कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

प्रदेश राजधानीको टुंगो यसै वर्ष

रूपन्देही — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यसै वर्ष प्रदेशको स्थायी राजधानीको टुंगो लगाउने बताएका छन् । उनले प्रदेश सभाको स्थायी राजधानी र नामकरण सिफारिस गर्न बनेको विशेष समितिले बनाएको विज्ञसहितको उपसमितिको प्राविधिक प्रतिवेदनकै आधारमा राजधानी र नामकरणको टुंगो लगाउने बताए ।

पार्टीको बैठकलाई सम्बोधन गर्न मंगलबार गुल्मीको तम्घास पुगेका मुख्यमन्त्री पोखरेलले पहिलोपटक सार्वजनिक कार्यक्रममा स्थायी राजधानीको विषयमा बोलेका हुन् । पत्रकार महासंघको पत्रकार भेटघाट कार्यक्रममाउनले राजनीतिक हिसाबले धेरैका आफ्नै तर्क र चाहना भएकाले प्राविधिक समितिले अध्ययनको काम सुरु गरेको बताए ।


राजनीतिक सहमतिको प्रयास गर्दा धेरै विलम्ब भएको उनको दाबी थियो । ‘राजनीतिक हिसाबले धेरै विलम्ब गर्‍यौं, अब पछि पर्दैनौं,’ उनले भने, ‘विज्ञहरूको सुझावपछि सहमतिकै आधारमा निर्णय गर्नेछौं ।’ उनले यस वर्षभित्रै टुंगो लगाउने गरी समितिले काम गरिरहेको बताए । प्रदेशका १२ वटै जिल्लाका जनताको भावना समेटिने गरी स्थायी राजधानी र नामकरण घोषणा हुने र उक्त दिन सबैका घरमा दीपावली हुने पनि उनले दाबी गरे ।


प्रदेश सभाले स्थायी राजधानी र नामकरणका लागि अध्ययन गरी सिफारिस गर्न दीपेन्द्रकुमार पुनको संयोजकत्वमा विशेष समिति गठन गरेको छ । समितिले सबै जिल्लामा पुगेर सुझाव संकलन गरेको छ । राय सुझावको विश्लेषणका आधारमा सुरक्षाविद्, वातावरणविद् र भूगोलविद् रहेको तीन जना विज्ञसहितको प्राविधिक उपसमिति बनाएको छ ।


प्राविधिक उपसमितिले साउनदेखि नै अध्ययनको काम सुरु गरेको र मंसिर पहिलो सातासम्ममा प्रतिवेदन बुझाउने गरी साउनमा सम्झौता गरिएको विशेष समितिका सभापति पुनले बताए । ‘अहिले विशेषज्ञको प्राविधिक समितिले अध्ययन र विश्लेषणको काम गरिरहेको छ,’ उनले भने, ‘हिउँदे अधिवेशनभित्रै उपसमितिले प्रतिवेदन बुझाउनेछ ।’ उपसमितिको सुझावका आधारमा प्राप्त प्रतिवेदन र जिल्लाबाट आएका राय सुझावलाई पनि समेटेर विशेष समितिले प्रदेश सभामा प्रतिवेदन बुझाउने उनले बताए ।


तीन विज्ञमा नेपाली सेनाका पूर्वउपरथी एवं सुरक्षाविद् शिवराम प्रधान, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं भूगोलविद् डा. कृष्णप्रसाद पौडेल र विश्वविद्यालयकै प्राध्यापक एवं वातावरणविद् डा. उद्धवराज खडका रहेका छन् । तीनै जना विज्ञले स्थानको अध्ययन गरिरहेको र त्यसकै आधारमा स्थायी राजधानीको टुंगो गर्ने मुख्यमन्त्री पोखरेलले बताएका हुन् ।


प्रदेशको स्थायी राजधानीको विषयमा बुटवल र दाङका लागि प्रदेश सभा सदस्य विभाजित छन् । संविधानमा प्रदेश सभाको स्थायी राजधानी दुईतिहाइबाट निर्णय हुने उल्लेख छ । प्रदेश सभामा ८७ सदस्य छन् । दुई स्थानको विषयमा विवाद भएकाले दुवै स्थानका लागि दुईतिहाइ पुग्दैन । त्यसैले राजनीतिक सहमतिबिना स्थायी राजधानी टुंगो लाग्ने सम्भावना छैन ।


नेकपाको दोस्रो पूर्ण बैठकलाई निर्देशन दिन तम्घास पुगेका मुख्यमन्त्री पोखरेलले पार्टी बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारको पहिलो वर्ष संघीयता कार्यान्वयनको वर्ष भएको र अबको समय विकासको आधार वर्ष हुने बताए । ‘सरकारले सुधारका कार्यक्रम अघि बढाइरहेको छ,’ उनले भने, ‘सरकारले प्रदेश ५ का सबै घरधुरीमा तीन वर्षभित्र र गुल्मीमा दुई वर्षभित्र खानेपानी सुविधा उपलब्ध गराउने गरी काम गर्दै छ ।’


सञ्चारकर्मीको जिज्ञासामा मुख्यमन्त्री पोखरेलले सिद्धबाबाको जोखिमपूर्ण यात्राको विकल्पमा प्रदेश सरकारले झुम्सा–चरंगे र सालझण्डी–पटौटी–खर्ज्याङ सडक निर्माण गरिरहेको बताए । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि पनि अध्ययन भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?