युवा केन्द्रित कार्यक्रम असफल

काशीराम डाँगी

रोल्पा — युवालाई गाउँमै रोक्न उत्तरी रोल्पास्थित परिवर्तन गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । युवा लक्षित कार्यक्रम भए पनि लक्ष्य हासिल गर्न चुनौती देखिएको छ । युवा पलायन रोक्न थप कार्यक्रमको खाँचो भएको जनप्रतिनिधिले बताए । 

उक्त गाउँपालिकाका युवालाई गाउँमै रोजगार उपलब्ध गराएर विकास निर्माणका काममा सहभागी गराउने कार्यक्रम बनाइएको छ । कार्यपालिका सदस्यसमेत रहेका परिवर्तन गाउँपालिका–२ का वडाध्यक्ष हरिप्रसाद बुढामगरले युवा पलायन रोक्न अघि सारिएको योजनाबाट सन्तुष्ट हुने अवस्था नभएको बताए ।


‘गाउँमा युवा छैनन् । उनीहरू कि विदेश गएका छन् कि सहर छिरेका छन्,’ उनले भने । गाउँपालिकाले ४० लाख बजेट विनियोजन गरेर २० युवालाई स्वरोजगार बनाउन लगानी गरेको थियो । तर, अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको उनले बताए ।


गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले कृषि, जडीबुटी र पर्यटन क्षेत्रको विकास गरेर युवालाई रोजगारयुक्त बनाउने योजना अघि सारिएको बताए । ‘हामीले पन्चवर्षीय योजना बनाएका छौं,’ उनले भने, ‘युवा पलायन रोक्न सके विकास गर्न सजिलो छ ।’ गाउँपालिकास्थित राङकोटमा कृषि तथा वन विज्ञान विषयमा कक्षा ११ र १२ मा पढाइ हुँदै आएको छ ।


युवाले हरेक राजनीतिक गतिविधिमा प्रत्यक्ष सहभागिता देखाएकाले विकास निर्माण र आर्थिक परिवर्तनको क्षेत्रमा पनि युवालाई सहभागी बनाउने गाउँपालिकाको योजना छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकास गरेर युवालाई गाउँमै बस्ने वातावरण सिर्जना गर्नुपर्ने योजनाको खाँचो देखिएको जनप्रतिनिधिले बताए ।


जनप्रतिनिधिले युवालाई काममा लगाउन मुस्किल देखिएको अनुभव सुनाउँदै आएका छन् । त्रिवेणी गाउँपालिका–७ का वडाध्यक्ष भानबहादुर घर्तीमगरले गाउँमा हुने विकास योजनामा युवालाई रोजगारीसँग जोडन समस्या देखिएको बताए । ‘युवाले काम गर्न लाज मानेको देखिन्छ । जुनसुकै काम गर्न युवालाई सहभागी बनाउने हाम्रो योजना छ,’ उनले भने । गाउँपालिकाले युवा लक्षित योजना र सीप वृद्धि कार्यक्रम चलाइरहेको छ ।


त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले युवालाई सिर्जनात्मक कार्यमा लगाउन विभिन्न सीप सिकाउने अभियान थालिएको बताए । ‘युवालाई गाउँमा रोक्न र रोजगारी दिन सकिने योजना बनाउनुपर्ने खाँचो छ । त्यसबारे केही योजना पनि बनाएका छौं,’ उनले भने, ‘कृषि, पशुपालन, शिक्षा, पर्यटन र व्यावसायिक तरकारी खेतीमा लगानी गरेर युवालाई पलायन हुनबाट रोक्ने प्रयास गर्दै आएका छौं ।’


त्रिवेणी गाउँपालिकाले पूर्वाधार योजनामा डोजरको प्रयोगभन्दा युवा परिचालन गर्न सकिने योजना अघि सारेको छ । गाउँपालिकाले पाँच सय युवालाई व्यावसायिक काममा लगाएको छ । अघिल्लो आर्थिक वर्षमा सम्पन्न प्रधानमन्त्री युवा रोजगार कार्यक्रमको सिकाइ स्वरूप त्रिवेणीमा थप युवालाई काम दिलाउन कार्यपालिकाले निर्णय गरेको उपाध्यक्ष सावित्रा बुढामगरले बताइन् । ‘विदेश होइन, युवा गाउँमा बसौं, यतै मिहिनेत गरौं’ भन्ने नारासहित गाउँ केन्द्रित कार्यक्रम अघि सारिएको उनले बताइन् ।


चालू आर्थिक वर्षमा त्रिवेणी गाउँपालिकाले युवा लक्षित कार्यक्रमका लागि करिब एक करोड बजेट खर्च गर्ने योजना अघि सारेको छ । पशुपालन, कृषि र अन्य रोजगारयुक्त कार्यक्रममा आर्थिक सहायता दिन उक्त रकम खर्च गर्ने योजना रहेको वडाध्यक्ष घर्तीमगरले बताए ।


रोल्पा नगरपालिकाले केही वर्षयता युवा लक्षित कार्यक्रम संचालन गर्दै आएको छ । नगर प्रमुख पूर्ण केसीले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै युवालाई तालिमयुक्त बनाउँदै आएको बताए । तर, नगरभित्रका सहर र ग्रामीण भेगमा भिन्नाभिन्नै योजना अघि सार्न माग हुने गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगरले युवालाई गाउँमै रोजगार दिलाउन र उत्पादनमूलक गतिविधिमा लगाउन स्थानीय तहहरूले साथ दिनुपर्ने बताए ।


स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले युवा लक्षित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न उनले माग गरे । युवा पलायन रोक्न सरकार असफल भएको धारणा राख्दै जिल्ला युवा सञ्जालका कार्यवाहक अध्यक्ष भरत नेपालीले स्थानीय तहले युवाबारे नीति बनाउँदा समन्वय गर्नु राम्रो हुने बताए ।


एक तथ्यांकअनुसार रोजगार खोज्न विदेश पुगेका युवाको संख्या करिब ८० लाख छ । रोल्पाका करिब २५ हजार युवा वैदेशिक रोजगारीका लागि विदेश पुगेका छन् । निकै वर्षदेखि युवाहरू काम खोज्न विदेश पलायन भइरहेकाले सरकार त्यसबारे गम्भीर हुन आवश्यक भएको जिल्ला समन्वय समिति प्रमुख बुढामगरले बताए ।


श्रम मन्त्रालयको तथ्यांकअनुसार करिब १ हजार ७ सय युवा दैनिक पलायन हुने गरेका छन् । विदेशमा सुरक्षित काम नपाउँदा थुप्रै युवाले जोखिम मोलेर काम गर्ने गरेका छन् । दैनिक पाँच जना युवाले विदेशमा मृत्युवरण गर्छन् र उनीहरूको शव नेपाल ल्याइने गरेको छ ।

प्रकाशित : भाद्र २, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?