१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सहरदेखि गाउँसम्म ई–रिक्सा

वीरेन्द्र केसी

अर्घाखाँची — सदरमुकामदेखि दुर्गममा पर्ने सिद्धारामा जाने सडकमा अहिले नियमित सवारी चल्छन् । गत वर्ष असारमै ठप्प थियो । सन्धिखर्क–गोरुसिंगे सडकको चक्ला हुँदै सिद्धारा जाने सडकको हर्रेसम्म दुई लेनको ग्राभेल बाटो छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन एकाइको २४ करोड ७४ लाख ४९ हजार ९ सय रुपैयाँमा चक्लाबाट करिब ११ किमि हर्रे गाउँसम्म ग्राभेल सडक निर्माण भएपछि सानाठूला सवारी नियमित गुड्न थालेका हुन् ।


बस, जिप र अटोरिक्सा नियमित चलेपछि यात्रुलाई सजिलो भएको छ । जिल्लाको २७ प्रतिशत भूगोल ओगटेको तत्कालीन सिद्धारा गाविसलाई नयाँ संरचनामा शीतगंगा नगरपालिकाको ८, ९ र १० वडामा विभाजन गरिएको छ । अहिले यहाँ सानाठूला गाडीसँगै इलेक्ट्रोनिक रिक्सा चल्न पनि सुरु भएका छन् ।


सिद्धाराकै तीन युवाले ई–रिक्सा सञ्चालन गरेपछि अहिले अग्लो डाँडाकाँडा भएको चुचुरोबाट रिक्सा चलेका हुन् । ‘हिउँद लागेपछि मात्रै गाडी चढ्न पाइन्थ्यो । अहिले त वर्षामा पनि गाउँमै ई–रिक्सा चढ्न पाइने भएको छ,’ सिद्धाराका माधव पौडेलले भने, ‘त्यसले सुविधा थपिएको छ । गाउँबाट तरकारी, घिउ, खसीबोका, अदुवा, बेसार बजार पुगेको छ ।’ सडक निर्माणले आउजाउसँगै गाउँमा सामग्री ढुवानी गर्न, खाद्यवस्तु भित्र्याउन, गाउँमा उत्पादित वस्तु निर्यात गर्न र बिरामीलाई छिटो अस्पताल पुर्‍याउन राहत भएको उनले बताए ।


सिद्धाराका अधिकांश बस्तीका बासिन्दा हर्रे गाउँ हुँदै सन्धिखर्क–गोरुसिंगे सडक खण्डको चाक्ला जान्छन् । चाक्लाबाट सन्धिखर्क र तराई झर्छन् । हर्रेबाटै सीधै बुटवल र सन्धिखर्कका लागि बस छुट्छ । वर्षाका बेला यसरी गाडी र ई–रिक्सा यस वर्ष मात्र चलेको वडाध्यक्ष हिम्मत पोखरेलले बताए । सिद्धाराका तीनवटै वडामा ग्राभेल र पिच सडक पुर्‍याउन माग गर्ने उनले बताए । हर्रे, बर्रे गाउँमा हिउँद र वर्षामा मोटर र ई–रिक्सा चलेपछि दुर्गम बस्ती सुगम बन्दै छ ।


अन्य गाउँमा सडक अवरुद्ध छ । हर्रेबाट वर्षामा चाक्लासम्म गाडी रिजर्भ गर्दा चार हजार रुपैयाँ भाडा लिन्थ्यो, अहिले ई–रिक्साले पाँच सय रुपैयाँ भाडा लिन्छ, यसबाट जनतालाई सुविधा भएको पोखरेलले बताए । हर्रेदेखि चाक्लासम्म ११ किमि सडकमा रिक्सा चल्छन् । गाउँकै युवाले चलाएका रिक्सा पाएसम्म स्थानीय अरू गाडीमा चढदैनन् ।


सिद्धाराका टानबहादुर घर्ती, दामोदर रेश्मी र सुदन आचार्यले १० दिनदेखि रिक्सा गुडाएका छन् । एउटा रिक्सालाई ७ लाख ७० हजार रुपैयाँ लगानी भएको आचार्यले बताए । तीन व्यवसायीले सल्लाह गरेर छुट्टै स्थान निर्धारण गर्छन् । रिक्सामा चाक्लादेखि हर्रेसम्म दुई सय रुपैयाँ भाडा लाग्छ । बसले डेढ सय लिन्छ ।


आचार्य तीन वर्ष मलेसियामा काम गरी फर्केपछि यता लागे । रेश्मी र घर्ती गाउँमै बसेका थिए । ‘मलेसियाभन्दा यतै धेरै ठीक । परिवारसँग बस्न पाइयो,’ उनले भने, ‘खेतीपातीमा सघाउन पनि सकियो ।’ ग्राभेल गरिएको चाक्ला–हर्रे सडकको चौडाइ ६ मिटर छ ।

प्रकाशित : श्रावण २४, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?