२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कीर्तिमान राख्न ह्वीलचियर यात्रा

मनोज पौडेल

कपिलवस्तु — पूर्ण अपांगता भएका ओखलढुंगाको मलुङ गाउँपालिका ४, प्रप्चाका ५५ वर्षीय तेजबहादुर कार्की ह्वीलचियरबाट नेपाल भ्रमणमा छन् । मुलुकका सबै जिल्लाको भ्रमण गर्ने सपना साँचेर उनी सोमबार कपिलवस्तु आइपुगेका हुन् । 

उनको कम्मरमुनिका सबै अंग काटिएका छन् । समाज र मुलुक चिनाउने अभियानसहित उनको उद्देश्य विश्व भ्रमण हो । तर, अहिले त्यो थाती राख्दै नेपालकै जिल्ला भ्रमणमा सरिक भएको उनले बताए ।


०६२ सालबाट ह्वीलचियरमा विश्व भ्रमणको यात्रा थालेका थिए । सबैभन्दा पहिले बंगलादेश पुगे । त्यसपछि नेपाल फर्किएर भारत र पाकिस्तान गए । थाइल्यान्ड, मलेसिया, कम्बोडिया र माल्दिभ्स पनि पुगे । रसिया, कतार, यूएई र जोर्डन पुगे । जर्जिया, इजरायल, साइप्रस, सिंगापुर, कोरिया, जापान र फिलिपिन्ससहित ३३ मुलुकको भ्रमण गरिसकेका छन् ।


नेपालका ६९ जिल्ला भ्रमण गरिसके । बाँकी आठमध्ये कपिलवस्तु पनि हो । यहाँ उनले बुद्धले २९ वर्षको युवा अवस्था बिताएको ठाउँ तिलौराकोटमा फोटो खिचाए । त्यसपछि लुम्बिनी पुगे । त्यहाँ बुद्ध जन्मस्थलको महत्त्वपूर्ण प्रमाण अशोक स्तम्भको तस्बिर लिए । अब बाँकी मुलुक भ्रमण गर्दा यही महत्त्वपूर्ण तस्बिरकै माध्यमबाट बुद्धस्थलको प्रचार गर्ने उनले बताए ।


अबको एक महिनामा पश्चिम नवलपरासी, नवलपुर, पूर्वी र पश्चिमी रुकुम, इलाम, बारा, संखुवासभा, सर्लाही र धनुषा घुमेर सक्ने उनको योजना छ । ‘त्यसपछि पुसमा विदेश भ्रमणमा निस्किन्छु,’ उनले भने । अब १ सय ३ देश भ्रमण गरेर विश्व कीर्तिमान बनाउने इच्छा रहेको उनले सुनाए ।


जापानी नागरिक यमामोतोले ह्वीलचियरमै बसेर १ सय १ देशको भ्रमण गरी विश्व रेकर्ड बनाएका छन् । त्यो कीर्तिमान तोडने उनको लक्ष्य छ । गुडने ठाउँसम्म ह्वीलचियरमै यात्रा गर्छन् । उनको सहयोगी भूमिकामा बाजुराको भीम गाउँका साउने सार्की र बाच सार्की रहेका छन् । उनी बाटो भएसम्म ह्विलचियरमै पुग्छन् । नभए मात्र सामुद्रिक र हवाई यात्रा गर्छन् । ३३ मुलुककै झन्डा राखेर सिलाएको कुर्ता लगाउँछन् ।


अपांग हुनुअघि उनी बस चालक थिए । ०५७ माघ २३ गते उनले चलाएको गाडी धादिङको जोगीमारामा दुर्घटनाग्रस्त भएको थियो । ना२ख ९४९६ नम्बरको मकालु यातायातको त्यस बसका ३२ यात्रुको मृत्यु भयो । दुर्घटनामा परेका कार्की तीन वर्षसम्मको निरन्तर उपचारपछि निको त भए तर अपांग बने ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?