१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भैरवस्थानको ‘भेटी’ मा आँखा

माधव अर्याल

पाल्पा — यहाँस्थित प्रसिद्ध भैरवस्थान मन्दिरको भेटीमा व्यवस्थापन समितिकै पदाधिकारीले आँखा लगाएका छन् । भेटी व्यवस्थापनमा यो ‘नमुना’ मन्दिरका रूपमा परिचित थियो । व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारी र कोषाध्यक्ष मीनप्रसाद अधिकारीले मिलेमतो गरेर भेटीको रकम व्यक्तिगत काममा प्रयोग गरेको पाइएको छ । रिब्दीकोट–४ मा रहेको मन्दिरमा वार्षिक ६० लाख रूपैयाँ बढी आम्दानी हुन्छ ।

भेटी खर्च गरेको जानकारी सार्वजनिक भएपछि उनीहरूले रकम मन्दिरको खातामा जम्मा गरेका छन् । यसरी निकालेर व्यक्तिगत काममा खर्च गर्नु अपचलन हो । मन्दिर व्यवस्थापन समितिबाट निर्णय नगराएर अध्यक्ष र कोषाध्यक्षले मनोमानी ढंगले रकम व्यक्तिगत काममा प्रयोग गर्ने गरेको आरोप स्थानीयको छ ।

पछिल्लोपटक २७ लाख २० हजार रुपैयाँ बैंकमा दाखिला गरेको भेटिएपछि अनियमितता खुलेको हो । उक्त रकम तानसेनस्थित गरिमा विकास बैंकको खातामा जम्मा भएको देखिएको स्थानीयले जनाए । ‘दुई वर्षयता यसरी भेटीको रकम बैंकमा राख्ने र निकाल्ने काम चलिरहेको छ,’ स्थानीय कमल पौडेलले भने, ‘मन्दिरको खाताबाट व्यक्तिगत कामका लागि लाखौं रकम झिक्ने र जम्मा गर्ने काम भइरहेको छ ।’

मन्दिर व्यवस्थापन समितिका विषयमा स्थानीयले पटक–पटक कुरा उठाए पनि यसको सुनुवाइ भएको छैन । पटक–पटक रकम झिक्ने र राख्ने विषय सार्वजनिक भएपछि गुपचुप रूपमा उक्त रकम बैंकमा दाखिला गरी हिसाब मिलान गर्ने कार्य भएको देखिन्छ । समितिमा निर्णय नगराई लाखौं रकम निकाल्न नहुने स्थानीय गोविन्द पोखरेलले बताए ।

‘हामीले धेरैपटक यस्तो थाहा पाएर कुरा पनि राखियो,’ उनले भने, ‘धेरै मनोमानी हुन थालेपछि प्रशासनमा खबर गरेका हौं ।’ स्थानीय प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्रलगायतमा छानबिनका लागि निवेदन दिएको स्थानीयले बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले भने आफूले मन्दिरकै कामका लागि रकम निकालेको बताए । उनले निर्माणको काम भइरहेकाले ज्याला दिन र सामान किन्नका लागि रकम निकालेको बताए ।

व्यवस्थापन समितिमा रहेर काम गरेका तेजबहादुर पोखरेलले मन्दिरको निर्माणको काममा यसरी भेटीको रकम निकाल्न नहुने बताए । सामान दिनेले केही महिना उधारो पनि दिने भएकाले गलत काम भएको उनले बताए । ‘भेटीको रकम व्यक्तिगत काममा प्रयोग गरिनु गलत हो,’ उनले भने, ‘जे काम भयो, त्यो गलत हो ।’ वडाध्यक्ष दुर्गाप्रसाद खनालले यस विषयमा प्रशासनलगायत निकायबाट अनुसन्धानको काम भइरहेको बताए । अनुसन्धान भइरहेकाले जे प्रतिवेदन आउँछ, सोही अनुसार अघि बढ्ने बताए । ‘प्रशासनलगायतमा निवेदन परेकाले अहिले अनियमितता भयो वा भएन भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘जे प्रतिवेदन आउँछ, त्यही मान्नु पर्छ ।’

गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले स्थानीयस्तरमा समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए । ‘यसरी पहिला प्रशासन, अख्तियारतिर जानुभन्दा न्यायिक समितिमा उजुरी दिएको भए यहींबाट समाधान निस्कने थियो,’ उनले भने, ‘यस विषयमा अब छानबिनबाट जो आउँछ, सोही नै हुन्छ ।’ उनले यदि कसैले गल्ती गर्छ भने त्यसलाई जोगाउनुपर्ने कुनै कारण नभएको बताए ।

आर्थिक हिनामिना गर्ने व्यक्ति तथा संस्थालाई आवश्यक कानुनी कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई स्थानीयले ध्यानाकर्षण गराएका छन् । ‘हाम्रो मातहतमा नपर्ने हुँदा सबै विवरण गुठी संस्थानलाई पठाएका छौं,’ प्रजिअ यादवले भने, ‘हामीले यहाँबाट अनुसन्धान गर्न नमिल्ने भएकाले प्राप्त निवेदन र पत्रसहित गुठी संस्थानमा पठाएका छौं ।’

पदाधिकारी बेखबर
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष र कोषाध्यक्षले रकम निकाल्ने र राख्ने गर्दा समितिका पदाधिकारी र सदस्य बेखबर भए । उनीहरूले आफूहरूलाई केही पनि थाहा नभएको बताएका छन् । सचिवलगायत सदस्यले यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिए । मन्दिर व्यवस्थापन समितिका सचिव नवराज ज्ञवालीले आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताए । ‘समितिमा निर्णय गरेर रकम निकाल्ने र राख्ने गरेको होइन,’ उनले भने, ‘रकमका विषयमा मलाई केही जानकारी छैन ।’

तर, अध्यक्ष अधिकारीले भने समितिको निर्णयअनुसार आफूले रकम निकालेको बताएका छन् । उनले सबैलाई जानकारी भएको विषय भएको बताए । भैरवस्थान हिन्दु धर्मालम्बीहरूको यस भेगमै प्रमुख आस्थाको केन्द्र हो । गाउँपालिका, वडाको समेत भैरवस्थानमा लगानी छ ।

भैरवस्थान मन्दिर व्यवस्थापन समिति निर्माणका लागि सिफारिस गर्ने जिल्ला मालपोत कार्यालय यस घटनासँग बेखबर छ । कार्यरत कार्यालय प्रमुखको सरुवा भएको र नयाँ नआइसकेकाले अन्य कर्मचारीले आँखा चिम्लेर बसेका छन् । उनीहरूले थाहा पाए पनि नपाएझैं गरेर बसेका हुन् ।

साउन २२ गते जिल्ला प्रशासन कार्यालयबाट पत्र आएको भने सूचना अधिकारी रमेश न्यौपानेले बताए । ‘हामीलाई प्रशासनको पत्र आउनुअघि केही थाहा थिएन,’ उनले भने, ‘अहिले थाहा पाएर पनि स्थलगत रूपमा अध्ययन गर्न सकिएको छैन ।’ सूचना अधिकारी न्यौपानेले दुई वर्षदेखि लेखापरीक्षण प्रतिवेदन नपाएको भए पनि अहिलेको घटनाक्रमका विषयमा जानकारी दिन कोही पनि नआएको बताए । कार्यालय प्रमुख आइसकेपछि यस विषयमा अनुसन्धान गर्ने उनले बताए । ‘अहिले कार्यालयमा कर्मचारी कम भएकाले पनि अनुसन्धान गर्न सकिएको छैन,’ उनले भने, ‘गुठी संस्थानमा नै मुद्दा पुगिसकेकाले उताबाट पनि केही आउला र थप अध्ययन गर्नेछौं ।’

समितिका अध्यक्ष अधिकारी नेकपाका जिल्ला नेता हुन् । यस विषयमा जिल्लाका कांग्रेस, जनमोर्चा, राप्रपा संयुक्त, जनमुक्तिलगायतले मालपोत र प्रशासनमा भैरवस्थानमा भएको अनियमितताको विषयमा ध्यानाकर्षण गराएका छन् । कांग्रेस सचिव झपेन्द्र गहिरेले मन्दिरमा भएको अनियमितताका विषयमा मालपोत र प्रशासनमा ध्यानाकर्षण गराएको बताए । सरोकारवालाबाट चासो कम दिएको अनुभूति भएको उनले बताए ।

राप्रपा संयुक्तका केन्द्रीय सदस्य डुलबहादुर कुँवरले अनियमितता हो वा होइन भन्ने विषयमा मन्दिर व्यवस्थापन समितिले पनि प्रस्ट पार्नुपर्ने बताए । उनले मालपोत र प्रशासनमा पुगेर यस विषयमा कुरा राखेको बताए । ‘यस विषयमा अझै अध्ययन नगरिसकेको तर बाहिर आएका विषयमा ध्यानाकर्षण गराएको हो,’ उनले भने । राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामीले छानबिन गरेर सही कुरा बाहिर आउनुपर्ने बताए । अनियमिततालाई ढाकछोप गर्न कुनै पनि शक्ति लाग्न नहुने उनले बताए । नेकपा अध्यक्ष नारायण आचार्यले जुन हिसाबले अतिरिन्जत गरिएको छ, त्यो गलत भएको प्रतिक्रिया दिए ।


संसद्मा प्रवेश
प्रदेश सांसद वीरबहादुर रानाले संसद्मा भैरवस्थानमा भएको अनियमितताको विषय उठाएका हुन् । उनले करोडौं राज्यले लगानी गरेर भौतिक व्यवस्थापनमा सुधार आएको भैरवस्थान मन्दिरमा भएको अनियमितता छानबिनको माग गरेका छन् । ‘प्रदेश सरकार साथै संघीय सरकारको करोडौं लगानी छ,’ रानाले भने, ‘यस्तो आस्थाको मन्दिरमा भेटीबाट उठेको रकम अपचलन हुनु गलत हो ।’ यस विषयमा नेकपाका सांसद, जिल्ला नेता भने केही बोल्न चाहेनन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले संसद्मा उठेको सवालको जवाफ नै दिन सकेका छैनन् । उनले भैरवस्थान मन्दिरमा भएको आर्थिक अनियमितताका विषयमा आफूलाई थाहा नभएको छोटो प्रतिक्रिया दिँदै आएका छन् । मन्त्रीले भैरवस्थानको अनियमितताका विषयमा प्रदेश संसद्मा कुनै पनि माननीयबाट प्रश्न नउठेको समेत प्रतिक्रिया दिए ।

प्रकाशित : श्रावण २९, २०७६ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?