कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदिरा निषेधप्रति आपत्ति

पाल्पा — तानसेन नगरपालिका–१, युनाइटेड मिसन अस्पताल क्षेत्रको पाँच सय मिटर वरपर मदिरा निषेधित क्षेत्र तोकेकामा व्यापारीले 
आपत्ति जनाएका छन् । 

नियमानुसार दर्ता भएका २० जना होटल तथा रेस्टुरेन्ट व्यापारीले आफूहरूसँग छलफलै नगरी एकतर्फी निर्णय गरेको आरोप लगाउँदै व्यापार व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको बताएका हुन् । जिल्ला प्रशासन कार्यालयले यही भदौ ५ गतेदेखि मिसन अस्पताल क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।


वडा कार्यालयको पहल एवं जिल्ला प्रशासन र तानसेन नगरपालिकाको संयुक्त आयोजनामा मदिरा निषेधित क्षेत्र तोकिएको हो । मदिरा निषेध गरेको मौखिक जानकारी आफूहरूले पाएको व्यापारी भोजबहादुर रानाले बताए । ‘जसले नियमानुसार कर तिरेको छ, त्यसलाई छलफल/भेलामा समेत बोलाइएन,’ उनले भने ।


अन्तःशुल्कमा दर्ता गरी राजस्व तिरेर व्यापार गरेकाहरूले विभिन्न निकायमा यसविरुद्ध उजुरी दिइरहेका छन् । उद्योग वाणिज्य संघ, तानसेन नगरपालिका, जिल्ला प्रशासन कार्यालय, वडा १ को कार्यालय, मदिरा व्यवसायी संघमा उनीहरूले निवेदन बुझाएका हुन् । उनीहरूले राजस्व, कर, शुल्क फिर्ता हुनुपर्ने बताउँदै वैकल्पिक पेसाबारे नैतिक जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरेका छन् ।


व्यापारी रानाले सरकारको स्वीकृति एवं अनुमतिपत्र लिएर होटल तथा रेस्टुरेन्ट व्यवसाय गरी मदिरा बिक्री गर्नेहरूलाई यसले असर गरेको बताए । ‘सरकारकै अनुमतिमा सञ्चालित व्यवसायीलाई प्रत्यक्ष असर पर्ने गरी हामी व्यवसायीलाई बिनाजानकारी हतारमा गरिएको निर्णयले व्यवसायीलाई प्रत्यक्ष मर्का पर्न गएको छ,’ उनले भने, ‘सरकारले तोकेको ऐन कानुन, नीति नियम र निर्देशनको परिधिभन्दा बाहिर गएर यो काम भएको छ ।’ कानुनबमोजिम स्वीकृति लिएर व्यापार व्यवसाय गर्ने व्यवसायीको पीरमर्कालाई ख्यालै नगरी व्यवसाय बन्द गर्ने गरी गरिएको निर्णयले व्यवसाय गर्ने हकसमेत हनन भएको उनले बताए ।


मिसन अस्पताल क्षेत्रका होटल तथा रेस्टुरेन्ट व्यवसायीले आन्तरिक राजस्व कार्यालयमा बुझाएको निवेदनमा पनि कार्यालयमा दर्ता गरी राज्यलाई बुझाउनुपर्ने दस्तुर, शुल्क, कर तिरी कानुनबमोजिम व्यवसाय गर्दा अहिले बिनाछलफल निषेध गर्दा मर्कामा परेको जनाएका छन् ।


मदिरा व्यवसायी संघका अध्यक्ष यादवसिंह कार्कीले मिसन अस्पतालसँगसँगै जिल्ला अस्पताल र लुम्बिनी मेडिकल कलेजको वरपर पनि मदिरा निषेधित कार्यक्रम लागू गर्नुपर्ने बताए । संघले राखेको अन्तरक्रियामा समेत नगर प्रमुख अशोककुमार शाहीले व्यवसाय गर्दा परेको मर्काप्रति छलफल गर्न सकिने बताएका थिए । तर, यस विषयमा कुनै छलफल नै नगरी भदौ ५ गतेदेखि मदिरा बिक्री वितरणमा रोक लगाएकामा उनीहरूले आपत्ति जनाएका हुन् ।


प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय, सर्वदलीय बैठकले भदौ ५ गतेदेखि युनाइटेड मिसन अस्पतालको पाँच सय मिटर वरपर कुनै पनि मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन गर्न नपाइने निर्णय गरेको थियो ।

प्रकाशित : भाद्र ९, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?