सडक सुधारले खुसी

कान्तिपुर संवाददाता

प्यूठान — प्यूठानको मुख्य बजार केन्द्र बिजुवारसँग पूर्वी रोल्पाको मुख्य बजार सुलीचौर जोडने सडक सुधार गर्न लागिएको छ । बिजुवार–ढुंगेठाँटी–सुलीचौर रोल्पा सडकको स्तरोन्नति हुन लागेको हो । प्यूठान–४ को बिजुवार जुम्रीदेखि यसपालि जुम्रिकाँढा–ढुंगेठाँटीसम्म ६ दशमलव ९ किलोमिटर सडक सुधार गर्न लागिएको छ ।

राष्ट्रिय यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटीपी)अन्तर्गत आवधिक मर्मतमार्फत सडक सुधार गर्न लागिएको छ । मंसिरसम्म काम सक्ने गरी ७९ लाख ३३ हजार ५ सय ६१ रुपैयाँमा ठेक्का भएर काम सुरु गरिएको जिल्ला पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख नवीन श्रेष्ठले बताए । दुई जिल्लाको मुख्य बजार जोडने सडक ओझेलमा परेको स्थानीयले गुनासो गर्दै आएका थिए ।


बर्खामा खाल्डाखुल्डीले हिलाम्य सडकले सास्ती भएपछि स्थानीयले वर्षौंदेखि सडक सुधारको माग गर्दै आएका हुन् । सडकमा बजेट परेर मर्मत हुने कुराले अहिले यस क्षेत्रका स्थानीय खुसी छन् । ‘सडक राम्रो नहुँदा निकै दुःख पाएका थियौं,’ प्यूठान नगरपालिका–५, जुम्रिकाँढाका हरि जैसीले भने, ‘सडक सुधारमा बजेट परेर काम गर्न लागेको सुन्दा खुसी लागेको छ ।’ सडक राम्रो भएपछि बिजुवारसम्मको भाडा घटने पनि स्थानीयले आशा गरेका छन् ।


जुम्रिकाँढाको पातलकटेरी, देउरालीसम्म १६ किलोमिटरमा नियमित जिप संचालनमा छ । स्थानीयले २ सय रुपैयाँ भाडा तिर्दै आएका छन् । ‘सडक राम्रो नभएका कारण महँगो भाडा तिर्नु परेको छ,’ स्थानीय हेमराज थापाले भने, ‘सडक सुधार भएपछि भाडा घटने आशा गरेका छौं ।’

रोल्पाको सुनील स्मृति गाउँपालिकाको असेर, तेबाङ, मिझिङ र प्यूठानको प्यूठान नगरपालिकाको जुम्रिकाँढा, माझकोट, स्वर्गद्वारी नगरपालिका, बेल्वास, सारी, बर्जिबाङ क्षेत्रका स्थानीयले सडकबाट फाइदा लिने प्यूठान नगरपालिका–५ का वडाध्यक्ष लछुमन भण्डारीले बताए । सडक सुधारपछि यस क्षेत्रकै मुहार फेरिने भण्डारीले बताए ।


०५५ सालमा खुलेको सडक सधैं ओझेलमा परेको थियो । नगरभित्रको एउटा सडक कालोपत्रे गर्ने योजनासहित नगरपालिकाले यस सडकलाई प्राथमिकतामा पारेर परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेको थियो । बिजुवारदेखि रोल्पाको सुलीचौरसम्मको यसको दूरी ३२ किलोमिटर रहेको छ । ‘रोल्पा क्षेत्रबाट अरेससम्म सडक सुधार हुँदै छ,’ वडाध्यक्ष भण्डारीले भने, ‘यताबाट देरालीसम्म सुधार भए धेरै सहज हुन्थ्यो ।’

प्रकाशित : श्रावण २९, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्

मुसहरको दैनिकी कष्टकर

कान्तिपुर संवाददाता

रुपन्देही — बस्तीका बालकदेखि वृद्धसम्म घर निर्माण र खेतबारीमा मजदुरी गर्छन् । बिहानै पुरुष कामका लागि निस्किन्छन् । महिलाले भने दिनहुँ काम पाउँदैनन् । काम जुरेको दिन सबेरै उनीहरू पनि कामका लागि निस्किन्छन् । काममा नजानेलाई घर व्यवहारमै ठिक्क छ । उनीहरू साँझका लागि तरकारीको जोहोमा जुटछन् ।

घोंगी, गाभा खोजेर तिहुन (तरकारी) तयार गर्छन् ।


देवदह नगरपालिकाको खैरेनी चोकबाट चार किलोमिटरको दूरीमा रहेको यस मुसहर र कुमाल बस्तीका समुदायले हरियो तरकारी नभेटेको दिन सोयाबिनले गुजारा चलाउँछन् । बजारमा सजिलै पाउने यही भटमासको पिना आफूहरूले बढी रुचाउने उनीहरूले बताए ।


मजदुरी नगरे छाक टर्दैन । त्यसैले फुर्मासका लागि समय नै मिल्दैन । खाना पकाउने, मसला पिस्ने बेलामा सुखदुःखका कुरा गर्छन् । उमेर पुगेका र काम गर्न नसक्ने वृद्धवृद्धा दिनभरि छहारीमा बस्छन्, अतीतका गफ गर्छन् । पहिले उनीहरू देवदह–४, केरबानी क्षेत्रका जमिन्दारको घरमा हरूवाको काम गर्थे ।

बाढी आएर जग्गा कटान गरेपछि तत्कालीन गाविस सचिव नीलकण्ठ पौडेलको सहयोगमा त्यहाँस्थित खाली जग्गामा स्थानान्तरण गरिए । उक्त जग्गामा ०५६ सालमा १८ घरधुरी सारिएका थिए । अहिले परिवारबाट छुट्टिभिन्न भएपछि २५ घरधुरी पुगेका छन् । यहाँ ससाना खरका टहरा छन् । एउटै टहरामा बारेर अलग–अलग भान्सा बनाइएको छ । यही सोइया टोल मुसहर बस्तीका रूपमा चिनिन्छ ।


६५ वर्षीया बेचनी मुसहर यही टोलमा आफ्ना छोरासँगै बस्छिन् । ‘पहिले जमिन्दारको घरमा काम गरेर छोराछोरी पालिन्थ्यो,’ उनले भनिन्, ‘बाढीले धपायो, काम गर्न पनि हरायो ।’ छोराबुहारीले काम गरेर दुई छाक जुरिरहेको उनले बताइन् । पहिले खोला किनारमा बस्ने गरेकाले बाढीको डर थियो । त्यसैले अहिले बसेको ठाउँ आफूहरूका लागि राम्रो भएको उनले सुनाइन् ।

भूमिहीन आफूहरूलाई वडा कार्यालयले सहयोग गरेकामा उनले खुसी पनि व्यक्त गरिन् । स्थानीय सावित्री मुसहर भवानीपुर माविमा कक्षा २ मा पढछन् । उनलाई पढेर के गर्ने भन्ने थाहा छैन ।


‘ठूली भएर दुःख नहुने काम गर्छु,’ उनले भनिन्, ‘मेरो बुबाले नपढेर दुःख पाउनु भयो ।’ बुबा वीरबल छोरीलाई शिक्षित नागरिक बनाउन चाहन्छन् । ‘मैले पढ्न पाइनँ, बच्चालाई पढाएर ठूलो मान्छे बनाउने रहर छ,’ उनले भने, ‘गाउँमा नपढेका धेरै छौं, त्यसैले छोराछोरी पनि त्यस्तै हुन्छन् कि भन्ने डर छ ।’

उनका छिमेकी प्रल्हाद कुमाल मिस्त्रीको काम गर्छन् । वैदेशिक रोजगारीमा गएका उनले विदेशमा धेरै कमाइ नभएकाले यहीँ मजदुरी गर्न उचित लागेको बताए । ‘युवाले चाहेर पनि विदेश जान पाएका छैनन्,’ उनले भने, ‘लगानी गर्ने पैसा छैन ।’

प्रकाशित : श्रावण २९, २०७६ १२:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्