अनियमित विद्युत्ले समस्या

प्यूठान — जिल्लामा विद्युत् नियमित नहुँदा जनताले ज्यादै दु:खकष्ट भोग्नुपरेको भन्दै मंगलबार प्यूठान र स्वर्गद्वारी नगरपालिकाका प्रमुखले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ध्यानाकर्षण पत्र पठाएका छन् । 

‘जिल्लामै विद्युत् उत्पादन भएर पनि विद्युत् अनियमितका कारण धेरै दु:ख भोग्नुपरेको छ,’ स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायाले भने, ‘हामीले प्राकृतिक न्यायको अधिकारसमेत प्रयोग गर्न पाएनौं ।’ प्यूठानमा विद्युत् प्रसारणसँग सम्बद्ध बुटवल पावर कम्पनी र नेपाल विद्युत् प्राधिकरण प्यूठानले गडबडी पत्ता लगाई नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन तत्परता देखाउनुपर्ने उनले बताए । जिल्लामा विद्युत् अनियमितताले चौतर्फी समस्या पारेको छ । छिनमै विद्युत् जाने र छिनमै आउने समस्याले उपभोक्ता समस्यामा परेका हुन् । कलकारखाना, कुटानी पिसानी मिल, सञ्चारगृह सबै क्षेत्रले समस्या भोग्दै आएका छन् ।


नेपाल विद्युत् प्राधिकरण केन्द्रीय प्रसारण लाइनमार्फत आउने लाइनमा हुने गडबडीले गर्दा धेरै समस्या देखिएको बुटवल पावर कम्पनी झिमरुक जलविद्युत् केन्द्र प्यूठानले जनाएको छ । दाङको लमहीस्थित केन्द्रीय प्रसारण लाइनबाट झिमरुकलाई विद्युत् आएपछि झिमरुक उत्पादन केन्द्रबाट विद्युत् पठाउने गरिन्छ । तर उताबाट विद्युत् नियमित नहुँदा विद्युत् पठाउन नसकिएको झिमरुक जलविद्युत् उत्पादन केन्द्रका प्रमुख श्याम थापाले बताए । ‘प्यूठानको खलंगा अर्घाखाँची लाइनमा पटकपटक टिप जाने समस्या छ । यसलाई सुधार गर्नुपर्छ,’ उनले भने, ‘अर्घाखाँचीमा ब्रेकर फेर्दा टिप जाने आउने भइरहेको हो ।’ प्राधिकरणले लमहीस्थित केन्द्रीय प्रसारण लाइनबाट १ लाख ३२ हजार भोल्टेज क्षमताको पावर लाइन प्यूठानमा पठाएमात्रै झिमरुक पावर हाउसको मेसिन चलाउन सकिन्छ । तर कहिलेकाहीं थोरै भोल्टेज आउँदा मेसिन चलाउन समस्या हुने गरेको थापाले बताए । रोल्पा, प्यूठान र अर्घाखाँचीमा दिउँसोमा करिब ५ र रातिमा ९ मेगावाट विद्युत् खपत हुँदै आएको छ ।


झिमरुकस्थित जलविद्युत् उत्पादन केन्द्रले जेठ/असार महिनाबाहेक अन्य समयमा आफैंले विद्युत् उत्पादन गर्छ । ३० वर्षअघि निर्माण भएको केन्द्रबाट वर्षातको समयमा १२ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ । ‘पानी पर्याप्त भएको समयमा दैनिक १२ मेगावाट विद्युत् उत्पादन हुन्छ,’ केन्द्र प्रमुख थापाले भने, ‘सुक्खा समयमा निकै कम उत्पादन हुन्छ ।’ प्यूठानस्थित जसपुर दारिमचौरमा रहेको केन्द्रको उत्पादन गृहमा झिमरुक खोलाको पानीलाई भूमिगत माध्यमबाट ल्याई विद्युत् उत्पादन गरिएको छ ।


सबैतिर विद्युत् नियमित नभएको गुनासो आएको नेपाल विद्युत् प्राधिकरण बिजुवारका सुपरभाइजर भोजराज आचार्यले बताए । झिमरुक जलविद्युत्को ब्रेकरमा समस्या, अर्घाखाँचीको लाइनमा समस्या र केन्द्रीय प्रसारणमा हुने गडबडीले गर्दा विद्युत् नियमित नभएको उनको भनाइ छ । विद्युत् अनियमितताबारे विद्युत् प्राधिकरण प्यूठान शाखा र बुटवल पावर कम्पनी झिमरुक वितरण केन्द्रलाई पहल थाल्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए ।


प्रकाशित : भाद्र ४, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?