३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सबस्टेसन सञ्चालनमा ढिलाइ

प्यूठान — प्यूठान नगरपालिका–८, दम्तीमा निर्माण सम्पन्न विद्युत् सबस्टेसन अझैसम्म सञ्चालनमा आएको छैन । सबस्टेसन स्थलसम्म पुर्‍याउने लाइन विस्तारका सामग्रीको परीक्षण नहुँदा सबस्टेसन सञ्चालनमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।

सबस्टेसन सञ्चालनमा ढिलाइ

सबस्टेसनसम्म ३३ हजार भोल्टेजको लाइन नपुगेका कारण सञ्चालन गर्न ढिलाइ भएको क्षेत्रीय कार्यालय नेपालगन्जका इलेक्टिकल इन्जिनियर ज्ञानबहादुर फर्सालले बताए ।


‘सबस्टेसन निर्माण पूरा भइसकेको छ,’ फर्सालले भने, ‘लाइन विस्तारमा आवश्यक पर्ने सामानको परीक्षण नभएकाले ढिलाइ भएको हो ।’ नेपाल विद्युत् प्राधिकरण केन्द्रले परीक्षण गर्ने टोली बनाइसकेकाले अब इन्सुलेटर गरेपछि ठेकेदारले एक/दुई महिनामै काम अगाडि बढाउने फर्सालले बताए ।


झिमरुक नदी किनारैकिनार विस्तार गर्न लागिएको विद्युत् लाइन पूरा भएपछि मात्र सबस्टेसन सञ्चालन हुने उनले बताए । अर्घाखाँची लैजाने विद्युत् र सबस्टेसनसम्म ३३ केभीको लाइन विस्तार गर्ने कामका लागि अहिले पोल गाडिएको छ । दम्तीको सबस्टेसन सञ्चालनपछि प्यूठानमा ११ केभीको लाइन वितरण गरिनेछ । अहिले सबस्टेसन सञ्चालन नभएका कारण ३३ केभीबाटै वितरण लाइन दिन परेको छ ।


सबस्टेसनले विद्युत् आउने जाने समस्या धेरै हल हुने उनले बताए । ‘सबस्टेसनको पहिलो चरणको काम पूरा भइसक्यो,’ फर्सालले भने, ‘३३ केभीको लाइन लैजानका लागि पोल गाड्ने काम सकिएको छ । अब ६ महिनापछि तार टाँग्ने काम सकिन्छ ।’ सबस्टेसन निर्माणको काम आरके इन्टरनेसनलले ७ करोड ५० लाख र लाइन विस्तारको काम त्रिपुरेश्वर/जयदुर्गा जेभीले ५ करोड ३६ लाख रुपैयाँ लागतमा ठेक्का लिएका हुन् ।


‘दम्तीदेखि बिजुवारसम्म २२ वटा ३३ केभीको ट्रान्सफर्मर फेर्नुपर्ने छ,’ नेपाल विद्युत् प्राधिकरण प्यूठान शाखाका प्रमुख जयानन्द गोगटीले भने, ‘यो काम गर्न अझै केही वर्ष लाग्छ ।’ सबस्टेसन निर्माण पूरा भएर पनि सञ्चालन नहुनु दुःखद भएको प्यूठान उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष माधवराज भण्डारीले बताए ।


सबस्टेसन सञ्चालन नहुँदा उद्योग व्यवसायीले समस्या भोगेको उनले सुनाए । ‘जिल्लामै विद्युत् उत्पादन भएर पनि सबस्टेसन नभएकाले धेरै समस्या भोगेका छौं,’ पूर्वअध्यक्ष भण्डारीले भने ।

प्रकाशित : भाद्र ६, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?