फोहोरबाट बिजुलीको तयारी

सन्जु पौडेल

रूपन्देही — प्रदेश ५ सरकारले फोहोरबाट बिजुली निकाल्ने तयारी थालेको छ । त्यसका लागि आवश्यक अध्ययन भइसकेको छ । यसको प्रारम्भिक काम सुरु भइसकेको प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

फोहोरबाट बिजुलीको तयारी

प्रदेशभरि फोहर पर्याप्त उत्सर्जन हुने भए पनि उचित वर्गीकरण गर्न नसक्दा ऊर्जा उत्पादनको काम चुनौतीपूर्ण देखिएको भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।


‘सडने, गल्ने फोहर, प्लास्टिक र मेटलयुक्त फोहरको डम्पिङ फरक–फरक स्थानमा गर्ने चेतना नागरिकमा नहुँदा चुनौतीपूर्ण देखिएको हो,’ उनले भने, ‘वर्गीकरण नगरी ऊर्जा उत्पादन गर्न सम्भव छैन ।’ नागरिकमा चेतना ल्याएर छुट्टाछुट्टै जम्मा गर्न सके मात्र त्यसको प्रयोग गर्न सकिने उनले बताए । प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा यसका लागि काम गर्ने उनले बताए ।


०७५ माघबाट सुरु गरिएको अध्ययन गत असार १० मा सकिएको हो । प्रदेशभर प्रतिदिन १ सय ३७ देखि ४ सय ५९ युनिटसम्म विद्युत् उत्पादन हुने सम्भावना रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय ऊर्जा शाखाका इन्जिनियर सूर्यदेव गुप्ताले बताए । ‘गुल्मीको रेसुंगामा सबैभन्दा बढी फोहर संकलन हुन्छ,’ उनले भने, ‘फोहर व्यवस्थापन चुनौतीको पाटो हो । अध्ययन भएका स्थानीय तहले सहकार्यमा साथ दिए सोहीअनुसार छनोट हुन्छ ।’


मन्त्रालयले गरेको अध्ययनअनुसार रेसुंगा नगरपालिकामा प्रतिदिन ४ सय ५७ युनिट विद्युत् उत्पादन हुने देखिन्छ । कपिलवस्तुको बुद्धभूमिमा ३ सय ३० युनिट, रूपन्देहीको देवदहमा २ सय ६० युनिटसम्म उत्पादन हुने सम्भावना रहेको उनले बताए । यीबाहेक नवलपरासी पश्चिमको सुनवल नगरपालिकाबाट १ सय ७७ युनिट, अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाबाट २ सय १६ युनिट, रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट १ सय ८३ युनिट, प्यूठानको स्वर्गद्वारी नगरपालिकाबाट १ सय ५३ युनिट बिजुली प्रतिदिन फोहोरबाट उत्पादन हुने अध्ययनले देखाएको इन्जिनियर गुप्ताले जनाए ।


बाँकेको नरैनापुर नगरपालिकामा १ सय ४६ युनिट, बर्दियाको मधुवन नगरपालिकामा २ सय १४ युनिट, दाङको लमही नगरपालिकामा २ सय १४ युनिट, पाल्पाको रामपुर नगरपालिकामा १ सय ६४ युनिट प्रतिदिन बिजुली निकाल्न सकिने उनले बताए । यीमध्ये गुल्मीको रेसुंगा, कपिलवस्तुको बुद्धभूमि र रूपन्देहीको देवदहमा अन्यमा भन्दा बढी उत्पादन हुने भएकाले यिनैमध्ये एक ठाउँमा काम थालिने गुप्ताले जानकारी दिए ।


‘यसमा सरकारको मात्र नभएर अध्ययन भएका स्थानीय तहको इच्छाले प्रभाव पार्छ,’ उनले भने, ‘बुद्धभूमि नगरपालिकाले यसमा बढी चासो देखाएको छ ।’ कुन क्षेत्रबाट सुरु गर्ने भन्नेबारे स्थान निश्चित नभइसकेको उनले बताए । १२ जिल्लामै सम्भाव्यता अध्ययन गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले यस वर्ष ९० लाख रुपैयाँ बजेट विनियोजन गरी फोहरबाट ऊर्जा उत्पादनको काम सुरु गर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : भाद्र १२, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?