कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

पहिरो पीडितका घर प्रदेश सरकारले बनाउने

कान्तिपुर संवाददाता

रुपन्देही — गुल्मीको सत्यवतीका गाउँपालिकामा पहिरोले घरबासविहीन भएका परिवारको पुनर्वासको जिम्मा प्रदेश सरकारले लिने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले भूगर्भविद्को प्रतिवेदन, पहिरोले बस्नै नमिल्ने गरी भत्किएका घरपरिवार र प्रदेश सरकारको अध्ययन टोलीले दिने प्रतिवेदनका आधारमा वास्तविक पीडित पहिचान गरी पुनर्वासका लागि पहल गर्ने बताएका हुन् । 

प्रभावित गाउँका नेकपाका नेताको प्रतिनिधि मण्डल बिहीबारदेखि प्रदेश सरकारका मुख्यमन्त्रीसहित अन्य मन्त्रीसँगको भेटघाटमा छ । भेटकै क्रममा स्थानीय सरकारले जग्गा व्यवस्थापन गरेको खण्डमा सरकारले आवास योजनामार्फत पुनर्वासको जिम्मा लिने मुख्यमन्त्रीले बताएको टोलीका संयोजक एवं विपत् व्यवस्थापन तथा पुनःस्थापना सहजीकरण उपसमिति संयोजक अमर सिजापतीले बताए ।


मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार मुख्यमन्त्री पोखरेलसहित सिंगो प्रदेश सरकार नै पहिरो प्रभावितको उद्धार, राहत तथा पुर्नस्थापनामा गम्भिर छ । ‘प्रभावितको पूर्ण तथ्यांक आएपछि पुर्नस्थापनाका लागि योजना बनाउने सरकारको तयारी छ,’ उनले भने, ‘विस्थापितका लागि एकिकृत बस्ती निर्माण गर्न प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त योजना गराउने गरी छलफल चलिरहेको छ ।’


स्थानीय सरकारले जग्गा व्यवस्थापन गर्न सके प्रदेश सरकारले आवास निर्माण गर्ने मुख्यमन्त्रीको धारणा रहेको उनले बताए । पहिरोबाट विस्थापितका लागि सत्यवती गाउँपालिका–४ लिम्घामा वडाकै पहलमा जग्गा व्यवस्थापनको काम भईरहेको वडा अध्यक्ष दानबहादुर रानाले बताए । ‘नजिकैको बारीमा एकिकृत बस्ती बसाउने गरी तयारी र छलफल भईरहेको छ,’ उनले भने, ‘एक साता भित्रै टुंगो लगाउँदैछौं ।’ लिम्घामा ३ घर पूर्ण क्षति र २१ घरमा बस्न नमिल्ने गरी क्षति भएका छन् । त्यस्तै ५५ घर उच्च जोखिममा छन् ।


त्यस्तै पहिरोबाट बढी प्रभावित भएको सत्यवती–३ ठुलो लुम्पेकमा पनि एकिकृत बस्तीका लागि सत्यवती–१ अस्लेवा र लुम्पेककै अर्को स्थानमा स्थानान्तरणका लागि प्रयास भईरहेको वडा अध्यक्ष रुकबहादुर रानाले बताए । ‘अस्लेवाको रामवारी वा लुम्पेककै चेमी, पाँहदीमा हुन सक्छ कि भनेर प्रयास गर्दै छौं,’ उनले भने, ‘गाउँका धेरै घर जोखिममा रहेकाले सुरक्षित स्थानमा एकिकृत बस्ती व्यवस्थापनका लागि पहल भईरहेको छ ।’ पहिरोले लुम्पकेमा १८ घर पूर्ण क्षति र ३ सय ७ घर उच्च जोखिममा छन् ।

प्रकाशित : श्रावण २५, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?