कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

छोराछोरीसँगै अभिभावक पनि विद्यालयमा

कान्तिपुर संवाददाता

बर्दिया — राजापुर नगरपालिका–१०, भगतपुरकी हरिकृष्णी थारु दुई सन्तान लिएर सार्वजनिक बिदाका दिन विद्यालय पुग्छिन् । कक्षा २ र ३ मा अध्ययनरत छोरी साधना र छोरा सलिनले पढेको अभिरुचिपूर्वक हेर्छिन् । उनीजस्तै राजापुर–१०, खैरीचन्दनपुरकी फूलमती थारु पनि दुई सन्तानका साथ विद्यालय जान्छिन् । 

हरिकृष्णी र फूलमतीमात्रै होइन, यहाॅका एक सयभन्दा बढी अभिभावक सार्वजनिक बिदाका दिन आफ्ना छोराछोरी लिएर विद्यालय पुग्छन् । युनेस्कोको सहयोगमा यहाँका दुई विद्यालयमा सार्वजनिक बिदाका दिन ‘घुम्ती पढाइ कुना’ सुरु गरिएको छ । चन्द्रोदय आधारभूत विद्यालय खैरीचन्दनपुर र जनजागृति प्राथमिक विद्यालय भगतपुरमा १ देखि ३ कक्षासम्मका बालबालिकालाई सार्वजनिक बिदाका दिन करिब चार घण्टा यसरी पढाउने गरिन्छ । विद्यालयमा रहेका रुखमुनि राखेर उनीहरूको रुचिअनुसार पढाइ हुन्छ ।


शिक्षकले पढाएको अभिभावकले रुचिका साथ सुन्छन् र नबुझेको कुरा विद्यार्थीसँगै अभिभावकले पनि सोध्ने गर्छन् । यस्ता कक्षामा बालबालिकालाई विद्यालयको पाठ्यक्रमसँगै सामान्य ज्ञान, संस्कारलगायत विषयमा जानकारी दिने गरेको जनजागृति प्राविका प्रधानाध्यापक दामोदर गौतमले बताए । ‘विद्यार्थीले शिक्षकलाई पनि आफ्नै अभिभावक ठानून् भन्ने उद्देश्यले यस्तो अभियान चलाइएको हो,’ उनले भने, ‘त्यसैले अभिभावकलाई बालबालिकासँगै घुम्ती कुनामा आउन आग्रह गरेका छौं ।’


थारु समुदायको बाक्लो बस्ती भएका कारण बालबालिकाले सहज बुझून् भन्दै यहाॅका शिक्षकले मातृभाषामा पढाउने गर्छन् । घुम्ती पढाइ कुनामा आउने बालबालिकालाई दिउँसोको खाजाबापत बिस्कुट, फलफूल दिइने गरिएको जनजागृति प्राविकी शिक्षक पुष्पा शाहीले बताइन् ।


युनिस्कोले यस कार्यक्रमअन्तर्गत सम्बन्धित विद्यालयलाई वार्षिक दुई लाख रुपैयाँ सहयोग दिने गरेको छ । युनिस्कोकी अनुगमन मूल्यांकन समिति संयोजक दीपा पौडेलले समुदाय स्तरमा अभिभावकले बालबालिकाको पढाइका लागि समय दिऊन् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताइन् ।

प्रकाशित : श्रावण २८, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?