कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दूधको मूल्य उपभोक्तालाई नबढाउन सुझाव

बिचौलियाले लिने फाइदा घटाउने हो भने उत्पादन मूल्य प्रतिलिटर २० रूपैयाँसम्म बढाउन सकिने किसानको दाबी ।
अमृता अनमोल

बुटवल — सरकारले दूधको मूल्य बढाउने तयारी गरिरहेकै बेला रूपन्देहीका अगुवा किसानले उपभोक्ता मूल्य वृद्धि नगरी किसानले पाउने मूल्य तोक्न सुझाव दिएका छन् । बिक्रेतालाई मापदण्डमा ल्याउने हो भने उपभोक्ता मूल्य बढाउन नपर्ने उनीहरूको दाबी छ ।

दूधको मूल्य उपभोक्तालाई नबढाउन सुझाव

त्यसका लागि सरकारले उपभोक्ता र किसानबीचको दूधको मूल्य अन्तर अध्ययन गर्न र बिचौलियाले लिने गरेको फाइदा हटाउन माग गरेका छन् ।


भारती गाई फार्म देवदहका संचालक राजेन्द्र गुप्ताले बिचौलियाले लिने फाइदा घटाउने हो भने उत्पादन मूल्य प्रतिलिटर २० रुपैयाँसम्म बढाउन सकिने बताए । उनका अनुसार दानापानी, श्रम र जग्गाको भाडा जोडदा किसानलाई एक लिटर दूध उत्पादन गर्न करिब ५५ देखि ६० रुपैयाँ पर्छ । तर, उनीहरू प्रतिलिटर सरदर ४५ रुपैयाँमै दूध बिक्री गर्छन् । बजारमा उपभोक्ताले प्रतिलिटर ८० रुपैयाँमा किन्ने गरेका छन् । ‘यस्तोमा किसानलाई मूल्य दिन उपभोक्ता मूल्य बढाउनु पर्दैन,’ उनले भने, ‘बिचौलियाको

फाइदा घटाए पुग्छ ।’


दूध बिक्रेताले कति फाइदा लिने भन्ने स्पष्ट नीति नहुँदा उत्पादक र उपभोक्ता ठगिएका छन् । लुम्बिनी एग्रो फार्मका संचालक शशी शर्मा पौडेलले सरकारले उपभोक्ताकहाँ पुर्‍याउँदा लाग्ने मूल्य किटान गरे पनि किसान र उपभोक्ता ठगिनबाट बच्ने बताए । ‘सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले नै किसानबाट ४५ रुपैयाँमा किनेको दूध फ्याट निकालेर ८० रुपैयाँमा बेचेर ठगेको छ,’ उनले भने, ‘उनीहरूको फाइदा घटाएर किसानको मूल्य बढाउनुपर्छ ।’


करिब पाँच सय गाई पालेका पौडेलले दैनिक २ हजार २ सय लिटर दूध उत्पादन गरेका छन् । दुग्ध सहकारी र दुग्ध विकास संस्थानले प्रतिलिटर ४५ देखि ५० रुपैयाँ दिंदा लागत नउठेपछि अहिले आफैंले बेच्छन् । ६५ देखि ७० रुपैयाँ प्रतिलिटरमा बुटवल र भैरहवा बजारमै दूध खोसाखोस छ,’ उनले भने, ‘त्यही दूधमा सहकारी र डीडीसीले किन दोब्बर मुनाफा राखेका हुन्छन्, सरकारी निकायले सोध्नुपर्छ ।’


सरकारले धेरै वस्तुमा उत्पादक र बिक्रेताले लिन सक्ने मुनाफा किटान गरेको छ । तर, दूधमा छैन । त्यसको फाइदा बिचौलियाले लिएका हुन् । बिचौलियाको फाइदा नघटाई दूधको मूल्य बढाउँदा किसान र उपभोक्तामाथि अन्याय हुने दूध उत्पादक किसानको गुनासो छ ।


‘अहिलेसम्म काम गर्ने कालु दूध खाने भालु भएको छ,’ भगवती गाई फार्म ओमसतियाका ढुण्डीराज शर्माले भने, ‘किसानलाई उत्पादन मूल्य दिन र उपभोक्तालाई ठगिनबाट बचाउन बीचको फाइदा घटाउनै पर्छ ।’ ०७४ सालमा दूधको मूल्य बढेको थियो । किसानले उपभोक्ता मूल्य हेरेर उत्पादन मूल्य बढाउन र बीचको मूल्य घटाउन सुझाव दिएका छन् । तर, सरकारले वास्ता गरेन ।


किसानलाई फ्रतिलिटर चार, बित्रेतालाई दुई र उपभोक्तालाई १० रुपैयाँसम्म बढाएको थियो । दूध तत्काल खेर जाने र प्रशोधन गर्नुपर्ने उत्पादनमा पर्छ । दूधमा बढीमा १० देखि १५ प्रतिशतसम्म फाइदा राख्ने अन्तर्राष्ट्रिय प्रचलन छ । यहाँ पनि दूधमा बढीमा १५ प्रतिशतसम्म बिक्रेतालाई दिए पुग्ने किसानले बताए ।

प्रकाशित : भाद्र ८, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?