कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

घरघरै स्वास्थ्य सेवा

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठान नगरपालिका–३, डाँडागाउँकी ७० वर्षीया शान्ता कुमाल चार छोरा भएर पनि अहिले एक्लै छन् । केही वर्षपहिले श्रीमानो निधन भएपछि उनी एक्लो भएकी हुन् । छोराबुहारीले नहेरेका कारण एक्लै बस्नु परेको र उपचार गर्न नपाएको उनले बताइन् ।

‘भिटामिन बी’को कमीका कारण कमजोरी भएको र शरीर थाम्नै गाह्रो हुने यो उमेरमा उनका आँखाबाट पानी बगिरहने अर्को समस्या थियो । हिंडन, उठबस गर्न र सुत्नसमेत सकस भएपछि उनी अस्पताल पुग्नसमेत सकेकी थिइनन् ।


त्यस्तै यहाँका ७१ वर्षीय बुद्धिराम कुमालको अवस्था पनि शान्ताको भन्दा फरक थिएन । जहिल्यै ज्वरो, खोकीले गर्दा शरीर शिथिल हुने समस्या थियो । नगद र सहयोगी मान्छेको अभावमा उनी पनि उपचार गराउन कतै जान पाएका थिएनन् ।


यी दुई प्रतिनिधि पात्र हुन् । डाँडागाउँको कुमाल समुदायका धेरैजसो मानिस उपचार गर्न घरबाहिरै निस्किंदैनन् । नजिकै साप्डाँडा स्वास्थ्य चौकी र प्यूठान अस्पताल भए पनि आर्थिक र चेतनाको अभावका कारण उपचार गराउन नजाने गरेको स्थानीयले बताए । यहाँ प्रायः ज्येष्ठ नागरिक रोग पालेरै जीवन बिताउँछन्।


प्यूठान नगरपालिकाले यस वर्षदेखि सञ्चालनमा ल्याएको ६० वर्ष कटेका वृृद्धवृद्धालाई घरदैलोमै निःशुल्क उपचार सेवा यहीँ गाउँबाट सुरु गरेको छ । सोमबारदेखि सुरु भएको यस सेवामा साप्डाँडा हेल्थपोस्टका सिनियर अहेव गोविन्द्र घिमिरे र सिनियर अनमि वसन्ता अधिकारीले घरदैलोमै पुगेर उपचार सुरु गरेका छन् ।


वर्षौं स्वास्थ्य परीक्षण नगराएका शान्ता र बुद्धिराम कुमालले पनि घरमै स्वास्थ्य परीक्षण गराएर औषधि लिएका छन् । उनीहरू मात्र नभएर गाउँभरका २५ जना ज्येष्ठ नागरिकलाई सोमबार घरदैलोमै पुगेर उपचार गरेको घिमिरेले बताए । ‘नगरपालिकाको कार्यक्रमअनुसार घरदैलोमा पुगेर उपचार गराउन थालेका हौ,’ उनले भने, ‘कार्यक्रमले स्वास्थ्य चौकीसम्म आइनपुगेका बिरामीलाई धेरै राम्रो भएको छ ।’ उनले महिनामा १० दिन घरदैलोमै पुगेर सेवा दिने कार्यक्रम स्वास्थ्य चौकीले बनाएको बताए ।


स्वास्थ्य समस्याले ज्यादै पछाडि रहेको डाँडागाउँ क्षेत्रबाट घरदैलोमै निःशुल्क उपचार सेवा सुरु गरिएको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । ‘अझै पनि गाउँघरका धेरै वृद्धवृद्धा विभिन्न रोग पालेर बसेका छन्,’ उनले भने, ‘हाम्रो कार्यक्रमले अवश्य पनि उनीहरूलाई राहत मिल्नेछ ।’


स्वास्थ्य चौकीबाट ३५ र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क पाइन्छ भन्ने जानकारीको अभावमा यहाँका स्थानीयले रोग पालेर बसेको कक्षपतिले बताए । उनले नगरभित्रका १० वटा स्वास्थ्य संस्थाका कर्मचारीबाट घरदैलोमै औषधिसहित उपचार सेवा पुर्‍याउने व्यवस्था मिलाएको बताए । केही दिनमै पालिकाभरका हरेक बस्तीमा घरदैलोमै निःशुल्क उपचार सेवा कार्यक्रम संचालन गरिने उनको दाबी छ ।


घरमै आएर उपचार गराई औषधि दिएकामा स्थानीय खुसी भएको वडाध्यक्ष प्रेम हमालले बताए । ‘अझै धेरै नागरिक स्वास्थ्य परीक्षण गर्नबाट बन्चित छन्,’ उनले भने, ‘त्यसैले वडाले पनि स्वास्थ्य परीक्षण गराउनु पर्छ भन्ने सचेतना जगाउने कार्यक्रमका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।’

प्रकाशित : श्रावण २२, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?