२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

आकाशे पानी प्लास्टिक पोखरीमा

वीरेन्द्र केसी

अर्घाखाँची — वर्षाको आकाशे पानी अहिले पोखरीमा संगालिन्छ । पिउने पानीको संकट भए पनि यसले खेतबारीमा सिँचाइका लागि पानी अपुग भएको छैन । घरैपिच्छे बनेका प्लास्टिकका पोखरीले सिँचाइ सहज बनेको स्थानीयले बताए । 

आकाशे पानी प्लास्टिक पोखरीमा

घरको छेउमा पोखरी बनाएर वर्षाको पानी संकलन गर्ने र हिउँदे बालीमा सिँचाइ उपलब्ध भएपछि कृषकलाई राहत मिलेको छ । केही कृषकले व्यावसायिक तरकारी खेती गरेका छन् ।


अग्ला डाँडाका बस्तीमा पनि पोखरीले बारीमा सिँचाइ सम्भव भएपछि उत्पादन वृद्धि भएको छ । बीउसमेत नजोगिने बारीमा अहिले राम्रो हिउँदे बाली फलेको छ । पछिल्लो समय यहाँका स्थानीय तहले पनि प्लास्टिक पोखरीलाई प्राथमिकता दिएका छन् । कृषि उत्पादनलाई वृद्धि गर्न ‘एक घर एक प्लास्टिक पोखरी’ अभियान नै संचालन गरिएको छ ।


मालारानी गाउँपालिका–८ की पुतला विकको घरमा हिउँदमा हरियो तरकारी उत्पादन हुनै मुस्किल थियो । बन्दा, काउली, सिमीको तरकारी खान मन लागे बजार झर्थिन् । घरमा प्लास्टिक पोखरीमा पानी संकलन गर्न थालेपछि अहिले यी तरकारी उनको बारीमै फलेका छन् । पोखरीको पानी तरकारीका बोटमा थोपा सिँचाइको माध्यमबाट राखिन्छ ।


‘बिरुवाले पानी पाएपछि फल दिँदो रहेछ । अहिले त तरकारी किन्नै परेको छैन,’ उनले भनिन्, ‘पिउने पानी कुवामा गएर ल्याउँछु । सिँचाइका लागि प्लास्टिक पोखरी बरदान साबित भएको छ ।’ आफनै बारीमा फलेको तरकारी मिठो र स्वादिलो लागेको उनले बताइन् । ६० हजार लिटर पानी अटने एउटा पोखरी छ । अब बिक्री गर्नलाई पनि तरकारी खेती गर्ने उनले सुनाइन् । सन्धिखर्क नगरपालिका–८, किमडाँडाका पुष्करनाथ बन्जाडेले डेढ लाख पानी अटने दुईवटा पोखरी बनाएका छन् ।


वर्षामा आकाशे पानी संकलन गर्छन् । त्यही पानीले हिउँदे तरकारी बारीमा सिँचाइ गर्न पुग्छ । उनको पाखोबारीमा अहिले लटरम्मै तरकारी फलेका छन् । ‘वर्षामा प्लास्टिक पोखरी भरिन्छ । हिउँदमा पनि हात धोएको, भाँडा माझेको र कपडा धोएको पानी यही पोखरीमा जम्मा गर्छु,’ उनले भने, ‘यसले १२ रोपनी पाखोबारीमा वर्षे र हिउँदे तरकारी खेती गरेर वर्षमा १५ लाख रुपैयाँ आम्दानी भइरहेको छ ।’


गाउँका धेरै किसानले अहिले मौसमी तथा बेमौसमी तरकारी खेती गर्न थालेको बन्जाडेले बताए । वैदेशिक रोजगारीमा जान छाडेर यता लाग्ने युवा पनि प्रशस्त छन् । ‘सुक्खा जमिनमा बाह्रै महिना तरकारी खेती कसरी गर्ने भन्ने उपाय खोजियो,’ बन्जाडेले भने, ‘पोखरीमा जम्मा भएको पानी तरकारीका बोटमा राखेपछि उत्पादन भयो ।’ अहिले उनको बारीमा लौका, घिरौला, तोराय, बोडी, फर्सी फलेका छन् । हिउँदमा आलु, मुला, साग, बन्दा, काउली, सिमीलगायतका तरकारी उत्पादन गर्छन् ।


प्लास्टिकको पोखरीकै भरमा पालीका पुनाराम विकले डेढ वर्षदखि एक रोपनी पाखोबारीमा तरकारी खेती गरिरहेका छन् । ‘यो बारीमा गहुँ छर्दा बीउसमेत फर्किंदैनथ्यो,’ उनले भने, ‘अहिले डेढ वर्षमा डेढ लाख रुपैयाँ कमाइ भयो । अब त दुई रोपनी बारीमै तरकारी खेती गर्छु ।’ वर्षामा आकाशे पानी संकलन गर्ने र हिउँदमा तरकारी खेती गर्ने उपाय राम्रो भएको उनले सुनाए । जिल्लाका ६ वटै स्थानीय तहले प्लास्टिक पोखरी वितरण गरेका छन् ।

प्रकाशित : भाद्र १०, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?