अग्ला डाँडामा पोखरी

पाल्पा — गाउँका पुराना पोखरी पुनः ब्युँताउन थालिएको छ । उहिले बुढापाकाले त्यस्ता पोखरी बनाएका हुन् । पछिल्लो समय नासिँदै गएको थियो । अहिले पुनः सरकारी सहयोगमा त्यस्ता पोखरी ब्यूँताउन थालिएको हो । जिल्लाका विभिन्न स्थानमा सरकारी सहयोगमा ३० भन्दा बढी त्यस्ता पोखरी ब्यूँताइएको छ । 

आकाशबाट पर्ने पानीलाई संकलन गरेर स्रोतका रूपमा प्रयोग गर्न त्यस्ता पोखरी निर्माण गरेका हुन् । गाउँपालिका, प्रदेश सरकार, डिभिजन वन कार्यालयले त्यस्ता पोखरी निर्माण गरेका छन् ।


तिनाउ गाउँपालिकाको १ लाख र प्रदेश सरकारको ४ लाख रुपैयाँ सहयोगमा मस्यामको जन्तीलुङमा पोखरी निर्माण भएको छ । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीका अनुसार सुक्खाग्रस्त क्षेत्रमा निर्माण गरेको पोखरीमा पानी संकलन भयो भने तल्लो भागमा चिस्यान हुन्छ । ‘यहाँ होमस्टे पनि सुरु गरिएको छ,’ उनले भने, ‘यो पोखरी त्यसका लागि आकर्षण पनि हुन सक्छ ।’


यस्तो पोखरीलाई डिभिजन वन कार्यालयले रिचार्ज पोखरीका रूपमा समेत लिने गरेको छ । पोखरी निर्माण समिति सदस्य मीनासरा लम्तरीका अनुसार यसबाट पर्यटकीय आकर्षण पनि बढ्नेछ । अग्लो डाँडामा निर्माण भएको पोखरीले पहिले बनेका पोखरीको याद दिलाएको उनले बताइन् । २० वर्षअघिसम्म जतासुकै त्यस्ता पोखरी देखिन्थे ।


‘पहिले देखिने पोखरी मासिंदै गएका थिए,’ उनले भनिन्, ‘अहिले पुनः त्यस्ता पोखरी निर्माण गर्नुपर्छ भन्ने लागेको छ ।’ जिल्लाका धेरै स्थानमा त्यस्ता पोखरी थिए । वर्षायाममा पानी संकलन हुन्थ्यो । भरिएको पोखरीमा जीवजन्तु, चराचुरुंगी, पशुपालन गर्नेलाई समेत फाइदा हुन्थ्यो । रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीका अनुसार जतासुकै देखिने पोखरी अहिले हराएका छन् । पूर्वखोला गाउँपालिकाले सीमसार पोखरी निर्माण अभियान थालेको छ ।


हरियाली पूर्वखोला कार्यक्रमअन्तर्गत प्रदेश सरकार, डिभिजन वनको समन्वयमा त्यस्ता पोखरी निर्माण थालेको हो । उसले नीति तथा कार्यक्रम र बजेटमै त्यस्ता पोखरीको कार्यक्रम ल्याएको हो । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले त्यस्ता पोखरी निर्माणको कामलाई तीव्रता दिइने बताए । उनले वडा ६ को हेक्लाङमा नमुना पोखरी निर्माण भएको बताए ।


अग्लो भेकमा त्यस्तो पोखरी निर्माण गर्ने र वातावरणीय सन्तुलन मिलाउन सकिने गरी काम गर्ने उनले बताए । रिब्दीकोट गाउँपालिकाले पनि त्यस्ता पोखरी निर्माण गरेको छ । ख्याहामा पोखरी निर्माण सकिएको रिब्दीकोट १ का वडाध्यक्ष विष्णु गैरेले बताए ।


अग्लो लेकमा पोखरी निर्माण भएपछि घरेलुका साथै जंगली पशुचौपायाले फाइदा पाएको उनले बताए । ‘पछिल्लो समय पानीका मूल सुक्दै गएका छन्,’ रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले भने, ‘अब अग्ला डाँडामा पोखरी बनाउन जरुरी छ ।’ रिब्दीकोटले १० बढी त्यस्ता पोखरी निर्माण गरेको छ ।


रैनादेवी छहराले पनि प्रत्येक वडामा पोखरी निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताए । डिभिजन वन कार्यालय प्रमुख मोहन पौडेलका अनुसार पानीको मुहान संरक्षण, वातावरणीय सन्तुलनका लागि प्रदेश सरकारको सहयोगमा यस्ता पोखरी निर्माण भएको हो । तानसेन नगरपालिका ११, बन्दीपोखराले पनि वडास्तरीय बजेटबाट पोखरी निर्माण गरेको वडाध्यक्ष दामोदर घिमिरेले बताए ।

प्रकाशित : भाद्र १२, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?