१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मर्चवारका आमाहरू जोखिममा

अमृता अनमोल

बुटवल — रूपन्देहीको कोटहीमाई गाउँपालिका–४, वयरघाटकी पुनिता साहनीको १४ वर्षमा बिहे भयो । १६ वर्षमै गर्भवती भइन् । सहज रूपमा बच्चा जन्माउन नसकेपछि गाउँको मझगावा स्वास्थ्य चौकी, जिल्ला अस्पताल हुँदै बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा जटिल शल्यक्रियाबाट शिशु जन्मियो ।

आमा र शिशु दुवैमा कडा खालको कुपोषण देखियो । ‘आमाको असर छोरामा सरेछ,’ पुनिताका पति राजेन्द्रले भने, ‘बच्चामा अपांगता देखिने जोखिम पनि छ रे !’


गर्भवतीका लागि मझगावा स्वास्थ्य चौकीमा २४ घन्टे प्रसूति सेवा छ । मासिक ४० महिला सुत्केरी हुन आउँछन् । धेरैजसो कमजोर स्वास्थ्य अवस्थाका हुन्छन् । कम जोखिम भए अनमि शर्मिला शर्मा नेतृत्वको चार सदस्यीय टोलीले प्रसूति गराउँछ । धेरै जोखिम भए रेफर गर्छ । जोखिमकै कारण महिनामा ८ देखि १० गर्भवतीलाई बुटवल वा भैरहवा रेफर गर्ने गरेको उनले बताइन् ।


‘कम उमेरका, लामो समयदेखि बेथा लागेका, पाठेघरबाहिर बसेका, रक्तअल्पताको समस्या धेरै भएका गर्भवती जोखिमका मानिन्छन्,’ उनले भनिन्, ‘दिन कटेर आएका र पोजिसन नमिलेकालाई पनि रेफर गर्छौं ।’ सानैमा आमा बन्दा धेरै गर्भवती जोखिममा हुने उनले बताइन् ।


मझगावा स्वास्थ्य चौकी प्रमुख सुमनचन्द्र ठाकुरले सुत्केरी तथा गर्भवती अवस्थामा पोषणयुक्त खान र कामको बोझ घटाउन नसक्दा धेरै आमा रोगी भएको बताए ।


‘गर्भवती र सुत्केरी स्याहारका न्यूनतम कुरा पनि मर्चवारमा छैनन्,’ उनले भने, ‘गर्भावस्था र सुत्केरी अवस्थामा भारी बोक्ने, खानपानमा ख्याल नपुर्‍याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी समयमा यौन सम्पर्क राख्नेजस्ता कारणले धेरै महिलाको प्रजनन स्वास्थ्य बिग्रेको रहेछ ।’ प्रसूति र प्रजननजन्य समस्यालाई पुरुषले रोग नै मान्दैनन् । महिलाले पनि लाजको विषय मानेर लुकाउँछन् । यसले आमालाई जोखिममा पार्ने गरेको मझगावा स्वास्थ्य चौकी प्रमुख ठाकुरले बताए ।


मझगावा स्वास्थ्य चौकीमा कोटहीमाईसहित मर्चवारका मर्चवारी र सम्मरीमाई गाउँपालिकाका बिरामी उपचारका लागि आउँछन् । दैनिक आउने एक सय बिरामीमध्ये करिब ७० महिला छन् । प्रजननसम्बन्धी समस्या बोकेर आउने आमा धेरै छन् । उनीहरूमा कुपोषण र रक्त अल्पताको समस्या बढी हुने स्वास्थ्य चौकी प्रमुख ठाकुरले बताए ।


साबिक जिल्ला जनस्वास्थ्य कार्यालयले तीन वर्षअघि सर्वेक्षण गरेको थियो । त्यसमा हरेक तीन महिलामध्ये दुई जनामा प्रजनन तथा पाठेघरसम्बन्धी समस्या देखिएको थियो । त्यसपछि मर्चवारमा बृहत् महिला उपचार शिविर आयोजना गरियो । त्यसमा फिस्टुला र पाठेघरको शल्यक्रिया गर्नुपर्ने तीन सय महिला भेटिए ।


अहिले आमालाई जोखिमबाट बचाउन कोटहीमाई गाउँपालिकाले मासिक रूपमा स्वास्थ्य छलफल गराउने गर्छ । स्वास्थ्य चौकीमा किशोरकिशोरी सेवा संचालनमा छ । उनीहरूमार्फत बालविवाह रोक्ने अभियान चलाएको छ ।


तर, त्यसले मात्रै आमाहरूको स्वास्थ्य सुध्रेको छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले महिलालाई दोस्रो दर्जाका रूपमा हेर्ने रुढीवादी सोच, गर्भवती र सुत्केरी समयमा पनि कामको भार थोपर्ने परिपाटी र रुक्खासुक्खा खाने परम्परा नबदल्दासम्म यहाँका आमा स्वस्थ र सुरक्षित नबन्ने बताए ।


‘अहिले आमा समूहमार्फत टोलटोलमा सासूबुहारी पतिपत्नीको समूह बनाउन थालेका छौं,’ उनले भने, ‘समूहमार्फत घरभित्र र बाहिरको कामको बाँडफाँट गर्ने र प्रजनन स्वास्थ्य तथा खानपानबारे सिकाउने योजना छ ।’

प्रकाशित : भाद्र १, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?