बेसहारालाई गाउँपालिकाको सहयोग

माधव अर्याल

पाल्पा — रैनादेवी छहरा गाउँपालिका–४, छहराका ७० वर्षीय दिलबहादुर कामी यतिबेला खुसी छन् । उनको दुई महिनाअघिसम्म खरले छाएको चुहिने झुप्रो थियो । अहिले नयाँ घरमा बसेका छन् । 

रैनादेवी छहरा गाउँपालिकाको एक लाख रुपैयाँभन्दा बढी सहयोगमा ओत लाग्ने गतिलो घर पाएको कामीले सुनाए । ‘०७२ सालको भूकम्पपछि बिस्तारै घर जीर्ण बन्दै गयो,’ उनले भने, ‘त्यसपछि खरको छानो फेर्न पनि उपाय भएन ।’

छोराहरू भारततिर बस्छन् । घरमा श्रीमान्/श्रीमतीमात्र छन् । पानी पर्दा भाँडा थापेर र छाता ओढेर बस्नुपर्थ्यो । यति मात्र होइन, रातभरि नसुतेरै धेरै वर्ष बिताएको उनले सुनाए । ‘हाम्रो घरमा आम्दानी केही छैन,’ उनले भने, ‘हामीलाई कसैले सहयोग पनि गरेन ।’ छोराहरूले नहेर्दा जीर्ण र चुहिएको घरमा बस्नुपरेको उनले सुनाए ।

वडाध्यक्ष विष्णुप्रसाद पोखरेल घुम्दै गएका बेला उनले घरका लागि गुनासो राखे । पोखरेलले गाउँ कार्यपालिकाको बैठकमा कुरा राखेपछि अहिले नयाँ घर बनेको हो । ‘कार्यपालिकाको बैठकमा कुरा राखेपछि गाउँपालिकाले सहयोग गर्ने निर्णय भयो,’ वडाध्यक्ष पोखरेलले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको काम सकेपछि उनै श्रमिकलाई प्रयोग गरेर १७ दिनमा घर तयार भयो ।’ गाउँपालिकाको बजेटमा कामदार मात्र उनीहरूलाई प्रयोग गरेर घर बनाएको उनले सुनाए ।

‘हामीले विपन्न असहायका लागि सहयोग गर्ने कोष बनाएका छौं,’ प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले भने, ‘सोही अनुसारको बजेट परिचालन गरिएको हो ।’ गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले यसअघि पनि ज्येष्ठ नागरिकलाई सम्मान, बालबालिका, अपांगता भएकालाई पढ्नमा सहयोग गरेको बताए ।

यसअघि पनि गाउँपालिकाले बाबुआमाको मृत्युपछि बेसहारा बनेका तीन बालकलाई विद्यालय जाने वातावरण मिलाएको थियो । गाँसबासको व्यवस्था गरेपछि उनीहरू दैनिक विद्यालय गएका छन् । रैनादेवी छहरा–४, बिसाउना गाउँका खिमबहादुर बिटालु र आमा टेककुमारी बिटालुका तीन छोरालाई गाउँपालिकाले विद्यालयमा अध्ययन गर्ने वातावरण मिलाएको वडाध्यक्ष पोखरेलले बताए ।

बाबुआमाको मृत्युपछि आठ वर्षका विशाल, नौ वर्षका सुसन र १० वर्षका सुशील सडक बालबालिकाको अवस्थामा पुगेका थिए । उनीहरूको अवस्था दयनीय देखेपछि उनीहरूका काका चन्द्र बिटालुले गाउँ ल्याएका थिए । उनीहरूको पालनपोषण र पढाइका बारेमा गाउँपालिकाको वडामा समस्या राखेपछि वडा कार्यालयले उनीहरूको पढाइको व्यवस्था गरेको हो ।

खान र ओढ्ने, बिछ्याउने कपडा वडा कार्यालयले व्यवस्थापन गरेको छ । उनीहरूलाई नजिकको विद्यालयमा भर्ना गरेको छ । पोसाक, झोला र स्टेसनरी पनि वडाले दिएको छ । बालकलाई विद्यालय तहको शिक्षाका लागि वडाले सहयोग गर्नेछ । गत वर्ष भदौ महिनादेखि गाउँकै सल्लेरी प्राथमिक विद्यालयमा उनीहरू भर्ना भएका हुन् ।

आमाबुबा गुमाएर आर्थिक अवस्था कमजोर भएका हुन् वा बेसहारा जोसुकै नसक्नेलाई सहयोग गर्नु स्थानीय सरकारको कर्तव्य भएको गाउँपालिका उपाध्यक्ष चेतकुमारी थापाले बताइन् । यसअघि पनि गाउँपालिकाले दुई जना अपांगता भएका बालबालिकालाई सहयोग गरेको उनले बताइन् ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, अपांगता भएका, बेसहारालाई सहयोग गर्ने काममा कुनै कमी नहुने उनले सुनाइन् । रैनादेवी छहरा–४ का कक्षा ८ मा पढ्ने अपांगता भएका विजय सोमैलाई मासिक ६ सय भत्ता प्रदान गर्दै आएको छ ।

कक्षा १० का पदम रास्कोटीलाई पनि विद्यालयमा भर्ना गर्दै आर्थिक सहयोग गरेको उनले बताइन् । छहराकै सल्लेधारामा अध्ययन गर्ने विधान पोखरेललाई पनि वडाले पोसाक, कापी, कलम सहयोग गरेको छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०९:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भेलले बगायो कर्णाली तटबन्ध

कान्तिपुर संवाददाता

बर्दिया — यहाँको राजापुरस्थित कर्णाली नदी छेक्न निर्माण गरिएको तटबन्ध भेलले बगाएको छ । मुर्गहवामा निर्माण भएको तटबन्ध बगाएको हो । तटबन्धका लागि निर्माण गरिएका लन्चिङ, स्पट, स्पर र ड्याम एक वर्ष नबित्दै भासिएपछि एक दर्जनभन्दा बढी गाउँ जोखिममा परेका छन् । 

तटबन्ध भासिन थालेपछि कर्णाली नदी बस्तीमा पस्ने खतरा बढेको राजापुर नगरपालिकाका प्रमुख शिव चौधरीले बताए । कमसल र गुणस्तरहीन काम भएकाले तटबन्ध भासिएको उनको दाबी छ । आयोजनाले आर्थिक वर्ष ०७१/७२ बाट काम सुरु गरेको थियो । अहिलेसम्म १ अर्ब ९० करोड रुपैयाँ लगानी भइसकेको छ । लन्चिङमा बालुवा थुप्रिएपछि नदीको बहाव अन्यत्र मोड्न तटबन्ध निर्माण गरिएको प्राविधिकले बताए ।

अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले गुणस्तरीय काम नभएकाले भेलले तटबन्ध बगाउन थालेको बताए । अहिले कटान रोक्न आयोजनाले उपभोक्तामार्फत बोरामा बालुवा भरेर जोगाउने प्रयास गरिरहेको छ । आयोजनाका निमित्त प्रमुख लेखा अधिकृत खिम केसीले प्राविधिक नभएका कारण जेनतेन आयोजनाको काम थेगिरहेको बताए ।

‘कर्णालीको पश्चिम क्षेत्रमा कटान भइरहेको छ,’ उनले भने, ‘आयोजना प्रमुखलगायत कुनै पनि प्राविधिक नहुँदा काम गर्न गाह्रो छ ।’ वर्षात भइरहेकाले बाढी आउने खतरा छ । आगामी १० वर्षभित्र ४३ किमि लामो तटबन्ध निर्माण गर्ने लक्ष्यसाथ आयोजनाले काम सुरु गरेको छ ।

उपभोक्ता समिति र ठेक्का प्रणालीबाट निर्माणको काम भइरहेको छ । अहिलेसम्म १२ किमि तटबन्ध निर्माण भइसकेको छ । ६ फिट अग्लो स्पट, १५ मिटर लन्चिङ र १४ मिटर चौडाइ भएको तटबन्ध निर्माण जारी छ । कर्णाली नदी आयोजनाको गुरुयोजनाअनुसार यसमा कुल ११ अर्ब रुपैयाँ लगानी रहेको छ ।

यो कर्णाली र यसको भंगालो गेरुवा नदी नियन्त्रण गर्ने उद्देश्यले निर्माण गरिएको हो । करिब २ लाख जनसंख्या भएको राजापुर क्षेत्रलाई घेरेको कर्णालीमा ८० र गेरुवा नदीमा २० प्रतिशत पानी बग्ने गर्छ । कर्णाली नदी व्यवस्थापन आयोजना प्रमुख रमेशबन्धु अर्याल काठमाडौं र डीई सुरेन्द्र पौडेलको यसै महिना पोखरा सरुवा भएको छ ।

आयोजनामा कार्यरत चार जना सबइन्जिनियर, एक इन्जिनियरसहित आठ जना कर्मचारीको पनि सरुवा भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले तीन इन्जिनियर र एक चालकलाई १५ लाख रुपैयाँ घूस लिंदै गरेको आरोपमा पक्राउ गरेको करिब तीन साता बित्यो ।

इन्जिनियर विश्वेश्वरप्रसाद साह, कमलप्रसाद सिटौला र हरिप्रसाद चौधरी निलम्बित भएको आयोजनाले जनाएको छ । घूस प्रकरणमा आयोजनाका चालक टंकप्रसाद ओझा पनि पक्राउ परेका थिए ।

प्रकाशित : भाद्र ३, २०७६ ०९:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT