कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मजदुरले ज्याला पाएनन्

माधव अर्याल

पाल्पा — कालीगण्डकी करिडोरअन्तर्गत रिडी–राम्दी सडक खण्डमा काम गर्ने मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् ।

उनीहरूले निर्माण व्यवसायीबाट ज्याला नपाएपछि श्रम कार्यालय, प्रशासन, कालीगण्डकी करिडोर, वडा कार्यालयलगायतमा निवेदन दिएका छन् ।


टिपर चालक दीर्घ रावत, स्काभेटर चालक गंगबहादुर घर्तीमगर, रमेश पुनमगर, जेसीभी चालक बेलबहादुर गाहामगर र विनोद पौडेल, ग्याभिएन मेसिनरी काम गर्ने सुनिल हमाल, टिपर चालक धनबहादुर सुनारलगायत १० जनाभन्दा बढीले ज्याला नपाएका हुन् ।


उनीहरूले ०७४ र ०७५ मा विभिन्न मितिमा काम गरेको रकम निर्माण व्यवसायी शंकरमाली/अकेला जेभी निर्माण सेवा प्रालि मालीगाउँ काठमाडौंले ज्याला नदिएको निवेदन दिएका छन् । ‘१५ महिना काम गरियो,’ पीडित मजदुर रावतले भने, ‘केही समयको दिए पनि पूरै समयको ज्याला नपाएका हौं ।’


उनीहरूले श्रम कार्यालय, जिल्ला प्रशासनका साथै मजदुर संगठनमा समेत ज्याला भुक्तानीका लागि निवेदन दिएको बताए । पीडित मजदुर रावतले पटक–पटक कुरा राख्दा पनि श्रम गरेको ज्याला नदिएपछि कानुनी बाटो अपनाएको सुनाए । उनीहरू सबैलाई गरी १० लाख रुपैयाँ बढी रकम भुक्तानी गर्नुपर्ने देखिएको छ ।


सबैलाई बुझाएको कागजपत्रको फोटोकपी उनीहरूले साथमा लिएर न्यायका लागि भौंतारिएका छन् । शंकरमाली/अकेला जेभीका निर्माण व्यवसायी दत्त बस्नेत र कुमार बस्नेतले मजदुरलाई रकम दिने भन्दा उल्टै धम्क्याउने, थर्काउने र विभिन्न आरोप लगाउने गर्न थालेपछि आफूहरू प्रमाणसहित हिंडेको उनीहरूले बताए । ‘हामीलाई अनावश्यक रूपमा स्काभेटर तोडफोडको झूट्टा आरोप लगाइयो,’ रावतले भने, ‘तर, यही समयमा हामी अर्गलीमै थिएनौं । त्यो कुरा प्रहरी, स्थानीय सबैलाई थाहा छ । त्यही भएर हामीलाई केही गर्न सकेनन् ।’


निर्माण व्यवसायीले रावतको १ लाख ८० हजार, बेलबहादुरको ८०, विनोदको २ लाख ८०, रमेशको १ लाख २५ हजार रुपैयाँ लिन बाँकी रहेको बताए । यस्तै, सुनिल हमालको ४ लाख बढी, गंगबहादुरको ४५ हजार रुपैयाँ लिन बाँकी रहेको दाबी छ ।


शंकरमाली/अकेला जेभीले श्रम कार्यालयलाई दिएको जवाफमा कम्पनीका अन्य कर्मचारीलाई गालीगलौज गरेको, नियमित काम चाहियो भन्दै पिट्ने धम्की दिएको लगायत स्काभेटर तोडफोड गरेको आरोप लगाएका छन् । ‘हामीले त्यस्तो काम गरेका छैनौं, हामी कानुनी लडाइँ लडिरहेका छौं,’ रावतले भने, ‘अनावश्यक आरोप लगाएर पैसा ठग्न खोज्या हो ।’ उनले यसरी सबै स्थानमा दिएको निवेदनमा कुनै सुनुवाइ नभएको बताए ।

कालीगण्डकी करिडोर (गैंडाकोट–मालढुंगा) सडक योजना पाल्पाका प्रमुख नरेन्द्र सुवेदीले निर्माण व्यवसायीले पाउने निकासा सीधै मजदुरलाई दिन नमिल्ने बताए । नियमअनुसार काम गर्नुपर्ने भएकाले जो निर्माण व्यवसायीको फर्म हुन्छ, त्यसैलाई नै रकम निकासा दिनुपर्ने उनले बताए ।


‘हामीले निर्माण व्यवसायीको खातामा रकम जम्मा गर्नुपर्छ,’ उनले भने, ‘तर, शंकरमाली/अकेला जेभीको कागजपत्र नपुगेको र म्याद थप पनि नभएकाले रकम उसको खातामा पठाउन नसकिएको अवस्था छ ।’ उनले निर्माण व्यवसायीलाई भुक्तानी दिने समयमा खबर गर्न सकिने बताए ।


कालीगण्डकी करिडोरअन्तर्गतको रिडी, अर्गली, अर्तुङ्गा रानीमहल क्षेत्रमा काम गर्दाका केही समयको भुक्तानी नपाएको मजदुरको गुनासो जानकारीमा आएको उनले बताए । मजदुरले जिल्ला प्रशासन कार्यालयमा पनि ठाडो उजुरी दिएका छन् । निर्माण व्यवसायी दुई दाजुभाइको प्राप्त सम्पर्क नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेन ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?