दूध उत्पादनमा दुई र ढुवानीमा तीन रुपैयाँ अनुदान

अमृता अनमोल

(बुटवल) — प्रदेश सरकारले दूध उत्पादनमा लागेका किसानलाई झन्डै ५ रुपैयाँसम्म उत्पादनमा आधारित अनुदान दिन थालेको छ । त्यसले उत्पादन लागतअनुसार मूल्य नपाएका किसान उत्साहित छन् । 

रूपन्देहीको तिलोत्तमाका किसान दूध बेच्न लैजाने तयारीमा । तस्बिर : अमृता/कान्तिपुर

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसान समूह, कृषि सहकारी संस्था तथा निजी कम्पनीमार्फत दूध उत्पादनमा १ रुपैयाँ ९९ पैसा र ढुवानीमा ३ रुपैयाँ अनुदान दिन थालेको हो । यसबाट गत वर्ष प्रदेशका एक लाख बढी किसान लाभान्वित भएका छन् । प्रदेशका २६ दुग्ध उत्पादक सहकारी संस्थाले उत्पादनमा आधारित अनुदान पाएका छन् ।

मन्त्रालयले १२ जिल्लाका धेरै दूध उत्पादन गर्ने सहकारी छनोट गरी २ करोड ४९ लाख ४४ हजार रुपैयाँ अनुदान वितरण गरेको हो । पशुपक्षी महाशाखा प्रमुख प्रदीप शर्माले यसले दूध उत्पादक किसानलाई प्रोत्साहन पुगेको बताए ।

प्रदेशका १२ कृषि सहकारी संस्था तथा किसान समूहलाई मिल्क ट्यांकर पनि प्रदान गरेको छ । हरेक जिल्लाबाट एक संस्था छनोट गरी ५० प्रतिशत अनुदानमा ट्यांकर वितरण गरेको हो । सहज ढुवानीले किसानको लागत मूल्य ३ रुपैयाँ घटनेछ । मन्त्री आरती पौडेलले दूधको बजारीकरण गरी लागत कम गर्न ५० प्रतिशत अनुदानमा ३५ लाखदेखि ५१ लाख रुपैयाँ पर्ने ट्यांकर वितरण गरेको बताइन् । ‘किसानको आयस्रोत बढाउन उत्पादन भएको दूधको सहज बिक्री वितरण आवश्यक रहेछ,’ उनले भनिन्, ‘त्यसैले उनीहरूकै मागअनुसार मिल्क ट्यांकर अनुदान दिएका हौं ।’ यसले मिल्क होली डे रोक्नसमेत सहयोग पुग्ने उनले बताइन् । सरकारी लगानीका लुम्बिनी दुग्ध वितरण आयोजना बुटवल, कोलहपुर दुग्ध वितरण आयोजना बाँके र निजी स्तरको टुविन्स माइक्रो डेरी उद्योग कपिलवस्तुले ९/९ हजार लिटर दूध बोक्ने ट्यांकर अनुदान पाएका छन् ।

रोल्पा नगरपालिकासहित रूपन्देहीको सालझन्डी दुग्ध उत्पादक सहकारी, बर्दियाको भगवती दुग्ध उत्पादक सहकारी, दाङको नीलकमल सामाजिक महिला उद्यमी समूहलगायत ७ वटाले ६ हजार लिटर र २ वटाले ३ हजार लिटर क्षमताका ट्यांकर पाएका हुन् ।

सरकारले दुई वर्षभित्रमा दूध तथा दूग्धजन्य पदार्थमा आत्मनिर्भर बन्ने घोषणा गरेको छ । त्यसका लागि प्रतिदिन ४ लाख ९ हजार ४ सय ३४ मेट्रिक टन दूध आवश्यक छ । तर अहिले ३ लाख १७ हजार ३ सय ३३ मेट्रिक टन दूध उत्पादन भइरहेको छ । सचिव बैकुण्ठ अधिकारीले दूध उत्पादन बढाउनकै लागि उत्पादनमा आधारित अनुदान र सहकारीमार्फत उत्पादित बस्तुको बिक्री र बजारीकरण थालेको बताए । धेरै दूध उत्पादन गर्ने १२ सहकारीलाई ५० प्रतिशत अनुदानमा पिकअप गाडी वितरण गरेको छ । यी गाडीले दैनिक २० हजार लिटर दूध बजार पुर्‍याउने आकलन छ । प्रतिदिन ५० हजार लिटर दूध संरक्षण गर्न प्रदेशमा २८ दूग्ध चिस्यान केन्द्र स्थापना भएका छन् ।
दूधको उत्पादन बढाउन बजारीकरण र विविधीकरण आवश्यक छ । रूपन्देही डेरी व्यवसायी संघका अध्यक्ष नेत्र पाठकले सरकारले दूधको उत्पादन र बजारीकरणका लागि प्रशोधनमासमेत ध्यान दिनुपर्ने बताए ।

प्रकाशित : श्रावण १९, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्

कक्षा १ मै फर्रर नेपाली

माधव अर्याल

(पाल्पा) — तिनाउ–३, झुम्सा श्रीडाँडाको सिर्जना आधारभूत विद्यालयकी विद्यार्थी रचना दर्लामी कक्षा २ मा पढ्छन् । कक्षा १ मै नेपाली भाषा फर्रर पढ्न सक्ने भएकी थिइन् । ९० मिनेटको नेपाली भाषाको पिरियड लिएकी दर्लामी अहिले कक्षा २ मा आइपुग्दा अझ राम्रोसँग नेपाली भाषा पढ्न सक्ने भएकी छन् ।

‘पहिला यस्तो पढाइ हुन्नथ्यो,’ उनले भनिन्, ‘अहिले मैले सबै नेपाली अक्षर पढ्न सक्ने भएकी छु ।’ उनको कक्षामा मगर समुदायका बालबालिका मात्रै छन् । उनीहरू सबैले कक्षा १ देखि नै नेपाली भाषा पढाइ सिक्दै आएका हुन् ।

अर्की विद्यार्थी हेमकुमारी दर्लामी पनि नेपाली भाषा फर्रर बोल्छिन् । नेपाली अक्षर पढ्नलाई कुनै समस्या नभएको उनले बताइन् । यसरी सानो कक्षामा नै उनीहरू नेपाली भाषा सजिलोसँग पढेपछि सिकाइ उपलब्धि पनि बढाएको छ । ‘हाम्रा दाजुहरूले कक्षा ४ मा पढ्ने र हामीले अहिले पढ्ने तरिका उस्तै छ,’ उनले भनिन्, ‘हामीलाई पढ्न सिकाउनुभयो र सोही अनुसार पढ्दा सजिलो भएको छ ।’ नेपाली भाषाको उच्चारण, पढ्ने शैली, शब्द चयनलगायत विषयमा जान्ने भएको विद्यार्थी दर्लामीले बताइन् ।

प्रारम्भिक कक्षाका बालबालिकामा पढ्ने सीप र बानीको विकास गर्न सिर्जना आधारभूत विद्यालयमा साक्षरता कक्षा लागू भएको छ । रुम टु रिड र पछौटेपन उन्मूलन समाज (बेस) नेपालले लागू गरेको यस्तो कक्षाले विद्यार्थीलाई पढ्ने सीप र पढ्ने बानीको विकास गराएको हो । मुलुकका २० जिल्लामा शिक्षा मन्त्रालयले पनि यस्तै कार्यक्रम सुरु गरेको छ । जसअनुसार कक्षा १ र २ मा नेपाली भाषाको पिरियडलाई ९० मिनेट बनाइएको छ । कक्षा कोठामा पुस्तक कुनाको व्यवस्थापन भएको छ । हरेक कक्षालाई साप्ताहिक रूपमा पुस्तकालय घन्टी छुटयाइने गरेको रुम टु रिडका कार्यक्रम सहायक तपेन्द्र ओलीले बताए । ‘विद्यार्थीलाई पढ्ने बानीको विकास गर्नुका साथै उनीहरूलाई नेपाली भाषा सिकाउने गरिएको छ,’ उनले भने, ‘त्यसैले पनि यसले विद्यार्थीको सिकाइ उपलब्धिलाई बढाएको छ ।’ यसले सरकारको ‘एक विद्यालय एक पुस्तकालय’ कार्यक्रमलाई नै सहयोग गरेको छ ।

सुरुमा शिक्षकलाई ९० मिनेट पढाउन निकै समस्या थियो । तर, विस्तारै यस विषयमा जानकारी बढदै जाँदा समय गएको पत्तो नै हुन छाडेको सिर्जना आधारभूत विद्यालयका भाषा शिक्षक मीमराज उपाध्यायले बताए । ‘सुरुसुरुमा पढाउन गएपछि ९० मिनेट बिताउँदा पसिना नै आउँथ्यो,’ उनले भने, ‘अहिले समय गएको पत्तै हुँदैन ।’

विद्यालयका प्रधानाध्यापक श्रीभन्द्र गौतमले कक्षा १ मा पढ्ने विद्यार्थीले यसरी नेपाली भाषा पढ्न सक्छ भन्ने नै नलागेको बताए । ‘कक्षा २ मा मात्रै अक्षर चिन्न थाल्ने गर्थे,’ उनले भने, ‘अहिले कक्षा १ मै यति राम्रो नेपाली उच्चारण गर्छन् कि हामी पनि अचम्मित भएका छौं ।’ विद्यार्थीले अक्षर चिनारी, बेअर्थी शब्द पठन, अनुच्छेद पठन, बोधमा पनि सुधार आएको विद्यार्थी सिकाइ मूल्यांकनको नतिजाले देखाएको उनले बताए । यही ढंगको पढाइलाई निरन्तरता दिनुपर्ने उनले बताए । कक्षा अवलोकनमा पुगेका गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले पढाइको गुणस्तर र सिकाइ उपलब्धि बढाउन भाषा कक्षा सहयोगी भएको बताए । कक्षा ५ मा पढ्ने विद्यार्थी बराबर कक्षा २ मा पढ्ने विद्यार्थीले फर्रर नेपाली पढेको देखिएको उनले बताए । ‘यस्तो कार्यक्रम सबै विद्यालयमा लागू गर्नुपर्ने अवस्था देखियो,’ उनले भने, ‘सिकाइको गुणस्तर बढाउन सहयोगी बन्ने भएकाले गाउँपालिकाले पनि यस विषयमा छलफल गर्नेछ ।’ नेपाली भाषाको जग नै शिक्षाको पहिलो खुडकिलो भएकाले यसलाई राम्रो बनाउन पालिकाले सोंच बनाउने उनले बताए ।

गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले कक्षा १ देखि नै नेपाली भाषा राम्रो बनाउनमा यसले सहयोग पुगेको बताइन् । वडाध्यक्ष प्रेम पाण्डेय र गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले पढाइको गुणस्तर वृद्धि गर्न यस्तो कार्यक्रमको महत्त्व रहेको बताए । तिनाउ गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले यस्ता कार्यक्रमलाई दिगोपनाका लागि समस्या भएको बताइन् । उनले स्थानीय तहले सहयोग गर्ने हो भने यसलाई आगामी दिनमा पनि निरन्तरता दिन सकिने बताइन् । पूर्वस्रोत व्यक्ति गोपाल कुँवरले नेपाली भाषाको कक्षा र पुस्तकालय सँगै लगेपछि विद्यार्थीको सिकाइ उपलब्धिमा समेत फरक परेको बताए । रुम टु रिडले तिनाउ गाउँपालिकाअन्तर्गत ७ विद्यालयका प्रतिविद्यालय नौ जना शिक्षकको पेसागत क्षमता बढाएको छ । कक्षा १ र २ तथा विद्यालय पुस्तकालय कक्षाकोठा व्यवस्थापन गरी सिकाइ वातावरण निर्माण भएको बेसका पुस्तकालय कार्यक्रम संयोजक प्रकाश पाण्डेयले बताए । उनका अनुसार वर्षको दुईपटक कक्षा १ र २ का अभिभावकसँग बालबालिकाको सिकाइ सुधारसम्बन्धी अभिभावक बैठक राख्ने गरेकाले अझै सहज भएको बताए ।

प्रकाशित : श्रावण १९, २०७६ १२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्