२४ वर्षदेखि पानी पर्खिंदै

अमृता अनमोल

बुटवल — साउन महिना पानीको मूल फुटने समय हो । हिउँदमा सुकेका मूल असार लागेपछि रसाउन थाल्छन् । यहाँ भने मध्य साउनमा पनि खानेपानीको हाहाकार छ । धारामा नियमित पानी आउँदैन । आउँदा पनि पर्याप्त हुँदैन ।

बुटवल उपमहानगरका दीपनगर, सुक्खानगर, देवीनगर, चाँदबारीमा पानीको धेरै अभाव छ । ‘धारामा कहिले पानी आउँछ टुंगो हुन्न,’ सुक्खानगरकी राधिका थापाले भनिन्, ‘बाह्रैमास पानी भर्न तीनकुने चोकको बोरिङमा जानुपर्छ ।’

सुक्खानगरको एभरेस्ट बोर्डिङ स्कुलनजिकैको उनको घरबाट तीनकुने पुग्न करिब २० मिनेट लाग्छ । स्कुलकी शिक्षिका उनी प्रत्येक दिन साँझ पानी लिन जाने गरेको बताउँछिन् । ‘एक–दुई घरमा होइन, टोलमै समस्या छ,’ उनले भनिन्, ‘यति ठूलो सहरमा वर्षौंदेखि पानीको चर्को समस्या छ ।’ घरमा पानी नआएपछि बुटवल–९, दीपनगरकी सीता भट्टराईको दैनिकी पनि कष्टकर बनेको छ ।

पश्चिम नवलपरासीको बर्दघाटकी उनले ६ वर्षअघि ९० लाख रुपैयाँ खर्च गरेर यहाँको आम्दा लाइनमा दुईतले घर किनेकी थिइन् । पानी अभाव साह्रै भएपछि अहिले घर बेच्न लागेको सुनाइन् । ‘ट्याकीमा पानी नचढेपछि पाँच वर्ष पहिले घरबाहिर खाडल खनेर पानी भर्ने बनाएकी थिएँ,’ उनले भनिन्, ‘त्यहाँ पनि नियमित आएन । अहिले तीनकुने बोरिङमा जान्छु ।’

बोरिङ र उनको घर आधा घण्टाको दूरीमा छ । ‘टाढा भएकाले दुई/तीन दिन बिराएर जान्छु,’ उनले भनिन्, ‘साह्रै दुःख छ । अटोरिक्सामा लोड गरेर पानी ल्याउँछु ।’ धारामा पानी नचढेपछि दीपनगर, शिवनगरलगायतका सबैका घरअगाडि खाडल खनेर पानी भर्ने धारा बनाइएका छन् । यो नियमविपरीत हो । तैपनि, नियमित खानेपानी दिन नसकेको खानेपानी संस्थानले केही गरेको छैन ।

बुटवल उपमहानगरपालिकामा मात्र दैनिक ३ करोड ५० लाख लिटर पानीको माग छ । बर्सेनि १० देखि १५ लाख लिटरका दरले माग बढिरहेको छ । खानेपानी संस्थानले तिनाउ र १९ वटा भूमिगत पानीका स्रोतबाट दैनिक २ करोड ७५ लिटर पानी आपूर्ति गरिरहेको छ । जति गर्मी बढदै गयो, त्यति नै खानेपानीको माग बढ्ने गर्छ ।

उपभोक्तालाई वितरण गरिने पानी भने घटदै छ । यसले दैनिकी कष्टकर हुने गरेको हो । अभाव टार्न विभिन्न खानेपानी आयोजना सुरु भएका थिए । ती पूरा नहुँदै अलपत्र परेका छन् । यहाँ २४ वर्षअघि पाल्पाबाट खानेपानी ल्याउने आयोजना सुरु गरिएको थियो । त्यसको मुहान करिब १५ किलोमिटर टाढा तिनाउ गाउँपालिकास्थित झुम्सामा रहेको छ । खानेपानी संस्थान, स्थानीय बासिन्दा र सरोकारवालाबीच समन्वय नहुँदा उक्त आयोजना अलपत्र परेको छ ।

यस अवधिमा पाल्पाबाट पानी ल्याउन तीनवटा आयोजना सुरु भएका थिए । अहिलेसम्म कुनैमा पनि सफलता मिलेको छैन । १७ करोड रुपैयाँ खर्च भइसकेका दुई आयोजना अलपत्र छन् । दोस्रो आयोजना ब्युँताउन सञ्चालन गरिएको तेस्रो पनि कागजमा सीमित छ । सबैभन्दा पहिला आर्थिक वर्ष ०५२/५३ मा सिस्ने–बुटवल खानेपानी आयोजना सुरु भएको थियो । पाल्पाको साबिक दोभान गाविसबाट दैनिक ५० लाख लिटर खानेपानी ल्याउने योजना थियो ।

उक्त आयोजना पाँच वर्षभित्र पूरा गर्ने सम्झौता थियो । साढे तीन करोड रुपैयाँ खर्च भएपछि त्यो अलपत्र छ । खानेपानी संस्थानले खरिद गरेका पाइपमा खिया लागेका छन् । तत्कालीन बुटवल नगरपालिकाका प्रमुख तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले स्थानीय निकाय जनप्रतिनिधिविहीन भएसँगै आयोजना अलपत्र परेको बताए ।

‘खानेपानी संस्थानले बजेट विनियोजन गर्‍यो तर फिल्डमा गर्नुपर्ने जिम्मेवारी पूरा गरेन,’ उनले भने, ‘दलीय प्रतिबद्धता र स्थानीयको विश्वास नजित्दा पनि आयोजना अलपत्र परेको हो ।’ खानेपानी संस्थानले हाइड्रोपावरका कारण आवश्यक पानी नपुग्ने भएकाले उक्त आयोजना सुरु गर्न नसकेको दाबी गरेको छ । पूरा गर्ने सम्झौता थियो । १० वर्षअघि सुरु उक्त आयोजना पनि अलपत्र छ ।

प्रकाशित : श्रावण २८, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

नेकपा संगठन र स्कुल विभागमा विवाद

आनन्द गौतम

ताप्लेजुङ — संगठन र स्कुल विभागमा विवाद देखिएपछि नेकपाको दोस्रो सचिवालय बैठकले पनि जिल्लाको संगठनात्मक संरचनालाइ पूर्णता दिन सकेन । साउन २४ र २५ गते बसेको बैठकले थप गृहकार्य गर्ने भन्दै विभाग गठनलाई थाँती राखेको हो । ६१ मध्ये ५६ वटा वडा कमिटीलाई भने अनुमोदन गरेको छ ।

महत्त्वपूर्ण मानिएका संगठन र स्कुल दुवै विभागमा पूर्व एमालेले दाबी गरको छ । पूर्व माओवादीले भने एक/एकवटा विभाजन गर्न प्रस्ताव गरेको छ । ‘हामीले व्यक्ति छानौं र जिम्मेवारी दिएर जाऔं भन्यौं,’ पूर्व एमालेका एक नेताले भने, ‘उहाँहरू (पूर्व माखोवादी) ले एउटा/एउटा बाँडौं भन्नुभयो त्यसमा कुरा नमिलेपछि थपगृहकार्य गर्ने भनेका छौं ।’

एमाले नेताहरू आफूहरूभन्दा सिनियर भए छोड्ने अन्यथा दुवै विभाग नछोड्ने मनस्थितिमा देखिएका छन् । नेकपा अध्यक्ष विजयप्रकाश वनेम भने केश फुलाएर मात्रै राजनीति नहुने तर्क गर्छन् । ‘राजनीतिको त्याग, तपस्या योगदान हरेक विषयको मूल्यांकन हुन्छ,’ उनले भने, ‘तर तेस्तो कुनै विवाद छैन गृहकार्य नपुगेकाले स्थागित भएको हो ।’

पूर्व एमालेले एक नम्बर निर्वाचन क्षेत्रको क्षेत्रीय संयोजक पनि नछोड्ने भएको छ । माओवादीले भने नरेश न्यौपानेलाई त्यो जिम्मेवारी दिने आश्वासन दिएको छ । नरेश र सुरज ओझाले दाबी गरेपछि सुरजलाई कार्यालय टिममा लगेको माओवादीले निर्वाचन क्षेत्रको जिम्मेवारी नरेशलाई दिन खोजेको हो ।

एमालेका ४ र माओवादीका ३ गरी नेकपाले ७ सदस्यीय कार्यालय टिम गठन गरेको छ । माओवादीवाट अध्यक्ष विजय प्रकाश वनेम, विष्णुकुमार हाङबाङ र सुरज ओझा रहेका छन । एमालेबाट बलबहादुर साम्सोहाङ, गोपाल थोप्रा, मात्रिकाप्रसाद भट्टराई र सन्तोष खतिवडा छन् । यसले पार्टीका कामलाई व्यवस्थित गर्ने उल्लेख छ ।

फुङलिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिकाका ५ वटा वडामाभने कमिटी गठन गर्न बाँकी रहेको छ । फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला बाहेकका वडामा वडा इञ्चार्ज तोकिएको अध्यक्ष वनेमले बताए । सह–इञ्चार्ज तोक्ने जिम्मेवारी भने गाउँपालिकालाई दिइएको छ । कमिटीका वरिष्ठ सदस्यमध्येवाटतोक्न भनिएको छ ।

भ्रष्टाचार बढेको ठहर
सरकारी तथा सार्वजनिक निकायमा सेवाग्राहीसँग घूस तथा कमिसन माग्ने, ढिलासुस्ती गर्ने जस्ता क्रयाकलाप बढेको निष्कर्ष नेकपा सचिवालय बैठकले गरेको छ ।

सचिवालयको बैठकले त्यस्ता कार्यलाई तत्काल नियन्त्रण गर्न सम्वन्धित निकायसँग माग पनि गरेको छ । कहाँ कसले कस्ता सेवाग्राहीसँग घूस मागे भन्ने विषय चाहिँ खुलाइएको छैन । यस विषयमा पार्टीका तर्फबाट सुक्ष्म अध्ययन भइरहेको र सार्वजनिक गर्ने अध्यक्ष विजय वनेमले बताए ।

प्रकाशित : श्रावण २८, २०७६ १०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्