२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

जलेश्वरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल

कान्तिपुर संवाददाता

पाल्पा — रिब्दीकोट गाउँपालिका–५, रिब्दीकोट जलेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले अग्रसरता देखाएको छ । उसले जलेश्वर सिद्ध मन्दिर क्षेत्रमा वनस्पति उद्यान, धार्मिक गन्तव्य एवं पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अगाडि बढाएको हो । ‘पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना तयार गरेर अघि बढ्नेछौं,’ गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले भने, ‘त्यसअगाडि केही काम सुरुआत गरेका छौं ।’

सदरमुकाम तानसेनबाट २० किलोमिटर पश्चिममा पर्ने जलेश्वर क्षेत्र धार्मिक एवं ऐतिहासिक रूपमा परिचित छ । मौसम मापनका लागि सरकारले रिब्दीकोटमा राडर जडानको काम अघि बढाएको उनले बताए ।


प्रारम्भिक चरणमा यसको महत्त्व नबुझेर ओझेलमा परेको थियो । संघीय सरकारबाट केही वर्षअघि यस क्षेत्रको विकासका लागि १० लाख बजेट विनियोजन गरेर कामको सुरुआत भएको हो । त्यस्तै थप ७ लाख बजेट दिएको छ । साविकको कुसुमखोला गाविसले पनि जलेश्वरमा रहेको भवनमा टिनको छाना लगाएको थियो ।


स्थानीय तहको निर्वाचनपछि यसलाई चिनाउन सरसफाइ, तारबार, विभिन्न बिरुवा लगाउने, वनस्पति उद्यानका रूपमा अगाडि बढाउन नर्सरी राख्ने, मन्दिरलाई थप व्यवस्थित बनाउने काम भएको छ । अध्यक्ष जीसीका अनुसार बिरुवा उत्पादनका लागि हाइटेक टनेल निर्माण भएको छ ।


मन्दिरवरपरको क्षेत्रमा विभिन्न जातका बिरुवा लगाइएको छ । एभोकार्डो, टिमुर, वर, पीपल, तेजपात, लाकुरीलगायत तीन सय बढी बिरुवा यहाँ लगाइएको छ । पछिल्लोपटक गाउँपालिकाले सिद्ध मन्दिर क्षेत्रमा १ सय ८ पीपलका बिरुवा लगाएको छ । ‘हामीले यस क्षेत्रको धार्मिक विकास गर्न खोजेका हौं,’ अध्यक्ष जीसीले भने, ‘यस क्षेत्रको धार्मिक महत्त्व बढाउने काममा अब स्थानीय सरकारले सक्रियता देखाउनुपर्छ ।’ यस क्षेत्रको विकासका लािग स्थानीयका साथै प्रदेशले पनि सहयोग गरेको छ । गएको आर्थिक वर्षमा स्थानीय तहबाट ११ लाख रुपैयाँ सहयोग गरेको छ ।


प्रदेश सरकारले १५ लाख प्रदान गरेको छ । गाउँपालिकाको बजेटबाट जलेश्वर क्षेत्रको बाटो, पानी तान्ने पम्पलगायत खानेपानी व्यवस्थापन, मन्दिर वरपरको क्षेत्रको सरसफाइ, विभिन्न जातका बोटविरुवा लगाउने काम भएको छ । प्रदेश सरकारको बजेटबाट मन्दिर, शिवलिंगलगायत मूर्ति स्थापना भएको जलेश्वर विकास समितिका अध्यक्ष वेणिमाधव आचार्यले बताए ।


प्रदेशले हाइटेक टनेलका लागि पाँच लाख र त्यसमा गाउँपालिकाको एक लाख सहयोग गरेको छ । यहाँ यस क्षेत्रका लागि आवश्यक बिरुवा यही उत्पादन गर्ने योजना छ । जलेश्वर क्षेत्रमा तत्कालीन समयमा भारतबाट मुगलहरूको आक्रमण सहन नसकेर बुटवलको बाटो भएर रिब्दीकोट आएका सेनवंशीय राजाले यस क्षेत्रलाई आफ्नो राजधानी बनाएको इतिहास छ । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण स्थल जलेश्वर क्षेत्र विकासको ६५ रोपनी जग्गा छ ।


यहाँ विभिन्न किसिमका बिरुवा लगाउन सुरुआत गरेको रिब्दीकोट–५ का वडाध्यक्ष कृष्णबहादुर थापाले बताए । ‘यस क्षेत्रलाई धार्मिक साथै वनस्पति उद्यानका रूपमा विकास गर्ने योजना छ,’ उनले भने, ‘त्यसमा गाउँपालिका साथै प्रदेश सरकारले पनि सहयोग गर्नेमा विश्वस्त छौं ।’


यस क्षेत्रको विक्रम सम्वत् १३६३ सालदेखि १५६३ सम्म मुकुन्दसेन प्रथमले राज्य गरेको थलो भएको उनले बताए । ‘ऐतिहासिक साथै यहाँको वातावरण, वन तथा जैविक विविधतामा समेत परिवर्तन हुनु आवश्यक छ,’ यसका जानकार कुसुमखोलाका माधव आचार्यले भने, ‘यसलाई धार्मिक, पर्यटकीय स्थलका रूपमा विकास गर्न जरुरी छ ।’


रिब्दीकोट गाउँपालिकाले यस क्षेत्रमा विभिन्न जातका लालीगुराँस, एभोकार्डो, कागती, टिमुर, ओखर, कटहर, तेजपात र स्थानीय जातका बिरुवा लगाउने प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले बताए । ‘यस क्षेत्रको चौतर्फी विकासका लागि अभियान थालेका छौं,’ उनले भने, ‘यसका लागि अघिल्लो वर्ष पनि सहयोग भएको र यस वर्ष पनि थप काम हुनेछ ।’

प्रकाशित : श्रावण २०, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?