कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सडकमा अलपत्रलाई नयाँ जीवन

अमृता अनमोल

बुटवल — नवलपरासीकी सपना हिताङ काठमाडौं अलपत्र अवस्थामा भेटिइएकी थिइन् । उनलाई ७ महिनाअघि मानव सेवा आश्रमले उद्धार गरेर यहाँ ल्याएको थियो । त्यसबेला उनी शारीरिक रूपमा कमजोर थिइन् ।

अहिले आश्रममा पालनपोषण र उपचार दुवै भइरहेको छ । उपचारपछि निको हुदै जाँदा विगत सम्झिन थालेकी छन् । कक्षा १२ मा पढदै थिइन् । महेन्द्रनगर–काठमाडौं रुटका बस चालकसित प्रेम बस्यो । भागी बिहे गरिन् र काठमाडौं गइन् । गर्भ बसेपछि ती चालक भागे । ‘म सडकमा बस्न थालें,’ सपनाले सुनाइन्, ‘सडकमै छोरी जन्मी । त्यो पनि मरी । त्यसपछिको अवस्था थाहा छैन । आश्रममा बसेका दिन मात्र याद छन् ।’


अर्घाखाँचीको जुकेना घर बताउने गीता अधिकारी ६ महिनादेखि आश्रममा छन् । बुटवलको राजमार्ग चौराहामा अलपत्र अवस्थामा भेटिएकी थिइन् । अहिले आश्रममा पालनपोषण, परामर्श र उपचार भइहेको छ । उनी निको हुन थालेकी छन् । गीताका अनुसार जुकेनामै सासुससुरासित उनकी ५ वर्षीया छोरी छन् । श्रीमान् भारतको पन्जाबमा छन् ।


केही युवाले घुम्न जाउँ भन्दै फकाएर यहाँ ल्याएका थिए । त्यसपछि अलपत्र परेकी हुन् । उनलाई यहाँ ल्याउनेको परिचय बताउन सक्दिनन । ‘देखे चिन्छु,’ उनले भनिन्, ‘सन्धिखर्कका दाइ हुन् । नाम थाहा छैन ।’ आश्रमका स्वास्थ्यकर्मीका अनुसा पुरै निको नभइसकेकाले परिवारमा पुर्नस्थापित गर्न समस्या छ ।


मानसिक विक्षिप्तता, पारिवारिक विचलन र दुर्घटनाले सडकमा अलपत्र पर्ने व्यक्ति बढदै गएका छन् । यस्ता व्यक्तिको रेखदेख र संरक्षणका लागि बुटवल उपमहानगरपालिकाको समन्वयमा यहाँ मानव सेवा आश्रमको शाखा सञ्चालन गरिएको छ । बुटवल–८ सुक्खानगरमा आश्रम छ । त्यहाँ अहिले ४४ जनाको संरक्षण गरिएको छ । त्यसमध्ये ४ जना नाबालक छन् । २५ जना वृद्ध छन् ।


आश्रममा हुने रेखदेख, खानपान, सामाजिक परामर्श र उपचारले उद्धार गररिएका व्यक्तिको शारीरिक तथा मानसिक अवस्थामा सुधार भइरहेको छ । आश्रमकी सहसंयोजक सरु अधिकारीले बिरामीको उपचार गरिने, स्वस्थ्य व्यक्तिलाई नाचगान र भलाकुसरी गराइने बताइन् । व्यायाम र योग समेत सिकाइन्छ । आश्रममा उपचारपछि निको भएका १२ जनालाई परिवारमा पुर्नस्थापित गराइएको छ ।


आश्रमको घर भाडा वापतको मासिक ८० हजार रुपैयाँ उपमहानगरले तिर्ने गरेको छ । प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले स्वास्थ्य उपचारकालागि ४ जना स्वास्थ्यकर्मी उपलब्ध गराएको छ । गत वर्ष खानाका लागि १२ लाख रुपैयाँ सहयोग गरेको थियो । यसबाहेक आफ्नो र बालबालिकाको जन्म दिन र तीथीका दिन सहयोग गर्ने धेरै छन् । यस्तो सहयोगबाट आश्रम चलेको र अलपत्रलाई नयाँ जीवन दिन सकिएको सहसंयोजक अधिकारीले बताइन् ।

प्रकाशित : श्रावण ६, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?