व्यावसायिक प्रतिष्ठानमा अनुगमन

सन्जु पौडेल

रुपन्देही — यहाँका विभिन्न कार्यालयले जिल्लाको विभिन्न स्थानका साना तथा ठूला व्यावसायिक प्रतिष्ठानको अनुगमन गरेका छन् । व्यावसायिक प्रतिष्ठान तथा पसलहरूमा मूल्यसूची राखे, नराखेको, दर्ता प्रमाणपत्र नटांगिएका विषयमा बुधबार अनुगमन गरिएको हो । 

अनुगमनका क्रममा विभिन्न खाद्य तथा व्यावसायिक फर्ममा मूल्यसूची नराखिएको, दर्ता प्रमाणपत्र नटाँसिएको, खरिद बिल नभएको, बिक्री बिल नकाटिएको लगायत बेवास्ता गरिएको पाइएको छ । व्यावसायिक प्रतिष्ठान दर्ता नभई सञ्चालित र मूल्यसूची नै नटागेको पाइएको वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख रुद्रपसाद ज्ञवालीले बताए ।


उनले भने, ‘नगरपालिका र प्रदेश सरकारकै चासो नपुगेको र उपभोक्ता ठगिन बाध्य छन् । यसले उपभोक्ता अधिकार प्रभावित बनाएको छ ।’ गुणस्तरीय वस्तु खरिदमा उपभोक्ता ठगिएको उनको भनाइ छ ।


अनुगमनमा उपभोक्ता संरक्षणसहित वाणिज्य कार्यालय, नापतौल कार्यालय, जिल्ला प्रशासन, प्रहरीलगायतको उपस्थिति थियो । खाद्य तथा मासु पसलहरू अनुगमनका क्रममा स्थानीय उपभोक्ताले पसल छेउछाउ जान पनि समस्या आएको र दुर्गन्ध निम्त्याएको गुनासो गरेका थिए । अनुगमन टोलीले व्यावसायिक प्रतिष्ठानलाई सुधारका लागि नसिहत दिएका छन् ।


यस्तै यो आर्थिक वर्षमा सुरु भएको अनुगमनमा बुटवलका ४ तथा भैरहवाका ८ पसल कारबाहीमा परेका छन् । व्यावसायिक प्रतिष्ठानहरूले व्यावसायिक सर्तहरू पालना नगरेका कारण प्रतिपसल ५५ हजार जरिवाना तिरेका थिए । कार्यालयले बेलाबेलामा अन्य कार्यालयसँग मिलेर संयुक्त अनुगमन गरिरहेको छ । नगरपालिकाले नै यसमा बढी सक्रियता देखाउनुपर्ने उपभोक्ता बताउँछन् ।

प्रकाशित : भाद्र १२, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?