जुकाले रोक्यो विद्यार्थी

टिम्मुर, नुनखुर्सानी पिसेर चिउरीको घिउ मोलेर दल्दासमेत डस्न छाडेनन्
गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठान नगरपालिका–१० पातिहाल्नाकी १० वर्षीय चन्द्रा घर्ती स्थानीय राष्ट्रिय प्राविमा कक्षा ४ मा अध्ययन गर्छिन् । वर्षाका बेला विद्यालय जान सहज छैन । बाटोमा जुकाले डस्ने गरेकाले नियमित विद्यालय जान समस्या छ ।

प्यूठान नगरपालिका–१०,पातिहाल्नास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको बाल विकास केन्द्रमा अध्ययनरत विद्यार्थी । तस्बिर : गिरुप्रसाद/कान्तिपुर 

जेठ लागेपछि जुकाका कारण विद्यालय जाँदा जुत्ता लगाउँन छाडेको घर्तीले बताइन् । ‘बाटामा स्याउँस्याउँ जुका हुन्छन्,’ उनले भनिन्, ‘विद्यालय आउँजाउँ गर्दा खुट्टा रगताम्य हुन्छन् । जुत्ता लगाउँदा नदेखिने भएकाले धेरै रगत चुस्छन् ।’

जुकाबाट छुटकारा पाउन बाबा/मम्मीले टिमुर पिसेर खुट्टामा लगाउने गरेको उनले बताइन् । तैपनि जुकाले टोक्न नछाडेको उनले बताइन् । स्थानीय ९ वर्षीय महेश विकले जुकाले सताएको बताए । ‘जुकाले नटोकेको दिन हुँदैन,’ उनले भने, ‘नदेखेका जुका रगत खाएर ढाडिएर खस्छन् ।’

जुका लागे/नलागेको थाहा पाउन एक अर्काको खुट्टामा हेर्दै विद्यालय आउने/जाने गरेको उनले बताए । ‘सुस्त हिँड्दा झन् जुका लाग्छ,’ उनले भने, ‘त्यसैले छुट्टी भएपछि दगुर्दै घरमा पुग्नुपर्छ ।’ जुकाले टोकेर तीन ठाउँमा घाउ बनाएको उनले बताए । पातिहाल्नामा अध्ययन गर्ने सबै विद्यार्थीलाई जुकाले हैरान बनाएको छ ।

वर्षाका बेला धेरै जुका लाग्ने भएकाले विद्यार्थी नियमित नहुने प्रधानाध्यापक दीपकलाल श्रष्ठेले बताए । ‘जुकाले टोकेर विद्यार्थी विरामी परिहाल्ने अवस्था हुँदैन,’ उनले भने, ‘टोकेको ठाउँमा चिलाएर घाउ बन्छ ।’ नियमित एकै ठाउँमा डसेमा घाउ ठूलो हुँदै पाकेर समस्या पार्ने गरेको श्रेष्ठले बताए । डाँडामा विद्यालय रहेकाले बाटोमा जुका लाग्ने गरेको उनले बताए । ‘धेरै विद्यार्थीलाई जंगलको बाटो भएर आउनुपर्छ,’ उनले भने, ‘सबैले गुनासो गर्दछन् ।’ गहतेरा, पातीहाल्ना, बुकेनी, क्षेत्रमा बढी जुका लाग्ने गरेको उनले बताए ।

घाम लागेका बेला जुका कम लाग्छन् । ठूला कक्षाका केटाकेटीलाई भन्दा बाल विकास केन्द्रमा अध्ययन गर्ने केटाकेटीलाई बढी जुकाले टोकेर समस्या पार्ने गरेको सहजकर्ता राधा थापाले बताइन् । ‘हिउँदमा बाल विकासमा २० बालबालिका हुन्छन्,’ उनले भनिन्, ‘वर्षामा अभिभावकले लिएर आए भने हो नत्र, जुकाको डरले केटाकी आउनै मान्दैनन् ।’ अहिले ८/९ जना मात्र विद्यार्थी नियमित आउने गरेको थापाले बताइन् । ‘कक्षाकोठामा रातै खुट्टा बनाएर आएका हुन्छन्,’ उनले भनिन्, ‘डरले जुका फाल्न सक्दैनन् ।’ मेडम जुका लाग्यो भन्दै आएका छात्रछात्राको जुका फालिदिएर टोकेको स्थानमा औषधि लगाइदिने गरेको थापाले बताइन् ।

‘वर्षामा जुका लाग्नु सामान्य हो,’ उनले भनिन्, ‘यसले हाम्रो विद्यालयमा विद्यार्थी नियमित गराउन समस्या पारेको छ ।’ उनले अभिभाबलाई केटाकेटी विद्यालय पठाउदा टिम्मुर, नुनसुर्सानी पिसेर चिउरीको घिउ मोलेर खुट्टामा लगाइदिएर पठाउन सुझाउने गरेको बताइन् । कहिलेकाहीं त कक्षा कोठामै पढाउदा पढाउदै समेत जुका आएर विद्यार्थीलाई टोक्ने गरेको थापाले बताइन् ।

बर्खामा जुका लाग्ने, बाढीपहिरो आएर हिँड्ने बाटो बिगार्ने समस्याका कारण बर्खे बिदाको व्यवस्था गरेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शिव पण्डितले बताए । ‘जिल्लाको अन्य स्थानीय तहमा १ महिना बर्खे बिदा गरिसकेका छन्,’ पण्डितले भने,‘ प्यूठान नगरपालिकामा साउन १२ गतेबाट बिदा गर्ने भन्ने सुनेको छु ।’ उनले प्यूठान नगरपालिकाको पातिहाल्नामा मात्र नभएर जिल्लाका सबै पहाडी क्षेत्रमा रहेका विद्यालयहरूमा बर्खामा जुका लाग्ने समस्या रहेको बताए ।

प्रकाशित : श्रावण ६, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्

लोकल कुखुरा बढाइँदै

माधव अर्याल

पाल्पा — यहाँका स्थानीय तह लोकल (स्थानीय जात) कुखुरा संरक्षणमा लागेका छन् । जतासुकै ब्रोइलर, कोइलर लगायत विकासे कुखुरापालन बढेपछि स्थानीय तहले लोकल जोगाउन सुरु गरेको जनाएका हुन् ।

माथागढी, तिनाउ, रम्भा लगायतका गाउँपालिकाले यस्तो अभियान थालेको हुन् । ‘स्थानीय जातको कुखुराको माग अत्यधिक छ,’ तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले भने, ‘यसलाई जोगाउनेतर्फ कसैको ध्यान पुगेको छैन ।’ गत वर्षदेखि यसमा बजेट विनियोजन गरेर सहयोग गर्दै आएको उनले बताए ।

बुटवल बजार नजिक भएकाले तिनाउका वडामा यस्ता कुखुराको माग बढी छ । उन्नत जातका कुखुराको उत्पादन बढेसँगै स्थानीय कुखुरा हुन थालेपछि संरक्षणमा सहयोग गरिरहेको उनले बताए । माथागढी गाउँपालिका पनि त्यसको संरक्षण र प्रवर्द्धनमा जुटेको छ ।

आठ वडा रहेको गाउँपालिकाले स्थानीय जातका कुखुरा प्रवर्द्धनका लागि सबै वडाका कृषकहरूलाई निःशुल्क रुपमा चल्ला वितरण गरेको छ । उसले यसवर्ष १ जार ५ सय चल्ला बितरण गरेको हो । ‘यसबाट रैथाने जातका कुखुरा प्रवर्द्धनमा सहयोग पुग्नेछ भन्ने लाग्छ,’ गाउँपालिका अध्यक्ष सन्तोष थापामगरले भने, ‘आम्दानीको स्रोत र आफैलाई पनि फाइदा पुग्ने भएकाले पनि सहयोग गरेका हौं ।’

उन्नत जातका कुखुराबाट छोटो समयमा धेरैं उत्पादन लिन सकिन्छ । थोरै दानामा पनि धेरै उत्पादन हुन सक्छ । आम्दानी पनि बढी लिन सकिने भएकाले स्थानीय जातको कुखुरा पाल्न छाडेको माथागढी–५, हात्तीलुङका वडाध्यक्ष बेलबहादुर ढेंगाले बताए । उनका अनुसार तराईसंग सीमा जोडिएको र सडकको सहज पहुँच भएपछि दैनिक स्थानीय जातका कुखुरा खोज्न आउने गर्छन् । तर, स्थानीय जातका कुखुराको वृद्धि निकै ढिलो हुने भएकाले पनि पाल्न छाडेका छन् । बाहिर खुल्ला छाडेर पाल्नुपर्ने, अण्डाको उत्पादन पनि कम हुने हुँदा किसानहरूको रुची पनि घटै गएको उनले बताए ।

त्यसैले गाउँपालिकाले स्थानीय वस्तुको प्रवर्द्धन कार्यक्रमअन्तर्गत स्थानीय जातका कुखुरापालनमा सहयोग गरेको हो । आठवटै वडाका २८ जना किसानलाई कुखुराका चल्ला निःशुल्क बितरण गरेको जनाएको छ । त्यसलाई आवश्यक पर्ने औषधी प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत दीपक नेपालीले बताए । ‘स्थानीय जातको कुखुराको माग अत्याधिक छ,’ उनले भने, ‘यसको प्रवर्द्धनमागाउँपालिका पनि लागेको छ ।’

आवश्यकताका आधार र विपन्न परिवारलाई आम्दानी बढाउन कुखुराको चल्ला दिएको हो । गाउँपालिकाले लोपोउन्मूख अवस्थामा रहेका स्थानीय जातका कुखुराको प्रवर्द्धन गर्दै ग्रामीण पर्यटनसंग जोड्ने योजना बनेको उपाध्यक्ष निर्मला भट्टराईले बताइन् । व्यवसायिक उत्पादनसँग जोडै जाने र आत्मनिर्भर बनाउन सहयोग गरेको उनले बताइन् ।

‘आयातित विकासे जातका कुखुराका कारण गाउँघरमा पाइने स्थानीय जातका कुखुरा लोप हुने अवस्थामा पुगेको छ,’ उनले भनिन्, ‘त्यसको संरक्षण गर्न किसान आफै पनि सक्रिय हुनुपर्छ ।’ पौष्टिकता र स्वादका हिसाबले उन्नत जातका कुखुराभन्दा स्थानीय जातका कुखुरा बढी रुचाइने उनले बताइन् । यसको व्यवसायीकरण हुननसक्दा पनि लोप हुँदै गएको हो ।

यसको बजारीकरणमा पनि गाउँपालिकाले विशेष ध्यान दिने उनले बताइन् । कृषकहरूलाई स्थानीय जातका कुखुराप्रति आकर्षित गर्न निःशुल्क रूपमा स्थानीय जातका चल्ला वितरण गरेको हो । आगामी दिनमा पनि चल्ला वितरण गर्दै जाने उनले बताइन् । ‘गाउँपालिकाले प्रक्रिया पूरा गरी आउने किसानलाई निःशुल्क रूपमा चल्ला वितरण गर्दै आएको छ,’ गाउँपालिकाका प्रवक्ता मधु पराजुलीले भने, ‘यस वर्ष ४८ जना कृषकहरूले निवेदन दिएकोमा २८ जना कृषकहरूले मात्र प्रक्रिया परा गर्न सकेका थिए ।’

आमा र बच्चाको पौष्टिक खानाको परिपूर्ति गर्न गर्भवती र सुत्केरी अवस्थाका महिलालाई कुखुरा प्रदान गैरसरकारी संघसंस्थाले पनि चल्ला वितरण गर्ने गरेको छ । उनीहरूले पनि गर्भवती र सुत्केरी आमा र बच्चा दुवैको स्वास्थ्यमा सुधार गर्न स्थानीय जातका कुखुरा वितरण गर्ने गरेका हुन् । जिल्लाका कतिपय स्थानमा व्यावसायिक स्थानीय जातको कुखुराको फार्म पनि खुलेका छन् ।

कतिपयले पाल्न छाडेका छन् । रम्भा गाउँपालिकाले पनि स्थानीय जातका कुखुराको व्यावसायिक पालनमा सहयोग गर्ने जनाएको छ । तिनाउ गाउँपालिकाले होमस्टे सञ्चालन गरेको स्थानमा स्थानीय जातको कुखुरापालनमा सहयोग गर्ने अध्यक्ष ओमबहादुर घर्तीले बताए । ‘घरबास चलाएको स्थानमा स्थानीय जातको कुखुराको बढी माग हुने भएकाले सहयोग गरेर भए पनि यसलाई प्रोत्साहन गर्ने योजना छ,’ उनले भने, ‘यस वर्ष नीति तथा कार्यक्रम र बजेट पनि राखिएको छ ।’

प्रकाशित : श्रावण ६, २०७६ ०९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्