१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पत्रकार अधिकारीको नाममा अक्षयकोष

सन्जु पौडेल

(रुपन्देही) — गाडी दुर्घटनामा ज्यान गुमाएका पत्रकार डायलसन अधिकारीका परिवारलाई तिलोत्तमा नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । त्यस्तै नगरपालिकाले पत्रकार अधिकारीका नाममा डायलसन अधिकारी पत्रकारिता अक्षय कोष स्थापना गर्ने निर्णय गरेको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए । 

पत्रकार अधिकारीको परिवारलाई ५ लाख नगद सहयोग तथा ३ लाख रुपैयाँको पत्रकारिता अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको घिमिरेले बताए । अधिकारीको तिलोत्तमा नगरपालिका, ड्राइभरटोलमा रहेको निवासमा नगरपालिकाद्वारा आयोजित शोकसभामा बोल्दै नगरप्रमुख घिमिरेले अक्षयकोषमा नेपाल पत्रकार महासंघ रुपन्देही, परिवारका सदस्य र तिलोत्तमा नगरपालिकाको समन्वय रहने गरी कार्यविधि तयार गरी सञ्चालन गरिने जानकारी दिए ।

त्यसैगरी तिलोत्तमा नगरपालिकाको कार्यपालिका बैठकले अधिकारीकी धर्मपत्नी चन्दा अधिकारीलाई उनको योग्यताअनुसारको रोजगारी र छोराछोरीको शिक्षामा सहयोग गर्ने निर्णय गरिएको घिमिरेले जानकारी दिए । 'हामीले अधिकारीको धर्मपत्नीलाई उहाँको योग्यताअनुसार नगरपालिकाका जुनसुकै वडामा रोजगारी दिनेछौं', नगरप्रमुख घिमिरेले भने ।


नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले पत्रकार अधिकारीको निधनले अपुरणीय क्षति पुगेको बताए । कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले नगरपालिका र तिलोत्तमा नगरवासीले अधिकारी परिवारमा देखाएको सद्भाव, सहानुभूति र व्यक्त गरेको समवेदना स्व. डायलसन अधिकारीले कमाएको अमूल्य सम्पत्ति भएको बताए ।


तिलोत्तमा नगरपालिकाले असोज महिनामा गर्ने लगानी सम्मेलनको प्रचार प्रसारका लागि पूर्वी नेपालको भ्रमणमा गएका अधिकारीको गत साउन ३२ मा पूर्व-पश्चिम महेन्द्र राजमार्गअर्न्तगत सप्तरीमा दुर्घटनामा मृत्यु भएको थियो ।


प्रकाशित : भाद्र ६, २०७६ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?