कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महिलाले पढे नमाज

जिल्ला–जिल्लामा बकर इदको उल्लास 
मनोज पौडेल, रूपा गहतराज

कपिलवस्तु र  बाँके — कपिलवस्तु नगरपालिका–४, छोटकी तौलिहवाकी रुक्साना खाँ सोमबार बिहान नमाज पढ्न बडकी मस्जिद पुगिन् । रुक्साना र नयाँटोलकी अमिरुन खाँ नमाज पढेपछि खुसी देखिए ।

महिलाले पढे नमाज

इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो चार्ड बकर इदका दिन मस्जिद पुगेर महिलाले सामूहिक नमाज पढे । एकापसमा अँगालोमा बाँधिए । शुभकामना आदानप्रदान गरे । बालबालिकादेखि बूढापाकासम्मले खुसी साटासाट गरे ।


मुस्लिम समुदायका वाहावी सम्प्रदायका महिला मात्र नमाज पढ्न मस्जिद जाने गरेका छन् । कपिलवस्तु–१ स्थित इमाम अहमद बिन हम्मल मस्जिदमा ३ सयभन्दा बढी महिलाले नमाज पढेका थिए । महिलालाई पर्दा लगाएर छुट्टै नवाज पढ्ने व्यवस्था गरिएको थियो । ‘हामीले विरलै मात्र मस्जिद पुगेर नमाज पढ्ने अवसर पाउँछौं,’ रुक्सानाले भनिन्, ‘परिवारका लागि कामना गर्न पाउँदा खुसी लागेको छ ।’


कपिलवस्तु–१ बसपार्कस्थित इदगाहमा अहले सुन्नत सम्प्रदायका मुस्लिमलाई मदरसा नैमुल उलुमका मौलाना अलिहसन नजामीले धार्मिक विधिअनुरूप नवाज पढाए । यहाँका मुस्लिम समुदायले जिल्लाका इदगाहा, करबला र मदरसामा विशेष नवाज पढे । कतिपयले घरघरमा मिठाई र मासु पकाएर खुवाई खुसियाली साटासाट गरेर मनाए । सबेरै उठेर स्नान गरी इस्लाम धर्मावलम्बी नजिकका ईदगाहमा जम्मा भएका थिए । बकर इद मुस्लिम समुदायले हज र बलिदानका रूपमा मनाउँछन् ।


इदुलफित्रको ठीक २ महिना १० दिनमा मनाइने यो पर्वको ठूलो महत्त्व भएको मुस्लिम अगुवा हाजी मिर्जा अरसद बेगले बताए । अरू दिन फजिर, जोहर, अस्र, मग्रिव र इसाको नामबाट पाँचपटक नमाज पढिन्छ । तर, बकर इदको दिन पाँचपटकमा एउटा थप वाजिव नमाज पनि पढेर मुसलमान समुदायले आ–आफ्नो घरमा खसी, राँगा र भेंडा बलि दिई खुसियाली मनाउँछन् ।


बलि दिइएको मासु तीन भागमा बाँडी एक भाग गरिब, एक भाग इष्टमित्रलाई वितरण गरी एक भाग मासु आफ्नो परिवारले खाएर रमाइलो गरी पर्व मनाउने चलन छ । साढे ७ तोला सुन वा ५२ तोला चाँदी हुनेले अनिवार्य बलि दिनुपर्ने मुस्लिम अधिकारकर्मी रउफ अहमद खाँले बताए । त्यस्तै मक्का पुगेर हज गरेर आएकाका लागि बलि अनिवार्य रहेको छ । विपन्नलाई भने त्यस्तो अनिवार्य नगरिएको मौलाना मसहुद खाँ नेपालीले बताए ।


किंवदन्ती अनुसार चार हजार वर्षअगाडि अल्लाह दूत इब्राहिमकी पत्नी हजराबाट इस्माइल नामका एक सन्तान जन्मिएका थिए । तिम्रो सबैभन्दा प्यारो चीजलाई बलि देऊ भन्ने अल्लाहको आदेशलाई पालन गर्दा दूत इब्राहिमले आफ्ना छोरा इस्माइललाई मरुभूमिमा लगेर बलि दिन खाजेपछि उनको ठाउँमा दुम्बा (भेडाजस्तै चौपाया) बलिमा चढेको दिनको सम्झनामा बकर इद मनाउन लागेको मुस्लिम अगुवा असहद कमालले बताए ।


सामूहिक नमाज

मुस्लिम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा सोमबार बाँकेको नेपालगन्जस्थित बीपी चोकमा रहेको इदगाहमा मुस्लिम समुदायले सामूहिक नमाज पढे । नमाज पढेपछि एकापसमा शुभकामना आदानप्रदान गरे । सामूहिक नमाजमा सहभागी सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सामाजिक र धार्मिक सद्भावको नमुना नेपालगन्जबाट विश्वले पाठ सिक्नुपर्ने बताए ।


मुस्लिम समुदायलाई बकर इदको शुभकामना दिन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणालगायत विभिन्न राजनीतिक दलका नेता/कार्यकर्ता चोकमा पुगेका थिए । नेपालमा मनाइने अनेकन् चाडपर्वमध्ये इस्लाम धर्मावलम्बीको महान् पर्वमध्ये एक हो । यो पर्व मुस्लिम समुदायले तीन दिनसम्म धुमधामसँग मनाउँछन् ।


सोमबार हिन्दु धर्मावलम्बीको अन्तिम साउने सोमबार अर्थात् शिवभक्तको उच्च महत्त्वको पर्व बोलबम विसर्जनको दिन पनि हो । दुवै पर्वमा धर्मावलम्बीको चहलपहल हुने भएपछि सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासनले अन्तर धार्मिक सद्भाव समितिसहितको सुरक्षा बैठक गरेको छ ।


गत शुक्रबार निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायको अध्यक्षतामा विभिन्न धर्म सम्प्रदायका अगुवासँग बसेको बैठकले एकअर्काको धार्मिक संस्कार र रीतिरिवाजको सम्मान गर्ने समझदारी बनेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताए ।

प्रकाशित : श्रावण २८, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?