दोहोरिँदै क्षयरोग

औषधि सेवन गर्ने बिरामीले मदिरा सेवन गर्दा निको भइसकेको रोग बल्झिएर धेरैले ज्यान गुमाएको सापडाँडा स्वास्थ्य केन्द्रको भनाइ

प्यूठान — प्यूठान नगरपालिका–३, डाँडागाउँको कुमाल बस्तीमा क्षयरोगका बिरामी बढेका छन् । यस वडामा मात्रै ३४ जना क्षयरोगका बिरामी भेटिएका हुन् । औषधि सेवन गर्ने बिरामीले मदिरा सेवन गर्दा निको भइसकेको रोग बल्झिएर धेरैले ज्यान गुमाएको सापडाँडा स्वास्थ्य केन्द्रको भनाइ छ । 

दोहोरिँदै क्षयरोग

‘धामीझाँक्रीको भर र मदिरा सेवनका कारण क्षयरोगका धेरै बिरामीले ज्यान गुमाइरहेका छन्,’ सापडाँडा स्वास्थ्य केन्द्रका प्रमुख गोविन्दराज घिमिरेले भने, ‘एकपटक निको भएर फेरि दोहोरिएको क्षयरोगका बिरामीबाट अरूमा रोग सर्ने सम्भावना अधिक हुन्छ । यहाँ यस्तै भएको छ ।’ पछौटेपन, गरिबी र अशिक्षाका कारण यहाँका कुमाल समुदाय संकटमा छन् ।


अवसरबाट समेत उनीहरू वञ्चित छन् । उनीहरूलाई कसरी नगरपालिकाभित्र बसोवास गर्ने अन्य समुदायसरह मूल प्रवाहमा ल्याउन सकिन्छ भन्नेबारे नगर कार्यपालिका गम्भीर छलफल भएको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । ‘यहाँका महिला र पुरुषले बिहानैदेखि मदिरा सेवन गरेको भेटिन्छन्,’ उनले भने, ‘उनीहरूलाई कसरी मदिराको लतबाट छुटाउने भन्नेमा हामी चिन्तित छौं ।’ मदिरा सेवन गर्नेलाई सामाजिक सुरक्षा भत्ता नदिनेसम्मको डर देखाउँदा पनि मदिरा सेवन गर्न नछाडेको उनले बताए ।


‘कुनै समय बिजुवार क्षेत्रको आधा झिमरुकको फाँट यहाँकै कुमालहरूको थियो,’ स्थानीय शारदाराम शर्माले भने, ‘अहिले सबैले खेत बेचेर खाए ।’ उनले यहाँका कुमाल अचेल दैनिक ज्यालादारीमा काम गर्ने, झिमरुकको फाँट अँधियामा लगाएर खाने गरेको बताए । जिल्लालाई पूर्ण खोपयुक्त, पूर्ण साक्षर र खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।


तर, कुमाल गाउँको समस्या भने जस्ताको तस्तै छ । कुमालहरूको दैनिकी मजदुरी गरेर बित्छ । उनीहरूले गुजारा चलाउनकै लागि अरूको काम गर्नुपर्छ । कुमालहरू रोग, शोक, भोक र अभावसँग लडदै आएका छन् । स्थानीयका अनुसार विविध समस्यासँग जुध्दै आएका उनीहरूले मदिरा सेवन गर्ने ‘लत’ बसालेका छन् । उनीहरू आफ्ना लागि घरेलु मदिरा उत्पादन गर्छन् । अत्यधिक मदिरा सेवनले ल्याएको समस्याको चौतर्फी पीडा कुमाल समुदायले बेहोर्दै आएका छन् ।


अभिभावकको हेरचाह अभावले धेरै बालबालिका अहिले पनि विद्यालयबाहिरै छन् । उनीहरूलाई पोषणयुक्त खानाको अभाव छ । स्थानीय तहले यसबारे गम्भीर रूपमा सोच्नुपर्ने कुमाल अगुवा छन्दबहादुर कुमालले बताए । ‘डाँडागाउँका कुमाल समुदायको अवस्था निकै दयनीय छ,’ उनले भने, ‘त्यसैले हाम्रो समाज शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै पछि परेको हो ।’ उनका अनुसार यहाँका कुमालको संख्या पाँच सयजति छ । ५० वर्षमाथिका पुरुष निकै कम छन् । मदिरा सेवनले कुमाल समुदाय उच्च मृत्यु दरले पीडित छ ।


‘यहाँ गरिबी र पछौटेपन बढी छ । महिलाहरू कुपोषित छन्,’ सापडाँडा स्वास्थ्य केन्द्र प्रमुख घिमिरेले भने, ‘रोगी आमाबाट जन्मने बच्चा पनि कुपोषित नै हुन्छन् । वास्तवमा यहाँका कुमाल समुदाय संकटमा छन् ।’ उनले कुमाल समुदायलाई मूल प्रवाहमा ल्याउन नगरपालिकाले विशेष योजना बनाउनुपर्ने बताए । ‘वडा ३ मा मात्रै २१ जनाको खकारमा क्षयरोगका किटाणु देखिएका छन्,’ उनले भने, ‘धेरै बिरामीले नियमित औषधि सेवन नगर्दा यहाँका कुमाल समुदायमा क्षयरोग दोहोरिरहेको छ ।’

प्रकाशित : भाद्र २, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?