२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

तिलोत्तमा प्लास्टिक झोलामुक्त

अब नगरभित्र प्लास्टिक र त्यस्ता सबैखाले सामग्रीको आयात–निर्यातमा प्रतिबन्ध नै लगाइएको छ
घनश्याम गौतम

रूपन्देही — तिलोत्तमा नगरपालिकालाई प्लास्टिक झोलामुक्त नगर घोषणा गरिएको छ । प्लास्टिकका झोलासँगै प्लास्टिकजन्य सबै सामग्रीको प्रयोगमा बन्देज लगाइएको छ । 

तिलोत्तमा प्लास्टिक झोलामुक्त

जनप्रतिनिधि, राजनीतिक दल, व्यावसायिक तथा सामाजिक संघसंस्था, आमा समूह, युवा क्लब, टोल विकास संस्था, सहकारी, वन, विद्यालयका प्रतिनिधिसहित सरोकारवालाको पहलमा प्रतिनिधिसभाका सदस्य एवं पूर्वमन्त्री घनश्याम भुसालले बुधबार उक्त घोषणा गरेका हुन् । उनले नगरवासीलाई प्लास्टिक र प्लास्टिकजन्य सामग्री प्रयोग नगर्ने संकल्पसमेत गराएका छन् ।


नगरपालिकाले एक वर्षअघिदेखि प्लास्टिक झोलामुक्त बनाउने अभियान चलाउँदै आएको थियो । प्लास्टिक र प्लास्टिकजन्य सामग्रीको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने भएकाले त्यसको न्यूनीकरण गर्दै निषेध नै गर्न लागिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।


‘अब नगरभित्र प्लास्टिक र त्यस्ता सबै खाले सामग्रीको आयात निर्यातमा प्रतिबन्ध नै लगाइएको छ,’ उनले भने, ‘विकल्पमा कपडा, अल्लो, जुट वा वातावरणमैत्री वस्तुबाट निर्मित सामग्रीको प्रयोगमा प्रोत्साहित गर्दै छौं ।’ त्यसका लागि नगरपालिका आफैंले त्यस्ता सामग्री उत्पादनमा प्रेरित गर्दै आएको र झोला पनि वितरण गर्ने गरेको उनले बताए ।


एक वर्षदेखि अभियानकै रूपमा नियन्त्रण गर्दै आएको र घोषणापूर्व सरोकारवालासँग धेरै पटक छलफmल र अन्तर्त्रियासमेत गरेकाले अब नगरभित्र त्यस्ता सामग्री बिक्री वितरणमै रोक लगाइने र प्रभावकारी अनुगमन गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाकै पहलमा विभिन्न संघसंस्था, सहकारी, टोल विकास संस्थाले कपडाको झोला वितरण गर्दै आएका छन् ।


घोषणापछि प्रतिनिधिसभा सदस्य भुसालले प्लास्टिक निषेधित अभियान राष्ट्रिय महत्त्वको विषय भएकाले देशलाई नै प्लास्टिक मुक्त देश बनाउनुपर्ने बताए । ‘प्लास्टिक मानव स्वास्थ्यका लागि घातक हो भन्ने प्रमाणित भइसकेको छ,’ उनले भने, ‘त्यसैले त्यसको निर्मूल गर्ने अभियानमा तिलोत्तमा अग्रसर भएको छ ।’ अन्यत्र पनि यो अभियान फैलिनु पर्ने उनले बताए ।


प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले अभियानसँगै प्लास्टिक झोलाको प्रयोगमा कमी आएको बताए । प्रदेशसभा सदस्य दधिराम न्यौपानेले नगरबासीको इच्छाशक्तिबाटै प्लास्टिक झोलामुक्त गर्न सम्भव भएको बताए । त्यसमा नगरपालिका दृढतापूर्वक लाग्नुपर्ने उनको सुझाव थियो ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नगरलाई प्लास्टिक मुक्त गराउन गरिएको १५ महिने अभियानमा नागरिकको साथ र सहयोगले नै अहिले प्लास्टिक निषेध घोषणा गर्न सहयोग पुगेको बताए । ‘अब छिमेकी नगरपालिका र गाउँपालिकाले पनि यो अभियान चलाउनु जरुरी छ,’ उनले भने, ‘त्यसबाट अन्य रोजगारीका अवसरसमेत सिर्जना हुन्छन् ।’


नगरका प्रवक्ता सुरेन्द्र श्रीले प्लास्टिक प्रयोगले झन्डै २० वर्ष पहिलासम्म सामान किनबेचमा प्रयोग हुने गरेका कागजका थुंगा हराएको बताए । ‘बढो प्लास्टिक प्रयोगले फोहोर बढेको छ, नकुहिने प्लास्टिकको प्रयोगले माटोको उर्वराशक्ति घटेको छ,’ उनले भने, ‘पानीका स्रोत सुक्दै गएका छन् ।’ मानिस, चौपायादेखि खेतीमा समेत नोक्सानी पुगेकाले सिंगो नगरपालिकाबाट प्लास्टिक निषेध सुरु गरिएको उनले बताए ।

प्रकाशित : श्रावण २, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?