२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

भासियो सडक 

गिरुप्रसाद भण्डारी

प्यूठान — बढी भारका सवारी साधनको चापले यहाँबाट रोल्पा प्रवेश गर्ने मुख्य सडक भासिन पुगेको छ । सडकका ग्याबिनवाल भत्किन थालेका छन् । सरुमारानी गाउँपालिकाको बडडाँडादेखि मान्द्रेसम्मका तीन स्थानमा सडक भासिएको हो ।

भासियो सडक 

मर्मतसम्भारमा ध्यान नदिंदा जोखिम मोलेरै सवारी साधन संचालन गर्नुपरेको स्थानीयले बताए ।


सडक भासिएका कारण सवारी सन्चालनमा जोखिम बढेको चालक हेमन्त भण्डारीले दुखेसो पोखे । कालोपत्रे भएपछि सडकमै बनेका ठूला खाल्डा सामान्य टालटुल गरिएको छ । अहिले सडकको आधाभन्दा बढी भाग भासिएर सडक चिरा परेको छ । ‘समयमा मर्मतसम्भार नहुने हो भने दुर्घटना बढ्ने निश्चित छ,’ भण्डारीले भने, ‘सवारी चाप बढो छ, साँघुरा सडक भासिन थालेपछि जोखिम थपिएको छ ।’ बर्खामा भासिएको सडकमा अर्को गाडी आउँदा ‘साइड’ दिनै समस्या पर्ने उनले बताए ।


सिंगल लेनको साँघुरो सडक भासिएपछि यात्रा जोखिमपूर्ण बनेको प्यूठान नगरपालिका–३, विजयनगरका मीनबहादुर कुँवरले बताए । रोल्पा प्रवेश गर्ने र प्रसिद्ध पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी जोडने सडक भएकाले यो सडकमा सवारी चाप धेरै छ । समयमा मर्मत नहुँदा सडक बिग्रने क्रम बढो छ ।


सडकसँग जोडेर भवन निर्माण गर्ने क्रममा सडक भित्तामा घडेरी खार्दा एक्साभेटर, जेसीबीलगायत ठूला उपकरण चलाइएकाले खाल्डैखाल्डा छन् । ०४४ सालमा ‘ट्र्याक ओपन’ भएको प्यूठान–भालुबाङ सडक फराकिलो बनाउने योजना अहिलेसम्म कार्यान्वयन भएको छैन । सडकको लगतकट्टासमेत गरिएको छैन । ०६५ र ०६६ मा ३ दशमलव ७५ सेमि चौडाइको सडकमै कालोपत्रे भएको थियो । सरुमारानी गाउँपालिकास्थित मान्द्रे र माण्डवी गाउँपालिकाको गर्जेनीलगायत खण्डमा सडक धेरै साँघुरो छ ।


नौबहिनी गाउँपालिका–८, फोप्लीस्थित लुप्लुङबाट शुभश्री अग्नि सिमेन्टका लागि चुनढुंगा निकासी हुने गरेपछि सडकमा दैनिक ८० र ९० टिपर चल्छन् । बर्खामा लुप्लुङ पुग्ने सडक अवरुद्ध भएका कारण चुनढुंगा बोक्ने काम रोकिएको छ । टिपर सन्चालनपछि सडक बिग्रिंदै गएको नमस्ते प्यूठान प्रालिका महासचिव दिलबहादुर दसौंदीले बताए ।


‘चुनढुंगा बोक्ने टिपरले धेरै भार बोक्छन्,’ उनले भने, ‘१० चक्के ठूला गाडीले सडक बिग्रिए ।’ बिहान ९ देखि ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म धेरै गाडी ओहोरदोहोर गर्ने ट्राफिक प्रहरी कार्यालय देवीस्थानले जनाएको छ । यो सडकको कुनै पनि स्थानमा सवारीको भार नाप्ने मेसिन छैन ।


ट्राफिक प्रहरीका अनुसार यहाँ दैनिक चार सयभन्दा बढी सवारी साधन ओहोरदोहोर गर्छन् । सडक साँघुरो भएकै कारण चकचकेदेखि भालुबाङसम्म ४१ किमि यात्रा पूरा गर्न दुई घण्टाभन्दा बढी समय लाग्छ । ‘सवारी चापका आधारमा सडक डबल लेन हुनुपर्ने हो,’ सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख ध्रुवकुमार श्रेष्ठले भने, ‘तर, सडक फराकिलो गर्ने बजेट हाम्रो कार्यालयसँग छैन ।’


उनले मान्द्रैदेखि बडडाँडा खण्डमा सडक भासिएपछि धेरै जोखिम भएकाले मर्मतका लागि सडक बोर्डमार्फत बजेट माग गरेको बताए । ‘यो क्षेत्रमा सडक धेरै बिग्रेको छ,’ उनले भने, ‘नापजाच गरेर ८० लाख बजेट माग गरेका छौं । अख्तियारी आएपछि टेन्डर निकालेर चाडै मर्मत थाल्ने छौं ।’

प्रकाशित : भाद्र ११, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?