१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पुल नहुँदा विद्यार्थीलाई सास्ती

विक्रमसोताका बालबालिका वाणगंगा खोला तरेर पावरमा पढ्न जानुपर्छ । बर्खामा खोला उर्लिएपछि विद्यालय हेरेर वारि नै बस्नुको विकल्प उनीहरूसँग हुँदैन 
वीरेन्द्र केसी

अर्घाखाँची — वाणगंगा खोलापारि पावरमा विद्यालय छ । साढे दुई सय मिटर हिँडेपछि पुगिन्छ । हिउँदमा तर्न सकिन्छ । बर्खामा वाणगंगा खोला जो कोहीले तर्न सक्ने हुन्न । घरबाटै विद्यालय भवन हेरेर बस्नुबाहेक विक्रमसोताका बालबालिकासित विकल्प हुँदैन । 

पुल नहुँदा विद्यार्थीलाई सास्ती

सितगंगा नगरपालिका–१४ सिमलपानीको पावर र विक्रमसोता ठूला गाउँ हुन् । पावरमा माध्यामिक विद्यालय छ । अभिभावकलाई छोराछोरी नियमित विद्यालय पठाउने मन भएर पनि खोला तर्न सकिँदैन । ‘लेदोसहितको बाढी आइरहन्छ,’ विक्रमसोताका स्थानीय दीपक कार्कीले भने, ‘वरिपरि जंगलले घेरिएका बस्ती छन् ।’


विक्रमसोतातिर घाम लागेको बेलामा पनि अस्मेल बाढी आएको हुन सक्छ । बर्खाभरि जोखिम धेरै हुन्छ । दुई बस्तीको बीचमा पुल बनाइदिन स्थानीयले गुहार मागेको लामो समय भयो । ‘नेता/कर्मचारी कसैले वास्ता गरेनन्,’ उनले भने, ‘झोलुंगे पुल भए पनि बर्खाभरि यी गाउँबीच आउजाउ बन्द हुने थिएन ।’


वाणगंगाले बर्सेनि बस्ती कटान गर्छ । बाढीले गाउँ डुब्छन् । चुरे संरक्षण क्षेत्रअन्तर्गत पर्छ । पहाडको जंगलमा बस्ती छरिएर रहेको छ । ‘कतिबेला खोलामा बाढी आउँछ पत्तै हुँदैन,’ स्थानीय वीरबहादुर खाम्चाकीले भने, ‘साना बालबालिकाको लागि खोला तर्नु जोखिम हुन्छ । बाढीले बगाएर बेपत्ता पार्ने डरले बर्खाभरि कोही पनि खोला तर्दैनन् ।’ घरमा बसेर अभिभावकले पढाउनेबाहेक अरू विकल्प छैन ।


कक्षा ५ सम्म विक्रम गाउँकै स्कुलमा अध्ययन गर्छन् । त्यसपछि ६ कक्षाबाट १० सम्म पढ्न यहाँका बालबालिका पावर माविमा जानुपर्छ । ‘बर्खाभरि पढाइ छुट्छ,’ छात्रा अञ्जु रेश्मीले भनिन्, ‘घरबाट पावर मावि स्कुल छर्लङ देखिन्छ । तर, के गर्नु बाधक खोला बनिदियो ।’


वर्षाभरि विक्रममा छुट्टै कक्षाको व्यवस्था गर्नुपर्ने माग छ । त्यहीँ विद्यालयकी विमला रेश्मीले वर्षाभरि किताब पढि्छन् । ‘हिउँद सुरु भएपछि साथीसँग सरले पढाएको होमवर्क सारेर पढ्छु, ‘तर, कक्षामा गएजस्तो हुँदैन ।’ पढाइ नियमित नभएपछि यहाँका विद्यार्थीको नतिजा खस्किन थालेको छ । उनीहरू कक्षामा पछाडि परेका छन् ।


शीतगंगा–१४ का वडाध्यक्ष दामोदर न्यौपानेले वाणगंगा खोलामा पुल बनाउन वडाको बजेट मात्र नभ्याउँने बताए । यसका लागि नगरपालिका, संघ र प्रदेश सांसदलाई आग्रह गरेको उनले बताए । खोलामा हिउँदमा पनि बाढी आउँछ । गत फागुनमा पावर गाउँमा ल्याउन लागिएको कुलोको बाँध बाढीले बगाएको थियो ।


पन्चायतदेखि नेताले पुल बनाउने नारा लगाउँदै आएका छन् । साबिक जिल्ला विकास समितिमा गएर धेरै पटक पुल माग गरेको तर कसैले वास्ता नगरेको उनले बताए । शीतगंगा नगरपालिकाको वडा ८, ९ र १० को भुगोल छोएर कुशुम खोला छ । वडा १० को जनजागृती माविमा दैनिक ४ घण्टा पैदल हिँडेर विद्यार्थी पढन आउँछन् । समस्या खोलाकै हो । हिउँदमा सजिलो ठाउँबाट खोला तर्न सकिन्छ ।


सिद्धारामा छरिएको रहेको विभिन्न बस्तीबाट एउटै कुशुम खोला ११ पटक तर्नुपर्छ । स्थानीय १ सय ५० भन्दा बढी विद्यार्थी त्यसरी खोला तरेर पढन जाने गरेका छन् । प्रावि र निमावि तहको शिक्षा गाउँको नजिकैको विद्यालयमा अध्ययन गरेपनि माध्यमिक तह र उच्च शिक्षा अध्ययनको लागि जोखिमपुर्ण पैदल यात्राबाट पार गर्नुपर्ने बाध्यता रहेको विद्यार्थीको गुनासो छ ।


सिद्धाराको लामिदमारमा झुरुप्प परेको बस्ती छ । त्यहाँबाट ४० बालाबालिकालाई विद्यालय पुग्न मात्रै ४ घण्टा लाग्छ । वडाखोलाको पात्ले, झाले, उनाय, दमार, कार्तिके, दुम्सी लागयतका ६५ भन्दा बढी विद्यार्थी दैनिक ५ घण्टा पैदल यात्रा गर्छन । २२ पटक खोला तरेर कक्षा ६ देखी १२ सम्म अध्ययन गर्नुपरिरहेको विद्यार्थी दीपक घर्तीले बताए । विद्यालय जान आउन जंगलको डर र यात्रा जोखिमपुर्ण भएकाले गाउँका सबै साथीहरू जम्मा भएर ग्रुपमा मात्रै जाने गरेको उनले बताए ।


बीच–बीचमा बस्ती रहेकाले जंगलको बाटो हुँदै डरलाग्दो कुशुमखोला पार गर्दा जोखिम भएकाले समुहमा जाने गरेको उनको भनाई छ । विद्यार्थी मात्र नभएर अभिभावक पनि खोला तर्न नसक्दा आउजाउ ठप्प हुन्छ । दुर्गम भएकाले उपेक्षामा परकाले सिद्धाराको विकास सुस्त गतिमा छ ।


वर्षेनी जस्तै बालवालिका बाढी र जंगली जनावारको आक्रमणमा पर्छन की भन्ने डरका कारण अभिभावकहरू बिहान घरबाट विद्यालयन हिडेका छोराछोरीहरू बेलुका घरमा नआउँदासम्म सधं चिन्तित हुने गर्छन । खोला नतरी विद्यालय जाने वैकपिल्क बाटो छैन, पाइलैपच्छिे तालैताल भएको डरलाग्दो कुशुमखोला दैनिक धेरै पटक तर्नुपर्छ, विद्यार्थी जनक आचार्यले भने ।


प्रअ रोमाखर बञ्जाडेले हिउँदमा सबैजसो विद्यार्थी नियमित पढ्न आएपनि वर्षाको बेला आधाजति विद्यार्थी खोला, बाढीका कारण अनियमित हुने गरेको बताए । घण्टौ पैदल हिँड्नुपर्ने भएकाले माविमै ३० प्रतिशत विद्यार्थीले बीचमै पढाई नै छाड्ने गरेको उनले बताए । नियमित पढन भौगोलिक जटिलताका कारण विद्यार्थी अनियमित हुने र बीचमै पढाइ छाड्ने समस्या रहेको उनले बताए ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?