३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गाईपालनमा ‘डिग्री होल्डर’

रूपा गहतराज

नेपालगन्ज — पढेलेखेका युवा कि जागिर खोज्छन्, कि त विदेश ताक्छन् । बाँके, कोहलपुर नगरपालिका–१२, चपरगौढीकी शारदा शर्माले भने पशुपालन रोजेकी छन् । शिक्षा संकायमा भारतको गुवाहाटी विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेकी उनले ०६८ सालदेखि यहाँ गाईपालन गरेकी छन् । यस्तो कामबाट आफू सन्तुष्ट भएको उनले बताइन् । 

गाईपालनमा ‘डिग्री होल्डर’

आमाबुबा गुवाहाटीमा ४५ वर्ष बिताएर डेढ दशकअघि मुलुक फर्किए । शारदा भने अध्ययन सकेर ०६६ सालमा यहाँ आएकी हुन्् । डिग्री पास गरेको प्रमाणपत्र दराजमा थन्क्याएकी उनले घाँस काट्ने, दूध दुहुने र गोबर सोहोर्ने काम गर्छिन् । ११ वर्षको उमेरदेखि गाईका बाच्छासँग हुर्किएकी उनको पशुप्रेम उदाहरणीय छ ।


‘सानैदेखि बाच्छाबाच्छीसँग हुर्किएँ । एक किसिमले म पशुप्रेमी हो,’ उनले भनिन्, ‘एउटा गाईबाट सुरु गरेको यो व्यवसाय अहिले फैलिएको छ ।’ उनको पुर्ख्यौली घर पर्वत हो । उनका आमाबुबा काम गर्न भारतको असम गए । उनी असमको गुवाहाटीमा जन्मिन्, हुर्किन् । आफन्तले बोलाएपछि उनी नेपाल आएकी हुन् ।


उनलाई जागिर खान जाँगर चलेन । भारतमा आमाबुबाले गाई पालेको सम्झन थालिन् । ०६८ मा शारदा सिर्जनशील गाई फर्म दर्ता गरिन् । ०७० मा १५ हजारमा एउटा गाई किनिन् । आवश्यक ज्ञान, सीप सिक्न थालिन् । त्यतिबेला उनले दुई लाख रुपैयाँ सरकारी अनुदान पनि पाइन् । उक्त अनुदानबाट गोठ सुधार गरिन् । अहिले उनीसँग होलिस्टेन र जर्सी गरेर दुई जातका १९ गाई छन् । ‘४६ वटा त बेचें । मेरा गाई मुगु, धनगढी, नेपालगन्जसम्म पुगेका छन्,’ उनले भनिन्, ‘कुनै काममा लगनशील भएर लागियो भने निराश हुनु पर्दैन ।’


अहिले उनी जिल्लाकै सफल कृषक मात्र होइन, गाईपालन गर्न चाहनेलाई आवश्यक सुझाव, सल्लाह अनि जानकारी दिने काम पनि गर्छिन् । गाईपालनका लागि सुझाव लिन दैनिक दर्जनौं मानिस आउने गरेको उनले सुनाइन् । ‘सल्लाह लिन आउनेलाई निःशुल्क सुझाव दिन्छु,’ उनले भनिन्, ‘अनुदानका लागि काम नगर्नूस्, इच्छाशक्ति भए काम गरेर अनुदान लिनूस् ।’ उनी सबैलाई राज्यको अनुदान सही रूपले प्रयोग गर्न सुझाउँछिन् ।


लिजमा लिएको ३ कठ्ठा जमिनमा उनले नमुना गाईपालन गरिरहेकी छन् । आफ्नै परिवारका सदस्यको सहयोगमा उनले गाई फर्म

चलाएकी हुन् ।


भारतमा हुँदा २ सय ६० वटासम्म गाई पाल्दा ६ जना कामदार थिए । ‘१९ वटा गाई पाल्दा सहयोगी मान्छे किन चाहियो भनेर आफैं काम गर्छु,’ उनले भनिन् । बिहान ५ बजे उठेदेखि साँझ ७ बजेसम्म उनको दैनिकी गाईसँगै बित्छ । परिवारकी साहिंली छोरी शर्मा कामलाई ठूलोसानो मान्दिनन् ।


‘जिन्दगीमा आत्मसन्तुष्टिभन्दा ठूलो कुरो केही छैन । म आफ्नो काममा रमाइरहेकी छु,’ उनले भनिन्, ‘आफ्नो कामसँग प्रेम भएपछि काम गर्दा दिक्क लाग्दो रहेनछ ।’ अहिले उनी गाईको दूध अनि मल बेचेर मासिक १ लाख ४० हजार रुपैयाँसम्म आम्दानी हुने बताउँछिन् । ‘खर्च कटाएर मासिक ६० हजार रुपैयाँ त बचत नै हुन्छ,’ उनले सुनाइन् ।


यस वर्ष प्रदेश ५ को राष्ट्रिय शिखर कृषक अवार्डका लागि शर्मा छनोटमा परेकी छन् । महिलाले कुनै काम गर्न नसक्ने भन्ने छैन, गर्छु भनेर लागेमा निराश हुनु नपर्ने उनले बताइन् । ‘सुरुमा लगानी नडुबाउनूस् । गाई किन्नुअघि गाई पाल्ने गोठ बनाउनूस,’ उनले भनिन्, ‘घाँस लगाएर गाई किन्नूस् । अरूको भरमा होइन, आफ्नै भरमा काम गर्नुस् । सफल नहुने कुरै छैन ।’

प्रकाशित : श्रावण २८, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?