२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

बजारभरि जुम्ली स्याउ

अर्ग्यानिक स्वाद भएकाले यहाँका बासिन्दा बढी मूल्य तिरेर भए पनि जुम्ली स्याउ नै खरिद गर्छन्
मधु शाही

बाँके — ढुवानी सहज भएपछि नेपालगन्जभरि जुम्लाका स्याउ बिक्री भइरहेको छ । यहाँका ठेलावालादेखि डोका–डोकामा बोकेर घरघरै स्याउ बिक्री गर्नेको घुइँचो बढेको छ । भदौ सुरु भएपछि जुम्लाबाट स्याउ यहाँ भित्रिन थालेको हो । 

बजारभरि जुम्ली स्याउ

कोहलपुरकी ३५ वर्षीया सावित्री भण्डारी डोकाभरि स्याउ बोकेर ‘जुम्लाको स्याउ हजुर’ भन्दै नेपालगन्ज बजार डुल्छिन् । यसरी डुलेको २ घण्टामै डोको रित्तिन्छ । स्याउ बिक्री गर्न जुम्लाबाट आएर उनी आफन्तको घरमा बसिरहेकी छन् । गाडीबाट स्याउ ढुवानी गरी ल्याउँछिन् ।

त्यसपछि पसल, घरदैलो र बजारसम्म त्यसलाई बिक्री गर्न डुल्ने गरेको उनले बताइन् । एक दिनमा ५० किलोसम्म बिक्री गरिरहेको उनले सुनाइन् । भदौ र असोज महिनाभरि जुम्लाका स्याउ व्यापार गर्न आफू नेपालगन्ज झरेको उनको भनाइ छ । झन्डै ३ कठ्ठा भिरालो जमिनमा लटरम्म फलेका स्याउले गाउँमा बजार नपाएर खेर जान थालेपछि त्यही बिक्री गर्न नेपालगन्ज झरेको उनले बताइन् ।

‘सबै यहाँसम्म ल्याएर बेच्न पाए त पैसाको दुखै हुन्थेन,’ उनले भनिन्, ‘धेरै कुहेरै जान्छन् । बेचे पनि गाउँको बजारमा कौडीको मूल्यमा बिक्छ ।’ उनका अनुसार स्थानीय बजारमा ३० देखि ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्नुपर्छ । त्यही स्याउ नेपालगन्जमा १ सय ८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । पहिले यस सिजनमा भारतबाट फलफूल ल्याएर बिक्री गरिन्थ्यो । अहिले व्यापारीले जुम्लाकै स्याउ बेच्ने गरेको स्थानीयले बताए ।

सिजन अनुसारको फल रुचाउने र अर्ग्यानिक हुने भएकाले जुम्लाको स्याउको माग बढदै गएको बीपी चोकस्थित फलफूल व्यापारी मिलन गुप्ताले सुनाए । तुलनात्मक रूपमा जुम्लाको स्याउको मूल्य भारतको तुलनामा ६० रुपैयाँ बढी छ । अर्ग्यानिक स्वाद भएकाले यहाँका बासिन्दाले बढी मूल्य तिरेर भए पनि जुम्ली स्याउ नै खरिद गर्ने गरेको उनले सुनाए । दुई महिना भारतीय स्याउ नभई जुम्लाकै स्याउ व्यापार गर्ने गरेको उनले बताए ।

उनका अनुसार नेपालगन्जबाहेक काठमाडौंमा समेत माग बढ्न थालेको छ । उनले दैनिक ८ देखि १० किलोसम्म स्याउ काठमाडौंमा भाइको पसलमा पठाउने गरेको सुनाए । ‘त्यहाँ भाइले २ सय प्रतिकिलोमा बेच्छ,’ उनले भने, ‘मागे अनुसार स्याउ पुर्‍याउन सकिएको छैन ।’

त्रिभुवन चोकमा फलफूल व्यापार गरेर बस्ने गायत्री चौधरीले दैनिक २० किलो जुम्ली स्याउ बिक्री गर्दै आएको बताइन् । भर्खरै रुखबाट टिपेर ल्याएजस्तै ताजा हुने हुँदा मान्छेले रुचिका साथ खरिद गर्ने गरेको उनको बुझाइ छ । कहिलेकाहीं बजारमा जुम्लाकै स्याउ हो कि होइन भनेर परीक्षा लिने ग्राहकसँग उनले झेल्नुपर्छ । चौधरी समुदायकी भएकीले स्याउ किन्नुअगाडि व्यापारीको मुहार हेर्ने गरेको उनले सुनाइन् ।

‘जुम्लाकै मान्छेले बेचे भने पत्याइ हाल्छन्,’ उनले भनिन्, ‘हामीले बेच्दा झुक्याएको भन्दै शंका गर्छन् ।’ उनका अनुसार चिनियाँ, भारतीय र जुम्लाको स्याउको आकारबाट छुटयाउन सकिन्छ । हल्का बांगो भएको, किरा लागेजस्तो र साना आकारका स्याउ जुम्लाका हुने उनको दाबी छ ।

मौसमी फलफूलमा यतिबेला सबैभन्दा राम्रो व्यापार जुम्ली स्याउको भएको उनले सुनाइन् । रानीतलाउस्थित सब्जीमन्डीमा तरकारी व्यापार गर्ने निजामुद्दिन राईले स्याउ व्यापार सुरु गरेका छन् । जुम्ली स्याउको माग बढेपछि उनी यतातिर लागेका हुन् ।

प्रकाशित : भाद्र १२, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?