आफ्नै विवाह रोक्दै बालिका- प्रदेश ५ - कान्तिपुर समाचार

आफ्नै विवाह रोक्दै बालिका

अमृता अनमोल

बुटवल — किशोर उमेर स्वतन्त्र रूपमा पढ्ने, खेल्ने र सिक्ने बेला हो । मधेसका धेरै छोरीलाई भने यस्तो अवसर छैन । किशोरी हुन लाग्यो कि बाबुआमाको ध्याउन्न विवाह गरिदिने हुन्छ । त्यसपछि पढाइ र स्वतन्त्रता दुवै गुम्छ ।

यो हुन नदिन रूपन्देहीका केही छोरीले बालविवाहविरुद्ध अभियान चलाएका छन् ।


बालविवाह भोगेका र बालविवाहको जोखिममा रहेका छोरीहरूले त्यसको अगुवाइ गरेका छन् । ‘अब मेरो पालो’ नामको किशोरी अभियानमा २ हजार २ सय ७७ सहभागी छन् । उनीहरू आफ्नै आमाबाबुलाई सम्झाउँदै विवाह रोक्ने गर्छन् । अहिलेसम्म २ सय २० जनाको बालविवाह रोकेको उनीहरूले बताए ।


१६ वर्षीया शशीकला यादव यिनैमध्येकी एक अभियानकर्मी हुन् । उनी कर्महवा माविमा १० कक्षामा पढछिन् । अरू दिन विद्यालय जान्छिन् । छुट्टीको दिन बालविवाह रोक्ने अभियानमा सरिक हुन्छिन् । तीन वर्षअघि उनको विवाहको कुरो चल्यो । शशीकलाले विवाह रोक्न बाबुआमासँग आग्रह गरिन् । तर, मानेनन् ।


विद्यालयका शिक्षक र साथीलाई गुहारिन् । सबै जना मिलेर बुबाआमालाई सम्झाए । विवाह गरिदिए प्रहरीमा उजुरी गर्ने चेतावनी दिए । बाबुआमाले बाध्य भएर विवाह रोके । ‘गाउँमा मजस्ता धेरै किशोरी विवाहको जोखिममा छन्,’ शशीकलाले भनिन्, ‘त्यसैले आफ्नो विवाह आफैंबाट रोक्ने अभियान चलाएका हौं ।’


यसमा विद्यालयका शिक्षक र गाउँका जनप्रतिनिधिले पनि सहयोग गरेको उनले बताइन् । ‘सानैमा विवाह हुँदा पढ्न पाइन्न । आत्मनिर्भर भइन्न । उमेर नपुगी आमा बन्दा शरीर कमजोर बन्छ । हिंसामा परिन्छ,’ शशीकलाले भनिन्, ‘बाबुआमालाई यस्तो समस्यामा नफसाउनूस् भनेर सम्झाउँछौं ।’


कर्महवाकी १७ वर्षे पुष्पा हरिजन बालविवाहविरुद्धकी अर्की अभियन्ता हुन् । कक्षा ७ मा पढदै उनको विवाह तय भएको थियो । उनले पढाइ पूरा नगरी विवाह नगर्ने बताइन् । तर, परिवारले मानेनन् । उनले विद्यालयका शिक्षक र प्रहरीको सहयोग मागिन् । विवाह रोकियो । लगत्तै बालविवाहविरुद्धको अभियानमा लागिन् । उनी बिहान क्याम्पस पढछिन् । दिउँसो नवजीवन इंग्लिस बोर्डिङ स्कुलमा पढाउँछिन् ।


छुट्टीको दिन बिहानैदेखि बालविवाहविरुद्धको अभियानमा लाग्छिन् । ‘मधेसका छोरीहरू पनि पढाइ पूरा गर्न चाहन्छौं । आफ्नो खुट्टामा उभिन चाहन्छौं,’ पुष्पाले भनिन्, ‘त्यसैले अबोध बालिकालाई विवाह गरिदिने चलन रोक्न लागेका हौं ।’ आफ्नो समूहले बालविवाह रोक्न घरदैलो, नाटक, बैठक र बाबुआमाको भेला गर्ने गरेको उनले बताइन् ।

१६ वर्षीया खुस्बु हरिजन कोटहीमाई गाउँपालिका–४, बयरघाटकी हुन् । उनले कोटहीमाईसहित मर्चवारी र सम्मरीमाई गाउँपालिकामा अभियान चलाएकी छन् ।


‘हाम्रो समुदायमा महिनावारी नहुँदै छोरीको विवाह गरे धर्म हुन्छ भन्छन् । मेरो पनि १३ वर्षमै विवाह तय भएको थियो,’ उनले भनिन्, ‘हामी धर्मका नाममा छोरीमाथि भएको पाप रोक्न चाहन्छौं ।’ उनको अगुवाइमा स्थानीय तहका सबै वडामा बालविवाह अपिल बुझाइएको छ । विद्यालय, सडक, चोकलगायतमा सडक नाटक, र्‍याली र अन्तरक्रिया भएको छ ।


ओमसतिया गाउँपालिका–५, छोटकी रामनगरकी मीना पासीको १२ वर्षकै उमेरमा बिहेको कुरा चल्यो । अबोध बालिकाले प्रहरी गुहार्ने धम्की दिइन् । विवाह रोकियो । अहिले १९ वर्षकी भइन् । आफ्नै अगुवाइमा गाउँपालिकामा बालविवाहविरुद्ध अभियान चलाएकी छन् । ‘मधेसमा छोरीलाई नपढाउने र सानैमा विवाह गरिदिने दुवै चलन छन्,’ उनले भनिन्, ‘यसलाई फेर्नुपर्छ भनेर लागेकी छु ।’


नेपालको संविधानले २० वर्षमुनिको विवाहलाई अवैध मानेको छ । शिक्षित र सम्पन्न परिवारमा कम भए पनि यहाँका दक्षिण भेगका लोध, हरिजन, कलवार, पासी, गुप्ता, ठहरे, कुर्मी, पासवान, मौर्य, थारूलगायतमा अझै पनि बालविवाह व्याप्त रहेको अध्ययनले देखाएको छ । चार वर्षदेखि सुरु अभियानमा १२ देखि १९ वर्षका किशोरी सहभागी छन् ।

प्रकाशित : भाद्र ६, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्

सबस्टेसन सञ्चालनमा ढिलाइ

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठान नगरपालिका–८, दम्तीमा निर्माण सम्पन्न विद्युत् सबस्टेसन अझैसम्म सञ्चालनमा आएको छैन । सबस्टेसन स्थलसम्म पुर्‍याउने लाइन विस्तारका सामग्रीको परीक्षण नहुँदा सबस्टेसन सञ्चालनमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।

प्यूठानमा निर्माण सम्पन्न सबस्टेसन । तस्बिर : गिरुप्रसाद/कान्तिपुर

सबस्टेसनसम्म ३३ हजार भोल्टेजको लाइन नपुगेका कारण सञ्चालन गर्न ढिलाइ भएको क्षेत्रीय कार्यालय नेपालगन्जका इलेक्टिकल इन्जिनियर ज्ञानबहादुर फर्सालले बताए ।

‘सबस्टेसन निर्माण पूरा भइसकेको छ,’ फर्सालले भने, ‘लाइन विस्तारमा आवश्यक पर्ने सामानको परीक्षण नभएकाले ढिलाइ भएको हो ।’ नेपाल विद्युत् प्राधिकरण केन्द्रले परीक्षण गर्ने टोली बनाइसकेकाले अब इन्सुलेटर गरेपछि ठेकेदारले एक/दुई महिनामै काम अगाडि बढाउने फर्सालले बताए ।

झिमरुक नदी किनारैकिनार विस्तार गर्न लागिएको विद्युत् लाइन पूरा भएपछि मात्र सबस्टेसन सञ्चालन हुने उनले बताए । अर्घाखाँची लैजाने विद्युत् र सबस्टेसनसम्म ३३ केभीको लाइन विस्तार गर्ने कामका लागि अहिले पोल गाडिएको छ । दम्तीको सबस्टेसन सञ्चालनपछि प्यूठानमा ११ केभीको लाइन वितरण गरिनेछ । अहिले सबस्टेसन सञ्चालन नभएका कारण ३३ केभीबाटै वितरण लाइन दिन परेको छ ।

सबस्टेसनले विद्युत् आउने जाने समस्या धेरै हल हुने उनले बताए । ‘सबस्टेसनको पहिलो चरणको काम पूरा भइसक्यो,’ फर्सालले भने, ‘३३ केभीको लाइन लैजानका लागि पोल गाड्ने काम सकिएको छ । अब ६ महिनापछि तार टाँग्ने काम सकिन्छ ।’ सबस्टेसन निर्माणको काम आरके इन्टरनेसनलले ७ करोड ५० लाख र लाइन विस्तारको काम त्रिपुरेश्वर/जयदुर्गा जेभीले ५ करोड ३६ लाख रुपैयाँ लागतमा ठेक्का लिएका हुन् ।

‘दम्तीदेखि बिजुवारसम्म २२ वटा ३३ केभीको ट्रान्सफर्मर फेर्नुपर्ने छ,’ नेपाल विद्युत् प्राधिकरण प्यूठान शाखाका प्रमुख जयानन्द गोगटीले भने, ‘यो काम गर्न अझै केही वर्ष लाग्छ ।’ सबस्टेसन निर्माण पूरा भएर पनि सञ्चालन नहुनु दुःखद भएको प्यूठान उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष माधवराज भण्डारीले बताए ।

सबस्टेसन सञ्चालन नहुँदा उद्योग व्यवसायीले समस्या भोगेको उनले सुनाए । ‘जिल्लामै विद्युत् उत्पादन भएर पनि सबस्टेसन नभएकाले धेरै समस्या भोगेका छौं,’ पूर्वअध्यक्ष भण्डारीले भने ।

प्रकाशित : भाद्र ६, २०७६ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×