मुसहरको दैनिकी कष्टकर

कान्तिपुर संवाददाता

रुपन्देही — बस्तीका बालकदेखि वृद्धसम्म घर निर्माण र खेतबारीमा मजदुरी गर्छन् । बिहानै पुरुष कामका लागि निस्किन्छन् । महिलाले भने दिनहुँ काम पाउँदैनन् । काम जुरेको दिन सबेरै उनीहरू पनि कामका लागि निस्किन्छन् । काममा नजानेलाई घर व्यवहारमै ठिक्क छ । उनीहरू साँझका लागि तरकारीको जोहोमा जुटछन् ।

घोंगी, गाभा खोजेर तिहुन (तरकारी) तयार गर्छन् ।


देवदह नगरपालिकाको खैरेनी चोकबाट चार किलोमिटरको दूरीमा रहेको यस मुसहर र कुमाल बस्तीका समुदायले हरियो तरकारी नभेटेको दिन सोयाबिनले गुजारा चलाउँछन् । बजारमा सजिलै पाउने यही भटमासको पिना आफूहरूले बढी रुचाउने उनीहरूले बताए ।


मजदुरी नगरे छाक टर्दैन । त्यसैले फुर्मासका लागि समय नै मिल्दैन । खाना पकाउने, मसला पिस्ने बेलामा सुखदुःखका कुरा गर्छन् । उमेर पुगेका र काम गर्न नसक्ने वृद्धवृद्धा दिनभरि छहारीमा बस्छन्, अतीतका गफ गर्छन् । पहिले उनीहरू देवदह–४, केरबानी क्षेत्रका जमिन्दारको घरमा हरूवाको काम गर्थे ।

बाढी आएर जग्गा कटान गरेपछि तत्कालीन गाविस सचिव नीलकण्ठ पौडेलको सहयोगमा त्यहाँस्थित खाली जग्गामा स्थानान्तरण गरिए । उक्त जग्गामा ०५६ सालमा १८ घरधुरी सारिएका थिए । अहिले परिवारबाट छुट्टिभिन्न भएपछि २५ घरधुरी पुगेका छन् । यहाँ ससाना खरका टहरा छन् । एउटै टहरामा बारेर अलग–अलग भान्सा बनाइएको छ । यही सोइया टोल मुसहर बस्तीका रूपमा चिनिन्छ ।


६५ वर्षीया बेचनी मुसहर यही टोलमा आफ्ना छोरासँगै बस्छिन् । ‘पहिले जमिन्दारको घरमा काम गरेर छोराछोरी पालिन्थ्यो,’ उनले भनिन्, ‘बाढीले धपायो, काम गर्न पनि हरायो ।’ छोराबुहारीले काम गरेर दुई छाक जुरिरहेको उनले बताइन् । पहिले खोला किनारमा बस्ने गरेकाले बाढीको डर थियो । त्यसैले अहिले बसेको ठाउँ आफूहरूका लागि राम्रो भएको उनले सुनाइन् ।

भूमिहीन आफूहरूलाई वडा कार्यालयले सहयोग गरेकामा उनले खुसी पनि व्यक्त गरिन् । स्थानीय सावित्री मुसहर भवानीपुर माविमा कक्षा २ मा पढछन् । उनलाई पढेर के गर्ने भन्ने थाहा छैन ।


‘ठूली भएर दुःख नहुने काम गर्छु,’ उनले भनिन्, ‘मेरो बुबाले नपढेर दुःख पाउनु भयो ।’ बुबा वीरबल छोरीलाई शिक्षित नागरिक बनाउन चाहन्छन् । ‘मैले पढ्न पाइनँ, बच्चालाई पढाएर ठूलो मान्छे बनाउने रहर छ,’ उनले भने, ‘गाउँमा नपढेका धेरै छौं, त्यसैले छोराछोरी पनि त्यस्तै हुन्छन् कि भन्ने डर छ ।’

उनका छिमेकी प्रल्हाद कुमाल मिस्त्रीको काम गर्छन् । वैदेशिक रोजगारीमा गएका उनले विदेशमा धेरै कमाइ नभएकाले यहीँ मजदुरी गर्न उचित लागेको बताए । ‘युवाले चाहेर पनि विदेश जान पाएका छैनन्,’ उनले भने, ‘लगानी गर्ने पैसा छैन ।’

प्रकाशित : श्रावण २९, २०७६ १२:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बालविवाहविरुद्ध किशोरी

रूपा गहतराज

नेपालगन्ज — बाँकेका किशोरीहरूले १६ वर्षको उमेरमा विवाह गर्ने अभियानविरुद्ध प्रतिकारमा उत्रने बताएका छन्  । आइतबार नेपालगन्जमा भेला भएका आठ गाउँपालिकाका किशोरी क्लबका प्रतिनिधिले यसबारे जानकारी दिए  ।

उनीहरूले आफूहरूले बालविवाह न्यूनीकरणका लागि गरेको अभियानमाथि चुनौती थपिएको भन्दै स्थानीय तहलाई कठोर कदम चाल्न अनुरोध गरेका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले सो अभियानविरुद्ध आ–आफ्ना गाउँपालिकामा ज्ञापनपत्रबुझाउने बताए ।


पछिल्लो केही समययता बाँकेमा १६ वर्षको उमेरमा छोरीको बिहे गर्न पाउनुपर्ने भन्दै एउटा समूह अभियान चलाइरहेको छ । ‘हाम्रो समुदायका किशोरी पढ्न चाहन्छन् । केही गर्न चाहन्छन्,’ डुडुवा गाउँपालिकाको प्रगतिशील किशोरी क्लबकी सहसचिव प्रमिला हरिजनले भनिन्, ‘हाम्रा अभिभावकले किशोरीलाई बोझ सोचेर मात्र चाँडो बिहे गरिदिने गरेका हुन् ।’ आफ्नो समुदायका अभिभावक अशिक्षा तथा विपन्नताका कारण छोरीको बिहेको उमेर १६ वर्ष कायम गर्न लागिपरेको उनले सुनाइन् ।


खजुरा गाउँपालिकाकी किशोरी सन्जालकी कोषाध्यक्ष चेतना क्षत्रीले आफूहरूले दिन रात बालविवाहविरुद्ध ठाउँठाउँमा अभियान चलाउँदा पनि कुनै परिवर्तन नआएकामा दुःख लागेको बताइन् । ‘यो बालविवाहको मात्र मुद्दा होइन, लैगिक विभेद पनि हो,’ उनले भनिन्, ‘यसलाई सिंगो समाजको मुद्दा बनाउनु जरुरी छ ।’


जानकी गाउँपालिका स्तरीय किशोरी क्लबकी सदस्य सिर्जना बुढामगरले बालिका र किशोरीभन्दा पनि अभिभावक नै बालविवाह गराउन उत्साहित भएको बताइन् । मधेसी समुदायमा धर्म अनि संस्कृतिका नाममा पुण्य कमाइने भन्दै सानै उमेरमा विवाहका लागि दबाब दिने गरेको उनले सुनाइन् । ‘अभिभावक नै यस्ता विवाहका लागि दबाब दिन्छन्,’ उनले भनिन्, ‘अभिभावकको निर्णय मान्न बालिका र किशोरी बाध्य छन् ।’


किशोरी र बालिकाहरू विवाहका लागि तयार नभए पनि दबाबमा बिहे हुने गरेको भन्दै बालिका क्लबका प्रतिनिधिले कानुनी अधिकारको दुरुपयोग हुँदासमेत स्थानीय तह मूकदर्शक बन्नु लज्जाको विषय भएको बताए । बैजनाथ गाउँपालिका स्तरीय किशोरी क्लबकी अध्यक्ष अनु रावतले बालविवाह निर्मूल पार्न सबै सरोकारवाला निकायको सहयोग र सहकार्य आवश्यक भएको बताइन् । ‘एक हातले मात्र ताली बज्दैन,’ उनले भनिन्, ‘यसलाई जरैबाट निर्मूल पार्न स्थानीय तह पनि तातिनु पर्छ ।’


कानुनविपरीत विभिन्न तरिकाका दुष्प्रचार गरी विवाहको उमेर घटाउनेबारे गरिएको क्रियाकलापलाई स्थानीय तहले कानुनी दायरामा ल्याउनु पर्ने उनीहरूले बताए । स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि कार्ययोजना बनाई बजेट छुटयाउने, स्थानीय तहले माध्यमिक शिक्षामा बालबालिकाको पहुँच बढाउने र जोखिमबाट टाढा राख्नका लागि शिक्षासम्बन्धी विशेष प्याकेज ल्याउन पनि उनीहरूले माग गरे ।

आठै स्थानीय तहलाई बालविवाहमुक्त पालिका घोषणा गर्नका लागि किशोरी क्लब, बाल क्लबसँग सहकार्य गरेर सूचक निर्माण गरी सचेतनामूलक क्रियाकलाप गर्नसमेत उनीहरूको आग्रह छ ।

प्रकाशित : श्रावण २९, २०७६ १२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT