कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऐलानीमा घर, नियमित कर

नेपालगन्ज — फिरन्ते जाति भन्नासाथ धेरैले ‘राउटे’ लाई सम्झिन्छन् । यहाँ त्यस्तै एउटा कुचबधिया समुदाय छ । यो समुदायलाई तराईको ‘राउटे’ भनिन्छ । पहाडका राउटे जंगलमा बस्छन् । कुचबधिया घर बनाएर बस्छन् ।

बाँकेको जानकी गाउँपालिका–३ को इन्द्रपुरमा कुचबधियाको बाक्लो बसाइ छ । ऐलानीमा बसे पनि नियमित कर तिर्दै आएका छन् ।


बस्तीका अधिकांश झुप्रा हावा चल्दा भत्किने अवस्थाका छन् । केहीले ऋणधन गरेर अर्धपक्की घर बनाएका छन् । उनीहरू कुचो, खटिया बनाएर बिक्री गर्दै आएका छन् । चाडपर्वमा मागेर गुजारा गर्ने परम्परा छ । उक्त बस्तीका दुई बस्तीमा झन्डै ७० परिवार यो समुदायको बसोबास छ । उनीहरूको सबैभन्दा ठूलो पीडा आफ्नै जमिन नहुनु हो ।


यहाँका बालबालिका लुगाबिना डुलिरहन्छन् । उनीहरू मासु धेरै खान्छन् । गर्मी बढी हुने भएकाले बाह्रैमास कपडाविहीन भेटिन्छन् । ‘छाकपिच्छे मासु खान्छौं,’ कल्लु कुचबधियाले भने, ‘कहिले मुसा, बिरालो, स्यालको सिकार गर्छौं ।’


स्थानीय ननकइ कुचबधिया ६ सन्तानकी आमा हुन् । उनका ४ छोरी र २ छोरी छन् । विद्यालय जाने उमेरका उनीहरू घरमा भेटिन्छन् । अधिकांश बालबालिका विद्यालय जाँदैनन् । जानेहरू पनि नियमित हुँदैनन् । ‘बाँच्न मुस्किल छ । स्कुल कसरी पठाउनु,’ उनले भनिन्, ‘शुल्क नलागे पनि पोसाक र कापी किन्न त पैसा चाहियो ।’


यहीँकी प्रमिला कुचबधियाका ६ छोरा र १ छोरी छन् । पालनपोषणको माध्यम सिलौटा खोप्ने र बेच्ने हो । ‘हामी परिवार नियोजनको साधन प्रयोग गर्दैनौं,’ उनले भनिन्, ‘बालबच्चा भगवान्को देनझैं लाग्छ । जसोतसो हुर्काइरहेका छौं ।’


डोरी र सिलौटा बिक्रीजस्ता परम्परागत कामबाहेक आयआर्जनका अरू उपाय छैनन् । ‘सिलौटा पनि बिक्न छाडिसके । सबैका घरमा मेसिन पुगेका छन्,’ ६० वर्षीया केदकी कुचबधियाले भनिन् । अधिकांश कुचबधियाको पेसा भनेकै सिलौटा खोप्ने र बेच्ने हो । यही पेसा पनि संकटमा परेपछि मागेर गुजारा चलाउनुपरेको उनले बताइन् । भारतीय सीमा रुपैडिहाबाट प्रतिगोटा एक सय रुपैयाँमा ढुंगा ल्याउँछन् । उनीहरूले सिलौटा बनाएर तीन सय रुपैयाँसम्ममा बिक्री गर्छन् । सिलौटा बिक्री नभएको दिन मागेर खानुपर्छ ।


कुचबधियाहरूको देशभर जनसंख्या झन्डै आठ सय मात्र छ । त्यसको आधा बाँकेमा बस्छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार इन्द्रपुर, फुल्टेक्रा, गनापुर र ३ सय ३७ जनसंख्या छ । आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष डम्बर थापामगर कुचबधियाजस्ता लोपोन्मुख समुदायको जीवनस्तर बढाउन कुनै पहल नभएको गुनासो गर्छन् ।


सरकारले अति लोपोन्मुख जातिमा सूचीकृत गरे पनि सुविधामा बेवास्ता गरेको जानकी गाउँपालिका ३ का अध्यक्ष विन्देश्वरी बर्माले बताए । कुचबधियाले प्रतिव्यक्ति मासिक दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्तामा आगामी दसैंबाट तीन हजार रुपैयाँ प्रतिव्यक्ति भत्ता पाउनेछन् ।

प्रकाशित : भाद्र ७, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?