बस्ती र फाँटतिर सोझियो झिमरुक

प्यूठान — झिमरुक नदी बस्ती र खेततर्फ सोझिएपछि प्यूठान नगरपालिका–४ र ७ वडा आसपासका स्थानीय चिन्तित बनेका छन् । दुई दिनयता परेको झरीसँगै झिमरुकमा शनिबार पानीको सतह बढेको छ ।

फाँट कटान गर्दै नदी बस्तीतर्फ सोझिएपछि वर्ष दिन खाने धान खेत नोक्सान गर्नुका साथै बास बगाउने चिन्ताले स्थानीयलाई पिरोलेको हो ।


प्यूठान नगरपालिकाको सत्तरी फाँटतर्फ झिमरुक नदीले कटान गर्न सुरु गरेपछि स्थानीयको चिन्ता बढेको रोहणीराज पोख्रेलले बताए । गत वर्ष यही स्थानबाट नदी खेत र बस्तीतर्फ सोझिएपछि तटबन्धको माग गरे पनि सुनुवाइ नभएकाले अहिले यस्तो अवस्था आएको उनले सुनाए । नदीले झिमरुक करिडोर कटान गरेर क्वाडेकुलो बाँध हुँदै बस्तीतिर पस्न थालेको पोख्रेलले बताए । ‘स्थानीय भेला भएर नगरपालिका र सिंचाइ विकास तथा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा झिमरुकको बहाव फर्काउन अनुरोध गरेका छौं,’ उनले भने ।


एउटै स्थानबाट बर्सेनि नदीले कटान गर्दा पनि सरोकारवाला निकायले ध्यान नपुर्‍याउँदा समस्या भएको प्यूठान नगरपालिका–४ का केशव कार्कीले बताए । ‘पुरानो तटबन्ध जीर्ण भएकाले कटान गर्दै नदी बस्तीतर्फ पस्न लागेको छ,’ उनले भने, ‘अन्य स्थानमा तारजाली लगाए पनि सत्तरी फाँट क्षेत्रमा नलगाएका कारण यस्तो भएको हो ।’


सत्तरी फाँटमा नदी पस्यो भने खलंगा जोडने बिजुवारको झोलुंगे पुल, बिजुवार खेलकुद मैदान, नेकपाको कार्यालय, प्यूठान नगरपालिकाको भवन, निर्माणाधीन वृद्धाश्रम भवन र यस आसपासको क्षेत्रको खेत र बस्तीमा धेरै क्षति पुर्‍याउने प्यूठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।


दिन प्रतिदिन झिमरुक नदी फाँटतर्फ सोझिन थालेपछि आफूहरू गम्भीर बनेको उनले सुनाए । कटान क्षेत्रको अवलोकन गरेर नदी तर्काउन शनिबारबाट दुईवटा एक्साभेटर प्रयोग भएको उनले बताए । ‘बर्खामा तटबन्धन गर्न सकिने अवस्था रहेन,’ नगर प्रमुख कक्षपतिले भने, ‘त्यसैले नदी पसेर क्षति नहोस् भनेर झिमरुको बहाव परिवर्तन गर्न लागेका हौं ।’

प्रकाशित : भाद्र ९, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?