलो सम्बन्ध कायम भएको छ । यताको जिल्ला र उताको गाउँको नाम मेल खान्छ । घर कहाँ हो ? दुईतर्फी नागरिकको जवाफ हुन्छ, ‘हमार घर बर्दिया ।’ यकिन गर्न प्रतिप्रश्न गर्नुपर्छ, ‘नेपाल कि भारत ?’ नाम जुर्नुका पछाडि ऐतिहासिक तथ्य छ । लामो समयसम्म उक्त भारतीय गाउँ बर्दियासँगै जोडिएको थियो । सन् १८६० नोभेम्बर १५ मा नेपाल–भारत सीमा छुटयाउन दशगजा कोरिएपछि स्थानीय विभाजित बनेका हुन् ।


जिल्लाबाट अलग्गिएपछि गाउँको नाम बर्दिया रहेको स्थानीय बताउॅछन् । ‘म जान्ने भएदेखि वारिपारिका गाउँको नाम बर्दिया भएको थाहा छ । पुर्खाले पहिले दुवै गाउँ जोडिएको भनेको सुनेको हुँ,’ मधुवन ३ का वडासदस्य ६३ वर्षीय लौटनदास थारूले भने, ‘गाउँको नाम मात्रै मिलेको छैन, हाम्रो मन पनि मिल्छ । दुवैतिरको सौहर्दपूर्ण सम्बन्ध छ ।’ तत्कालीन भारतीय बिट्रिस सरकारले नोभेम्बर १५ का दिन बाॅके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई दिएपछि नयाँ मुलुक भन्ने गरिएको हो ।


भारतमा भएको सिपाही विद्रोहका बेला इस्ट इन्डिया कम्पनी सरकारको अनुरोधमा नेपालले गोर्खाली फौज पठाएर सहयोग गरेपछि ती जिल्ला फिर्ता पाएको हो । सीमा बाँधिएपछि केही भाग नेपालको बर्दियामा पर्‍यो, केही भाग भारततर्फ गयो । जिल्लाको नामकरणका पनि थुप्रै किंवन्दती छन् । कुनै बेला १२ गोठाला (थारू भाषामा बरदिवा) थिए । उनीहरूकै नामबाट जिल्लाको नामकरण भएको भनाइ छ ।


भारततर्फको बर्दियाका ६५ वर्षीय पुजुवा थारूले पनि दुवैतर्फको गाउँ पहिले जोडिएको बताए । दशगजा कोरिएपछि दुवैतिरको गाउँ अलि पछि सरेका हुन् । नेपालतर्फको गाउँतर्फ भएको जंगल सकिएको छ । गाउँ विस्तार हुने क्रममा छ । भारततर्फ भने दशगजाबाटै जंगल सुरु हुन्छ । केही मिनेटमै भारतीय बर्दिया गाउँ भेटिन्छ । ‘भारतको भए पनि सबथोक नेपाली गाउँका स्थानीयसँग मिल्छ । बिहेबारी चल्छ । चाडपर्व पनि सँगै मनाउँछौं,’ ६५ वर्षीय पाका पुजुवाले भने ।

प्रकाशित : भाद्र १२, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?