सिकाइ केन्द्र बन्दै सामूहिक तरकारी खेती

राजमार्गबाट डेढ किमिनजिक ३५ रोपनी भाडामा लिएर किसानहरूले सामूहिक खेती गरेका छन्
माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका ७, प्रवासमा गरिएको सामूहिक तरकारी खेती सिकाइ केन्द्र बनेको छ । नयाँ प्रविधिबाट भइरहेको सामूहिक खेती सिक्ने थलो बनेको हो । सामूहिक खेतीबाट किसानको वास्तविक लगानी र नाफा/घाटा पनि थाहा पाइन्छ । 

तानसेन नगरपालिका ७, प्रवासमा गरिएको सामूहिक तरकारी खेती स्याहार्दै किसान । तस्बिर : माधव/कान्तिपुर

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी जोनको ७ लाख ४० हजार रुपैयाँ सहयोगमा यहाँ तरकारी खेती भइरहेको हो । सामूहिक तरकारी खेतीलाई किसानको भ्रमण गर्ने थलोका रूपमा परिचित गराउने जोनको योजना छ । मिनी टिलर, थोपा सिंचाइ, मल्चिङ गर्ने तरिका, टनेलको प्रयोग गरेर खेती गरिएको छ ।

‘प्रविधि अवलोकन गर्ने थलोका रूपमा परिचित छ,’ तरकारी जोन सञ्चालक समिति अध्यक्ष पदम पौडेलले भने, ‘सामूहिक तरकारी खेतीबाट आम्दानी र लागत खर्च पूर्ण रूपमा निकालिएको छ ।’ राजमार्गबाट डेढ किमि नजिक ३५ रोपनी जग्गा भाडामा लिएर किसानले सामूहिक खेती गरेका छन् । माघबाट सुरु भए पनि जेठ १५ बाटमात्रै आम्दानी लिएका हुन् ।

‘सुरुमा पानीको समस्या भयो,’ सञ्चालक समिति पूर्वअध्यक्ष ध्रुव भण्डारीले भने, ‘त्यसपछि अन्य व्यवस्थापनमा पनि समय खर्चिनु परेको थियो ।’ सुरुमा गोलभेडा, काँक्रो र सिमी लगाएका छन् । चार महिनामा १६ टन उत्पादन भएको छ । काँक्रो दुई टन र सिमी एक टन उत्पादन भएको छ । ‘सुरुमा भाउ पाउने अवस्था थिएन,’ उनले भने, ‘अहिले आकासिएको छ । पहिला र अहिलेको अवस्था बराबरी जस्तै छ ।’ भाडामा लिएको जग्गामा काम गर्ने जिम्मा भने पूर्वअध्यक्ष भण्डारी र पूर्वसचिव महेश पन्तले लिएका छन् ।

‘हामीले प्रत्येक कामको टिपोट राखेका छौं,’ सचिव पन्तले भने, ‘जसले गर्दा किसानले के कति काम गर्दा कति नाफा वा घाटा हुन्छ भन्ने निष्कर्ष निकाल्न सक्ने अवस्थामा पुगेका छौं ।’ कतिपय अवस्थामा काम गर्नलाई पनि समस्या हुने उनको अनुभव छ । ज्यालाकै विषयमा पनि सरकारी डोर हाजिरी फाराम भर्नलाई सरकारले तोकेको न्यूनतम ज्याला दिनुपर्ने हुन्छ । सरकारी ज्याला ६ सय छ । चलनचल्तीको ३ सय ५० रुपैयाँमा काम पाउँदा पनि स्थानीय खुसी छन् ।

सामूहिक तरकारी खेतीले युवालाई रोजगारी दिएको छ । सामूहिक तरकारी खेतीबाट आठ जनाले निरन्तर काम पाएका छन् । उनीहरूले मासिक आठ/नौ हजार रुपैयाँ पाइरहेका छन् । तरकारी खेती गरेबापत वार्षिक ८० हजार रुपैयाँ जग्गाधनीलाई तिर्नुपर्छ । माघ १ गतेदेखि असार मसान्तसम्मका लागि भण्डारी र पन्तले कामको जिम्मा लिएका हुन् । सञ्चालक समितिको बैठकले दिएको जिम्मेवारीको समय सकिएको छ । अर्को निर्णयका लागि बैठक बसेको छैन । अहिलेसम्म चार महिनामा ६ लाख ५० हजार रुपैयाँ आम्दानी भएको पूर्वसचिव पन्तले बताए ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्

कीर्तिमान राख्न ह्वीलचियर यात्रा

मनोज पौडेल

कपिलवस्तु — पूर्ण अपांगता भएका ओखलढुंगाको मलुङ गाउँपालिका ४, प्रप्चाका ५५ वर्षीय तेजबहादुर कार्की ह्वीलचियरबाट नेपाल भ्रमणमा छन् । मुलुकका सबै जिल्लाको भ्रमण गर्ने सपना साँचेर उनी सोमबार कपिलवस्तु आइपुगेका हुन् । 

उनको कम्मरमुनिका सबै अंग काटिएका छन् । समाज र मुलुक चिनाउने अभियानसहित उनको उद्देश्य विश्व भ्रमण हो । तर, अहिले त्यो थाती राख्दै नेपालकै जिल्ला भ्रमणमा सरिक भएको उनले बताए ।

०६२ सालबाट ह्वीलचियरमा विश्व भ्रमणको यात्रा थालेका थिए । सबैभन्दा पहिले बंगलादेश पुगे । त्यसपछि नेपाल फर्किएर भारत र पाकिस्तान गए । थाइल्यान्ड, मलेसिया, कम्बोडिया र माल्दिभ्स पनि पुगे । रसिया, कतार, यूएई र जोर्डन पुगे । जर्जिया, इजरायल, साइप्रस, सिंगापुर, कोरिया, जापान र फिलिपिन्ससहित ३३ मुलुकको भ्रमण गरिसकेका छन् ।

नेपालका ६९ जिल्ला भ्रमण गरिसके । बाँकी आठमध्ये कपिलवस्तु पनि हो । यहाँ उनले बुद्धले २९ वर्षको युवा अवस्था बिताएको ठाउँ तिलौराकोटमा फोटो खिचाए । त्यसपछि लुम्बिनी पुगे । त्यहाँ बुद्ध जन्मस्थलको महत्त्वपूर्ण प्रमाण अशोक स्तम्भको तस्बिर लिए । अब बाँकी मुलुक भ्रमण गर्दा यही महत्त्वपूर्ण तस्बिरकै माध्यमबाट बुद्धस्थलको प्रचार गर्ने उनले बताए ।

अबको एक महिनामा पश्चिम नवलपरासी, नवलपुर, पूर्वी र पश्चिमी रुकुम, इलाम, बारा, संखुवासभा, सर्लाही र धनुषा घुमेर सक्ने उनको योजना छ । ‘त्यसपछि पुसमा विदेश भ्रमणमा निस्किन्छु,’ उनले भने । अब १ सय ३ देश भ्रमण गरेर विश्व कीर्तिमान बनाउने इच्छा रहेको उनले सुनाए ।

जापानी नागरिक यमामोतोलेह्वीलचियरमै बसेर १ सय १ देशको भ्रमण गरी विश्व रेकर्ड बनाएका छन् । त्यो कीर्तिमान तोडने उनको लक्ष्य छ । गुडने ठाउँसम्म ह्वीलचियरमै यात्रा गर्छन् । उनको सहयोगी भूमिकामा बाजुराको भीम गाउँका साउने सार्की र बाच सार्की रहेका छन् । उनी बाटो भएसम्म ह्विलचियरमै पुग्छन् । नभए मात्र सामुद्रिक र हवाई यात्रा गर्छन् । ३३ मुलुककै झन्डा राखेर सिलाएको कुर्ता लगाउँछन् ।

अपांग हुनुअघि उनी बस चालक थिए । ०५७ माघ २३ गते उनले चलाएको गाडी धादिङको जोगीमारामा दुर्घटनाग्रस्त भएको थियो । ना२ख ९४९६ नम्बरको मकालु यातायातको त्यस बसका ३२ यात्रुको मृत्यु भयो । दुर्घटनामा परेका कार्की तीन वर्षसम्मको निरन्तर उपचारपछि निको त भए तर अपांग बने ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्