ठूला घर : पार्किङ न आँगन

प्रदेश ५ को राजधानी बुटवलमा ठूला घर निर्माण बढिरहेको छ । बस्ती बाक्लिँदा खुला स्थानको अभाव छ । सडकमा जोडेर घर निर्माण गरिएका छन् 
सन्जु पौडेल

रूपन्देही — बुटवलस्थित राममन्दिर लाइनकी अमृता पंगेनीलाई सहरमा घर भएकामा जति खुसी छ, त्यसभन्दा बढी चिन्ता । दिनरात गाडी गुडिरहने सडक किनारमा घर बनाएकामा कहिलेकाहीं त पछुतो पनि लाग्छ उनलाई ।

ठूला घर : पार्किङ न आँगन

कक्षा २ मा पढ्ने छोरी साधना घरबाहिर खेल्न निस्किएपछि उनको मुटु बढी चल्छ, डर सुरु हुन्छ । ‘बच्चाबच्ची खेल्ने आँगन छैन,’ उनले भनिन्, ‘घर बाहिर नजाऊ भन्यो छोरी मान्दिनन् ।’


व्यस्त ठाउँमा घर बनाएर गल्ती पो गरियो कि भन्ने उनलाई लाग्छ । छोराछोरी हुर्काउन खेल्ने ठाउँ भएकै घर चाहिने उनले बताइन् । थोरै क्षेत्रफलमा घर भएकाले खेल्ने ठाउँ अभाव छ । बालबालिका पनि मोबाइलमा धेरै समय भुल्छन् । उनका छिमेकीलाई यस्तै समस्या छ । स्थानीयका लागि घरका कोठा संसार बनेका छन् । खाने, खेल्ने र सुत्ने त्यहीँ गर्नुपर्छ ।


मिलनचोककी कमला न्यौपानेकी छोरी सदीक्षा सडकमा खेलिरहेकी थिइन् । गल्लीमा घर भएकाले मुख्य सडकको जस्तो जोखिम थिएन । खेलिरहेकी उनकी छोरीलाई मोटरसाइकलले ठक्कर दियो । मोटरसाइकल देखेर भाग्ने क्रममा दुर्घटना भएको थियो । उनलाई चोट लाग्यो र अस्पताल लगियो । त्यसयता सदीक्षा घरभित्रै टीभी र मोबाइल हेरेर समय कटाउँछिन् । दुर्घटनाले घरभित्र सीमित गराएको आमा कमलाले बताइन् ।


‘समाजसित घुलमिल गराउन सहरको बसाइँमा गाह्रो रहेछ,’ उनले भनिन्, ‘बाहिर खेल्ने ठाउँ नहुँदा केही जानकारी नहुने रहेछ ।’ बालबालिकालाई समाज चिनाउन र बाहिरी खेलमा जुझारु गराउन घर अगाडि स्थान जरुरी रहेको उनले सुनाइन् । प्रदेश ५ को राजधानी बुटवलमा अहिले ठूला घर निर्माण बढिरहेको छ । बस्ती बाक्लिँदा खुला स्थानको अभाव छ । सडकमा जोडेर घर निर्माण गरिएका छन् ।


यस्तो समस्या देखेपछि मुख्यमन्त्री शंकर पोखरेलले एक कार्यक्रममा स्थानीयलाई ग्रामीण क्षेत्रमा आवास बनाउन सुझाव दिएका थिए । सहरमा व्यावसायिक प्रतिष्ठान सञ्चालन गर्न र गाउँमा निर्धक्क बस्न उनले अनुरोध गरे । अहिले यहाँका मुख्य, सहायक र भित्री सडक पार्किङस्थल बनेका छन् । दुवैतिर कार, जिप, मोटरसाइकल र स्कुटीको अव्यवस्थित पार्किङले सडक साँघुरा भएका छन् ।


पैदल हिंडडुलदेखि सडक पार गर्दा दुर्घटनाबाट जोगिनुपर्छ । यहाँका सडक फराकिला छन् । जथाभावी पार्किङले सहर कुरूप बनाएको छ । पार्किङले साँघुरो बनाएकाले गाडी चलाउनसमेत जोखिम रहेको गाडी चालक प्रकाश सुनारले बताए । ‘जहाँ पायो त्यही ठाउँमा गाडी राख्ने गरेका छन्,’ उनले भने, ‘सडक पार्किङ स्थल हो कि गाडी चलाउने स्थान छुट्याउ सकिन्न ।’ लापरबाही गरेर पार्किङ गर्दासमेत प्रहरी र उपमहानगरले केही गर्न नसकेको उनले बताए ।


फुटपाथमा पार्किङ गर्दा पैदल यात्री र व्यापारीलाई समस्या परेको छ । ‘गाडीले ग्राहक आउने बाटो छेक्दा राम्ररी व्यापार गर्न पाइँदैन,’ ट्राफिक चोकका व्यापारी रामप्रसाद पोख्रेलले भने, ‘गाडीले पसल छेकिदिन्छन् ।’ सडक पेटीमा राखिएका मोटरसाइकल र स्कुटीले पैदल यात्रीलाई हिंडन समस्या हुने उनले बताए ।


पहिले छिट्टै गन्तव्यमा पुगिने ठाउँसम्म जान अहिले घण्टौं समय खर्चिनुपर्ने अवस्था रहेको उनले बताए । पहिले पार्किङले समस्या थिएन । अहिले गाडीको चाप धेरै भएकाले कठिनाई भएको उनले बताए । हिंडडुल गर्ने यात्रु एकापसमा ठोक्किनुपर्ने अवस्था छ । क्षेत्रगत पार्किङको स्थान तोक्नुपर्ने उनले बताए ।


यहाँको लुम्बिनी प्रादेशिक अस्पताल आसपास चिकित्सक र बिरामीका सवारी साधनले मुख्य सडक अस्तव्यस्त हुने गरेको छ । नजिकै रहेका नीजि अस्पतालको पार्किङ क्षेत्र छैन । सबैले सवारी साधन सडकमै राख्ने गरेका छन् । अस्पतालको मुख्य गेटसम्म गाडी पार्किङ गरिएको हुन्छ । यसले दुर्घटना निम्तिने गरेको छ ।


अव्यवस्थित पार्किङ रोक्न प्रयास भइरहेको प्रदेश ५ ट्राफिक प्रहरी नायव उपरिक्षक रामप्रकास शाहले बताए । अहिले टोली खटाएर अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारी साधन सिक्रिले बाँध्ने, जरिवाना काट्ने जस्ता कारबाही भइरहेको उनले बताए । कारबाही मात्र समाधान नभएकाले सम्बन्धित निकायले ट्राफिक व्यवस्थापनका लागि योजना बनाउनु पर्ने बताए ।


केहीदिनमा मुख्य चोकमा जडान हुने सिसिटिभी क्यामराको सहयोगले व्यवस्थापन सजिलो हुने उनले बताए । प्रहरीले मुख्य चोकमा बढी केन्द्रित भएर काम गर्नुपर्ने भएकाले भित्री सडकमा हुने अव्यस्थित पार्किङको निरुत्साहन र रोकमा समस्या सृजना भइरहेको उनले बताए । साथै स्थानीय भन्दा बाहिरबाट आउने साधनले गर्दा पार्किङ अव्यवस्थित भइरहेको उनको भनाइ छ ।


पार्किङ व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाले कार्यदल गठन गरेर सम्भावित स्थान छनौट गरेर प्रतिवेदन बुझाएको कार्यदलका सदस्य सचिव शिवनारायण शाहले बताए । ‘पटक–पटक बैठक बसेर सरोकारवाला पक्षसित छलफल गरेर प्रतिवेदन बुझाइयो,’ उनले भने, ‘सम्भावित क्षेत्रमा कसरी पार्किङ व्यवस्थित गर्ने भन्नेबारे निर्णय हुनेछ ।’


बुटवल उपमहानगरपालिकाले मुख्य सडक क्षेत्र भित्र गरिने पार्किङलाई निरुत्साहित गर्ने र व्यवस्थित गर्न सकिने ठाउँको हकमा व्यवस्थापनमा निजी क्षेत्र, स्थानीय क्लव, संघसंस्थाको सहकार्यमा वडातहबाटै शुल्क संकलन गर्ने र व्यस्थापन गर्ने भनी राजपत्रमा उल्लेख गरेको जनाएको छ ।

प्रकाशित : श्रावण १८, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?