विद्यालय आउँदै गर्दा बाटोमै बेहोस भएकी छात्राको मृत्यु

माधव अर्याल

पाल्पा — जिल्लाको रम्भा माविमा बुधबार पढ्न आएकी एक छात्राको बेहोस भएपछि मृत्यु भएको छ । रम्भा गाउँपालिका-५ ताँहुस्थित रम्भा माविमा बिहानीको अतिरिक्त कक्षा लिन आएकी पूर्वखोला-६ हेक्लाङकी १५ वर्षिया कमला फालको मृत्यु भएको विद्यालयले जनाएको छ । 

उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी कक्षा १० की विद्यार्थी हुन् । उनको सालवास हेक्लाङ घर भएपनि ताँहु बाकुम मामाघरमा बसेर ताँहुमा पढ्न आउने गर्थिन् । उनी बेहोस भएप्छि अन्य आठ जना पनि रुँदै बेहोस् भएका थिए । स्थानीय प्रकाश श्रेष्ठका अनुसार बिहान अतिरिक्त कक्षा लिन आउने क्रममा रामपुर-आर्यभन्ज्याङ् सडक अन्तर्गत ताँहु बजारको बसाहा आइपुग्दा अचानक बेहोस भएकी हुन् । उनी बेहोस भएसँगै अन्य विद्यार्थी पनि अत्तालिएर बेहोस भएका थिए ।

६ जनाको ताँहुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा र दुई जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार गरिएको थियो । बेहोस विद्यार्थी सबै उपचारपछि घर फर्केका छन् । बिहान अतिरिक्त कक्षा सञ्चालन भएको र घरबाट आउने क्रममा ८ बजेतिर विद्यार्थी अचानक बेहोस भएका थिए । स्थानीय श्रेष्ठका अनुसार मृतक फाल बेहोस भएपछि अरु पनि रुादै बेहोस भएका हुन् । विद्यालयका प्रधानाध्यापक तुलसीराम अर्यालका अनुसार अहिले बाँकी बेहास भएका विद्यार्थीको अवस्था सामान्य छ ।

प्रकाशित : भाद्र ११, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्

व्यवस्थासँगै प्रणाली नफेरिँदा काम गर्ने असजिलो : मन्त्री केसी

हरि गौतम

रुकुम पश्चिम — कर्णाली प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले व्यवस्था परिवर्तन भएर प्रणाली परिर्वतन नहुँदा कामकाजमा समस्या भएको बताएकी छिन् । डेढ वर्षको अवधिमा गरिएका विभिन्न कामकाजको क्रममा त्यस्तो महसुस भएको भनाइ उनको छ ।


प्रेस संगठन नेपालले जिल्ला सदरमुकाम खलंगामा बुधबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले व्यवस्था नयाँ आउँदा पनि पूरानै प्रणालीबाट चल्नु र चलाउनु पर्दा समस्या भइरहेको भनाइ उनको छ। प्रणाली नफेरिएकै कारण निर्णय अनुसारको काम गर्न नसकिएको उनले बताइन्। ‘व्यवस्था त फेरियो, सिस्टम उही छ,’ मन्त्री केसीले भनिन्, ‘सिस्टम नफेरिकन व्यवस्था फेरिएको महसुस गराउन नसकिने रहेछ।’

कर्णाली प्रदेशको सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री केसीले पूरानो प्रणालीकै कारण कागजमा योजना मिल्ने मिलाउने कार्य रोक्न नसकिएको स्वीकारिन्। ‘प्रयास भइरहेको भएपनि कता कता के नमिलेको महसुस भएकै छ, तर नयाँ व्यवस्था र पूरानो सिस्टममा तालमेल भएकै छैन,’ उनले भनिन्। प्रणालीकै कारण शुन्य सहनशीलताको नीति कार्यान्वन हुन नसकेको लक्षित कार्यक्रम लक्षित वर्गसम्म पुग्न नसकेको उनले बताइन्। यद्यपी चुनौतीबीचमा पनि काम भने भइरहेको बताइन्। एकदम राम्रो बनाउन खोज्दा राम्रोसम्म भएको भन्दै उनले अँझ राम्रो बनाउने प्रयास जारी रहेको मन्त्री केसीले बताइन्।

चालु आर्थिक वर्षदेखि प्रदेश सरकारले विधि र कार्यविधि अनुसार कार्यक्रम कार्यान्वयन गरिने र त्यसलाई जतिसक्दो जनतामा पुर्‍याउने बताइन्। प्रदेश सरकारले यो वर्षदेखि अनुदान नभइ सफ्ट लोन दिने गरी निर्णय गरिएको बताइन्।

प्रकाशित : भाद्र ११, २०७६ १३:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्