लोकल कुखुरा बढाइँदै

माधव अर्याल

पाल्पा — यहाँका स्थानीय तह लोकल (स्थानीय जात) कुखुरा संरक्षणमा लागेका छन् । जतासुकै ब्रोइलर, कोइलर लगायत विकासे कुखुरापालन बढेपछि स्थानीय तहले लोकल जोगाउन सुरु गरेको जनाएका हुन् ।

माथागढी, तिनाउ, रम्भा लगायतका गाउँपालिकाले यस्तो अभियान थालेको हुन् । ‘स्थानीय जातको कुखुराको माग अत्यधिक छ,’ तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले भने, ‘यसलाई जोगाउनेतर्फ कसैको ध्यान पुगेको छैन ।’ गत वर्षदेखि यसमा बजेट विनियोजन गरेर सहयोग गर्दै आएको उनले बताए ।

बुटवल बजार नजिक भएकाले तिनाउका वडामा यस्ता कुखुराको माग बढी छ । उन्नत जातका कुखुराको उत्पादन बढेसँगै स्थानीय कुखुरा हुन थालेपछि संरक्षणमा सहयोग गरिरहेको उनले बताए । माथागढी गाउँपालिका पनि त्यसको संरक्षण र प्रवर्द्धनमा जुटेको छ ।

आठ वडा रहेको गाउँपालिकाले स्थानीय जातका कुखुरा प्रवर्द्धनका लागि सबै वडाका कृषकहरूलाई निःशुल्क रुपमा चल्ला वितरण गरेको छ । उसले यसवर्ष १ जार ५ सय चल्ला बितरण गरेको हो । ‘यसबाट रैथाने जातका कुखुरा प्रवर्द्धनमा सहयोग पुग्नेछ भन्ने लाग्छ,’ गाउँपालिका अध्यक्ष सन्तोष थापामगरले भने, ‘आम्दानीको स्रोत र आफैलाई पनि फाइदा पुग्ने भएकाले पनि सहयोग गरेका हौं ।’

उन्नत जातका कुखुराबाट छोटो समयमा धेरैं उत्पादन लिन सकिन्छ । थोरै दानामा पनि धेरै उत्पादन हुन सक्छ । आम्दानी पनि बढी लिन सकिने भएकाले स्थानीय जातको कुखुरा पाल्न छाडेको माथागढी–५, हात्तीलुङका वडाध्यक्ष बेलबहादुर ढेंगाले बताए । उनका अनुसार तराईसंग सीमा जोडिएको र सडकको सहज पहुँच भएपछि दैनिक स्थानीय जातका कुखुरा खोज्न आउने गर्छन् । तर, स्थानीय जातका कुखुराको वृद्धि निकै ढिलो हुने भएकाले पनि पाल्न छाडेका छन् । बाहिर खुल्ला छाडेर पाल्नुपर्ने, अण्डाको उत्पादन पनि कम हुने हुँदा किसानहरूको रुची पनि घटै गएको उनले बताए ।

त्यसैले गाउँपालिकाले स्थानीय वस्तुको प्रवर्द्धन कार्यक्रमअन्तर्गत स्थानीय जातका कुखुरापालनमा सहयोग गरेको हो । आठवटै वडाका २८ जना किसानलाई कुखुराका चल्ला निःशुल्क बितरण गरेको जनाएको छ । त्यसलाई आवश्यक पर्ने औषधी प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत दीपक नेपालीले बताए । ‘स्थानीय जातको कुखुराको माग अत्याधिक छ,’ उनले भने, ‘यसको प्रवर्द्धनमागाउँपालिका पनि लागेको छ ।’

आवश्यकताका आधार र विपन्न परिवारलाई आम्दानी बढाउन कुखुराको चल्ला दिएको हो । गाउँपालिकाले लोपोउन्मूख अवस्थामा रहेका स्थानीय जातका कुखुराको प्रवर्द्धन गर्दै ग्रामीण पर्यटनसंग जोड्ने योजना बनेको उपाध्यक्ष निर्मला भट्टराईले बताइन् । व्यवसायिक उत्पादनसँग जोडै जाने र आत्मनिर्भर बनाउन सहयोग गरेको उनले बताइन् ।

‘आयातित विकासे जातका कुखुराका कारण गाउँघरमा पाइने स्थानीय जातका कुखुरा लोप हुने अवस्थामा पुगेको छ,’ उनले भनिन्, ‘त्यसको संरक्षण गर्न किसान आफै पनि सक्रिय हुनुपर्छ ।’ पौष्टिकता र स्वादका हिसाबले उन्नत जातका कुखुराभन्दा स्थानीय जातका कुखुरा बढी रुचाइने उनले बताइन् । यसको व्यवसायीकरण हुननसक्दा पनि लोप हुँदै गएको हो ।

यसको बजारीकरणमा पनि गाउँपालिकाले विशेष ध्यान दिने उनले बताइन् । कृषकहरूलाई स्थानीय जातका कुखुराप्रति आकर्षित गर्न निःशुल्क रूपमा स्थानीय जातका चल्ला वितरण गरेको हो । आगामी दिनमा पनि चल्ला वितरण गर्दै जाने उनले बताइन् । ‘गाउँपालिकाले प्रक्रिया पूरा गरी आउने किसानलाई निःशुल्क रूपमा चल्ला वितरण गर्दै आएको छ,’ गाउँपालिकाका प्रवक्ता मधु पराजुलीले भने, ‘यस वर्ष ४८ जना कृषकहरूले निवेदन दिएकोमा २८ जना कृषकहरूले मात्र प्रक्रिया परा गर्न सकेका थिए ।’

आमा र बच्चाको पौष्टिक खानाको परिपूर्ति गर्न गर्भवती र सुत्केरी अवस्थाका महिलालाई कुखुरा प्रदान गैरसरकारी संघसंस्थाले पनि चल्ला वितरण गर्ने गरेको छ । उनीहरूले पनि गर्भवती र सुत्केरी आमा र बच्चा दुवैको स्वास्थ्यमा सुधार गर्न स्थानीय जातका कुखुरा वितरण गर्ने गरेका हुन् । जिल्लाका कतिपय स्थानमा व्यावसायिक स्थानीय जातको कुखुराको फार्म पनि खुलेका छन् ।

कतिपयले पाल्न छाडेका छन् । रम्भा गाउँपालिकाले पनि स्थानीय जातका कुखुराको व्यावसायिक पालनमा सहयोग गर्ने जनाएको छ । तिनाउ गाउँपालिकाले होमस्टे सञ्चालन गरेको स्थानमा स्थानीय जातको कुखुरापालनमा सहयोग गर्ने अध्यक्ष ओमबहादुर घर्तीले बताए । ‘घरबास चलाएको स्थानमा स्थानीय जातको कुखुराको बढी माग हुने भएकाले सहयोग गरेर भए पनि यसलाई प्रोत्साहन गर्ने योजना छ,’ उनले भने, ‘यस वर्ष नीति तथा कार्यक्रम र बजेट पनि राखिएको छ ।’

प्रकाशित : श्रावण ६, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्

सडकमा अलपत्रलाई नयाँ जीवन

अमृता अनमोल

बुटवल — नवलपरासीकी सपना हिताङ काठमाडौं अलपत्र अवस्थामा भेटिइएकी थिइन् । उनलाई ७ महिनाअघि मानव सेवा आश्रमले उद्धार गरेर यहाँ ल्याएको थियो । त्यसबेला उनी शारीरिक रूपमा कमजोर थिइन् ।

अहिले आश्रममा पालनपोषण र उपचार दुवै भइरहेको छ । उपचारपछि निको हुदै जाँदा विगत सम्झिन थालेकी छन् । कक्षा १२ मा पढदै थिइन् । महेन्द्रनगर–काठमाडौं रुटका बस चालकसित प्रेम बस्यो । भागी बिहे गरिन् र काठमाडौं गइन् । गर्भ बसेपछि ती चालक भागे । ‘म सडकमा बस्न थालें,’ सपनाले सुनाइन्, ‘सडकमै छोरी जन्मी । त्यो पनि मरी । त्यसपछिको अवस्था थाहा छैन । आश्रममा बसेका दिन मात्र याद छन् ।’

अर्घाखाँचीको जुकेना घर बताउने गीता अधिकारी ६ महिनादेखि आश्रममा छन् । बुटवलको राजमार्ग चौराहामा अलपत्र अवस्थामा भेटिएकी थिइन् । अहिले आश्रममा पालनपोषण, परामर्श र उपचार भइहेको छ । उनी निको हुन थालेकी छन् । गीताका अनुसार जुकेनामै सासुससुरासित उनकी ५ वर्षीया छोरी छन् । श्रीमान् भारतको पन्जाबमा छन् ।

केही युवाले घुम्न जाउँ भन्दै फकाएर यहाँ ल्याएका थिए । त्यसपछि अलपत्र परेकी हुन् । उनलाई यहाँ ल्याउनेको परिचय बताउन सक्दिनन । ‘देखे चिन्छु,’ उनले भनिन्, ‘सन्धिखर्कका दाइ हुन् । नाम थाहा छैन ।’ आश्रमका स्वास्थ्यकर्मीका अनुसा पुरै निको नभइसकेकाले परिवारमापुर्नस्थापित गर्न समस्या छ ।

मानसिक विक्षिप्तता, पारिवारिक विचलन र दुर्घटनाले सडकमा अलपत्र पर्ने व्यक्ति बढदै गएका छन् । यस्ता व्यक्तिको रेखदेख र संरक्षणका लागि बुटवल उपमहानगरपालिकाको समन्वयमा यहाँ मानव सेवा आश्रमको शाखा सञ्चालन गरिएको छ । बुटवल–८ सुक्खानगरमा आश्रम छ । त्यहाँ अहिले ४४ जनाको संरक्षण गरिएको छ । त्यसमध्ये ४ जना नाबालक छन् । २५ जना वृद्ध छन् ।

आश्रममा हुने रेखदेख, खानपान, सामाजिक परामर्श र उपचारले उद्धार गररिएका व्यक्तिको शारीरिक तथा मानसिक अवस्थामा सुधार भइरहेको छ । आश्रमकी सहसंयोजक सरु अधिकारीले बिरामीको उपचार गरिने, स्वस्थ्य व्यक्तिलाई नाचगान र भलाकुसरी गराइने बताइन् । व्यायाम र योग समेत सिकाइन्छ । आश्रममा उपचारपछि निको भएका १२ जनालाईपरिवारमा पुर्नस्थापित गराइएको छ ।

आश्रमको घर भाडा वापतको मासिक ८० हजार रुपैयाँ उपमहानगरले तिर्ने गरेको छ । प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले स्वास्थ्य उपचारकालागि ४ जना स्वास्थ्यकर्मी उपलब्ध गराएको छ । गत वर्ष खानाका लागि १२ लाख रुपैयाँ सहयोग गरेको थियो । यसबाहेक आफ्नो र बालबालिकाको जन्म दिन र तीथीका दिन सहयोग गर्ने धेरै छन् । यस्तो सहयोगबाट आश्रम चलेको र अलपत्रलाई नयाँ जीवन दिन सकिएको सहसंयोजक अधिकारीले बताइन् ।

प्रकाशित : श्रावण ६, २०७६ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्