कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सामाजिक अभियानमा युवा

विभिन्न जिल्लामा गठन भएका स्काई क्लबहरुमार्फत युवाहरु सामाजिक काममा सक्रिय भएका हुन् ।

(दाङ) — युवाहरू बिग्रिए, कुलतमा लागे भन्ने गुनासा निकै सुन्न पाइन्छ तर यही भीडमा समाज बदल्न सक्रिय युवाहरूको पनि कमी छैन । तिलोत्तमा नगरपालिका–१७ रूपन्देहीकी रोश्नी कुँवरले गाउँकै आफूले पढेको विद्यालय प्रांगणमा पानी जमेको देखिन् ।

सामाजिक अभियानमा युवा

पानी पर्दा विद्यार्थी जुत्ता/चप्पल बोकेर हिंड्नुपर्ने । विद्यार्थीले हातमा चप्पल होइन, झोला बोक्नुपर्छ भन्ने उद्घोष गर्दै उनले अन्य युवा साथीहरूका साथ इँटा बोकेर खाल्डा पुर्न थालिन् । युवाहरूको पहलमा विद्यालय प्रांगण हिंड्न लायक भयो ।


शुद्धोधन गाउँपालिका–७ रूपन्देहीकी सुनीता चौधरी लागूपदार्थ दुर्व्यसनविरुद्ध सडक नाटक लिएर गाउँगाउँ पसिन् । ‘युवाहरू लागूपदार्थ दुर्व्यसनमा फसिरहेको पाइन्छ । उनीहरूलाई समयमै सचेत नगराए गलत बाटोमा लाग्छन्,’ उनले भनिन्, ‘हामीले यसविरुद्ध गाउँगाउँमा अभियान चलाइरहेका छौं । यसले अभिभावकलाई पनि सचेत बनाएको छ ।’


शुद्धोधनकै सन्ध्या करणले पढ्न नपाएका बालबालिकालाई विद्यालय पठाउन सहयोग गरिन् । अछिता शुक्लले लामो समयदेखि नागरिकता नपाएका मधेसी समुदायलाई प्रशासनसँग सहजीकरण गरेर नागरिकता दिलाइन् । पुनिता हरिजनको समूह बालविवाह न्यूनीकरण अभियानमा लागेको छ । ‘मधेसी समुदायमा सानैमा विवाह गर्ने चलन छ,’ उनले भनिन्, ‘पढ्ने कुरालाई महत्त्व दिइँदैन । हामीले छोरीलाई विवाह गरिदिने होइन, स्कुल पठाउनुपर्छ भनेर घरदैलो अभियान चलाएका छौं ।’


तिलोत्तमा–११ की आशा भुसालको युवा समूहले अनाथ आश्रममा गएर असहायलाई कपडा वितरण गर्‍यो । सुन्दरबजार, लमजुङका कुमार कार्कीको समूहले समाजमा भएका विकृतिविरुद्ध अभियान चलाइरहेको छ । बेंसी सहरकी सिर्जना बसौला समाजमा भएका विभिन्न समस्यामाथि नियमित बहस चलाउँछिन् । नेपालगन्जकी श्वेता गुरुङ अन्तर्राष्ट्रिय बालमैत्री स्थानीय शासनको सम्मेलनमा सहभागी भएर उत्कृष्ट भइन् । चित्रमार्फत बालमैत्री नेपालको परिकल्पना गरेर उनी १४ वटा देशलाई पछि पार्दै प्रथम भएकी थिइन् । नवलपरासीको सुनवलकी पूजा बस्यालको समूहले १५ वर्षीया बालिकाको विवाह रोक्यो ।


सियारी–२, रूपन्देहीकी मान्ती कुर्मीले असहाय वृद्धालाई नियमित औषधि ल्याइदिन सहयोग गर्छिन् । यसका साथै स्वास्थ्य शिविर, दुर्घटना न्यूनीकरण सचेतना, गाँजाको बोट फँडानी, चेतनामूलक होर्डिङ बोर्ड राख्ने, धार्मिक सद्भाव, प्रहरी–नागरिक साझेदारी, क्यान्सरपीडितलाई राहत संकलन, वृक्षरोपण, पोलमा बत्ती जडान, किशोरीलाई आत्मरक्षा तालिम, मधेसी समुदायमा नागरिकता र जन्मदर्ता लिन सहयोगजस्ता कार्यक्रम पनि युवा समूहहरूले गरेका छन् ।


विभिन्न जिल्लामा गठन भएका स्काई क्लबहरूमार्फत युवाहरू सामाजिक काममा सक्रिय भएका हुन् । वर्ल्ड भिजनले युवाहरूको आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउन ज्ञान, सीप दिने उद्देश्यले क्लबहरू गठन गरेको थियो । क्लबमा आबद्ध युवाहरूले सामाजिक विकृतिविरुद्धका अभियानलाई पहिलो प्राथमिकता दिएर काम गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर क्लबमा आबद्ध युवाहरूले बुटवलमा आफ्ना कामको समीक्षा गरेका छन् । विभिन्न जिल्लाका कामको अनुभव सुन्दै थप नयाँ कार्यक्रमको पनि योजना बनाएको उनीहरूले बताए ।


प्रकाशित : भाद्र ४, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?