१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

दलितलाई सामूहिक रक्षाबन्धन

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका–१६, प्रयास टोलका ६९ वर्षीय कुलबहादुर विकले धेरै वर्षपछि बिहीबार हातमा रक्षाबन्धन बाँधे । पण्डितहरूको एक टोलीले गाउँमै आएर सामूहिक रूपमा दलित र जनजाति समुदायलाई रक्षाबन्धन बाँधेको थियो । 

दलितलाई सामूहिक रक्षाबन्धन

‘हामीकहाँ पण्डितहरू घरमै आएर डोरो बाँधिदिने चलन छैन । दलित समुदायको घरमा आउन अप्ठ्यारो मान्छन्,’ विकले भने, ‘पहिले पहिले पण्डितहरूलाई आफैंले अनुरोध गरेर बाँध्न लगाउँथ्यौं । पछिपछि त्यो पनि छुट्यो ।’

अहिले गाउँमै सबैलाई बोलाएर डोरो बाँधिदिंदा खुसी लागेको उनले सुनाए । हिन्दु स्वयंसेवक संघ र प्राज्ञिक विद्यार्थी परिषद्मा आवद्ध पण्डितहरू जातीय छुवाछूत अन्त्यको सन्देश दिन प्रयास टोलको दलित, जनजाति बस्तीमा पुगेका थिए ।

स्थानीय ३९ वर्षीय पञ्चराम चौधरीले बाल्यकालमा अरूको घरमा कमैया बसेका बेला रक्षाबन्धन बाँधेका थिए । त्यसपछि करिब दुई दशकसम्म उनले जनै पूर्णिमा मनाउन पाएका थिएनन् । यसपटक उनले पण्डितको हातबाट डोरो बाँधे । ‘थारू समुदायको घरमा पण्डितहरू आउँदैनन् । हामी पनि खासै महत्त्व दिंदैनौं,’ उनले भने, ‘जमिन्दारको घरमा हुँदा ब्राह्मण आउँथे, बाँधिदिन्थे । कमैया छोडेपछि बाँध्न छुट्यो । अहिले धेरैपछि बाँध्न पाउँदा रमाइलो लाग्यो ।’

शिला चौधरीले पनि सबै बराबर भएर डोरी बाँध्न पाएकामा खुसी व्यक्त गरिन् । ‘दलित, जनजाति, ब्राह्मण, क्षत्री सबै एकै ठाउँमा बसेर रक्षाबन्धन मनाउन पाइयो । सबै समान भएको महसुस भयो,’ उनले भनिन्, ‘यसले समाजमा रहेको विभेद अन्त्य गर्न सहयोग मिलेको छ ।’

सुनीता सुनार पनि ब्राह्मणको हातबाट डोरो बाँधेपछि खुसीले रमाइन् । पीपल चौतारीमुनि बसेर सामूहिक रक्षाबन्धनपछि पण्डितहरू दलितहरूका घरमा बसेर सँगै खाना खाए । ‘कानुनी रूपमा जातीय छुवाछूतको अन्त्य भए पनि व्यावहारिक रूपमा धेरै समस्या छन् । चाडपर्वमा असमानता देखिन्छ,’ प्राज्ञिक विद्यार्थी परिषद्का प्रदेश अध्यक्ष शरदकुमार शर्माले भने, ‘सबै जातजाति समान हौं भन्ने सन्देश दिन दलित, जनजाति समुदायलाई नै लक्षित गरेर रक्षाबन्धन कार्यक्रम गरेका हौं । यसले सकारात्मक सन्देश दिएको छ ।’

चाडपर्व सबैले समान रूपमा मनाउन पाउनुपर्ने सन्देशका साथ सामूहिक रक्षाबन्धन गरिएको नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक किशोरचन्द्र गौतमले बताए । ‘कतिपयले यो संस्कार बिर्संदै गएका छन् । हाम्रा मौलिक चाडपर्वको संरक्षण हुन जरुरी छ,’ उनले भने ।

प्रकाशित : श्रावण ३१, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?