गाउँमा ऐंचोपैंचो चल्न छाड्याे

वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनि गाउँपालिका मैदानकी ६७ वर्षीया पुनकला विक दुर्गाफाँट खेतमा धानको बीउ उखेल्दै थिइन् । गुन्यो, चोलो, रातो पटुकी बाँधेर हिलोमा बीउका मुठा धान रोप्दै गरेका छोरीबुहारीलाई दिँदै भनिन्– छिटोछिटो रोप्नु है ।

अर्घाखाँचीको पाणिनिमा धान रोप्दै कृषक । तस्बिर : वीरेन्द्र/कान्तिपुर

‘छिमेकबीच महिनौं दिनसम्म आलोपालो रोपिन्थ्यो,’ धान रोपेको विगत सुनाउँदै उनले भनिन्, ‘सनाइको तालमा वाली गीत गाइन्थ्यो, गुन्द्रुकको आचार, सेलरोटी खाएर रमाइलोसित रोपाइँ सक्थ्यौं ।’

छिमेकीबीच सल्लाहमा पैंचो गरेरै रोपाइँ हुन्थ्यो । बालकदेखि वृद्धसम्मका असार महिनाभरि खेतमै हुन्थे । अचेल त्यस्तो छैन । पैंचो गर्ने चलन हरायो । एकआपसमा सहयोगी भावना छैन । घरमा काम गर्ने कोही छैनन् भने खेत बाँझै हुन्छ । ‘खेतमा मार्सी, अनादी, लामे, बास्मती जातको धान रोपिन्थ्यो । खानलाई मिठो र स्वादिलो हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले हाइब्रिड रोपिन्छ । खानलाई मिठो हुँदैन । रैथाने धानको बीउ मासियो । धेरै उब्जनी गर्न बीउ बदलियो । तर, खानलाई पटक्कै स्वादिलो छैन ।’ आफूले असारमा १५ जना छिमेकीको खेत रोप्ने गरेको उनले सुनाइन् । ‘त्यसपछि उनै १५ जना मेरो खेत रोप्न आउँथे । एकै दिनमा रोपाइँ सकिन्थ्यो,’ उनले भनिन्, ‘अहिले त खेताला नै नपाएर सकस छ ।’

उनका अनुसार खेत रोप्दा खाइने खानाको परिकार पनि अहिले बदलिएको छ । चाउचाउ खाएर धान रोपिन्छ । गोरुको सट्टा हाते ट्याक्टर भित्रिएका छन् । गोठमा एक हलगोरु सबैले पाल्थे । अहिले खोजेर भेट्टाउन मुस्किल भएको उनले सुनाइन् ।

४५ वर्षीया भीमकला भुसालका दुई छोरा विदेशमा छन् । बुहारी सदरमुकाममा छन् । नातिनातिना पढाउन भनेरै बसेका बुहारीहरू दसैंमा मात्रै घर फर्किने उनले बताइन् । ‘खेत रोप्दा र धान स्याहार्दा पनि आउँदैनन्,’ उनले भनिन्, ‘उनीहरू नआए पनि सकेजति काम गरेकै छु । नसक्दाको दिन देखा जायगा ।’

टारी खेत बाँझियो । छिमेकमा धान रोप्ने खेताला खोज्दा पाइँदैनन् । ‘खेताला पाइए एकै दिन धान रोपाइँ सकिन्थ्यो, तीन दिन भयो अझै सकिएको छैन,’ उनले भनिन् । धान रोप्दा र भित्र्याउँदा काम धेरै हुन्छ । गोरु नपाइएर ट्याक्टरले हिल्याउँदै धान रोप्दै गरेको उनले बताइन् । गोरु र खेताला नपाइँदाको पीडा उनलाई नमिठो लागेको छ । ‘पहिले घरमा एक हल गोरु र लैना/बकेर्ना भैंसी कहिल्यै टुटदैनथे,’ उनले भनिन्, ‘अचेल गाउँमा दूध खोजेर पनि पाउन मुस्किल छ ।’

मथुराबेशीमा गोपाल खनालले ७ रोपनी खेतमा रोपाइँ एकै दिन भ्याउँथे । तर, खेताला अभावमा ३ दिनसम्म पनि रोपाइँ सकेनन् । ‘काम गर्ने जनशक्तिको अभाव नै मुख्य कारण हो,’ उनले भने, ‘खेत बाँझै छाडन मनले मानेन, जति दिन लागे पनि रोपाइँ त गर्नुपर्‍यो नि !’ गोरु पाइँदा धान रोप्ने खेताला नपाइने र खेताला पाएको दिन गोरु नपाइने समस्या भोगेको उनले सुनाए ।

महिला खेतालाले दिनको २ सय र पुरुषले ४ सय रुपैयाँ लिएर धान रोपाइँ गरेको सोही गाउँकै गीता खनालले बताइन् । खेताला र गोरु अभावले बर्सेनि खर्च बढो रहेको उनले सुनाइन् । समथर खेतमा ट्याक्टरले हिल्याए पनि अलि असहज ठाउँमा ट्र्याक्टर पुग्न नसक्दा कृषकलाई अझै मुस्किल परेको उनको भनाइ छ ।

‘यस्तै हो भने खेत बाँझै छोडने दिन आउन धेरै समय नलाग्ला,’ उनले भनिन्, ‘ब्याड राख्नेदेखि धान भित्र्याउनेसम्म खर्च जोड्दा पसलबाट चामल किन्न सस्तो पर्ने देखियो ।’ युवाको ध्यान कृषितिर भन्दा वैदेशिक रोजगार, पेसा, व्यवसायतर्फ बढी भएकाले उब्जनी पनि घटदै गएको छ । सुख सुविधा रोज्दै सहरतिर बसाइँसराइ पनि अर्को कारण हो । वैदेशिक रोजगारमा भएका परिवार छोराछोरी पढाउन सहरमा डेरा गरी बस्दा खेताला नपाइएका हुन् ।

धानमा रासायनिक मल मात्रै प्रयोग गर्दा उब्जनी पनि थोरै र खेतको माटो बिग्रँदै गएको शीतगंगा–७, दमारबेसीका हिमलाल बेल्वासेले बताए । ‘सबैले धान रोपिसके तर मेरो खेत बाँझै छ,’ उनले भने, ‘न गोरु पाइन्छन् । न खेताला । खेती गरेर खान दुःख हुन थाल्यो ।’

प्रकाशित : श्रावण २, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्

निर्धारित समयमै पुल बन्यो

कान्तिपुर संवाददाता

पाल्पा — जिल्लाको तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिका–३ जोड्न निर्माण गरिएको मोटरेबल पुल तोकिएको समयमै सम्पन्न भएको छ ।

बाँसटारी–झडेवा सडक खण्डअन्तर्गतको तिनाउ खोलामाथि पक्की पुल निर्माणको समय एक वर्षको भए पनि त्यसको ८ दिनअघि नै सकिएको हो । पुलको प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार उद्घाटन गरे । पुल उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले निर्माण व्यवसायीको क्षमता कमजोर रहेको गुनासो आएका बेला समयमा काम गर्ने व्यवसायी पनि भेटिएको बताए ।

३२ मिटर १२ सेन्टिमिटर लम्बाइको पुलको चौडाइ ८ मिटर ४ सेन्टिमिटर रहेको छ । विश्व बैंकको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटीपी) कार्यक्रमअन्तर्गत प्रदेश ५ सरकारको ६ करोड ६६ लाख १६ हजार रुपैयाँको लगानीमा पुल निर्माण सम्झौता भएको थियो । यसको भुक्तानी ६ करोड ५१ लाख ९७ हजार भएको पूर्वाधार विकास कार्यालयका जिल्ला प्रमुख प्रेम बस्यालले बताए । रसुवा कन्स्ट्रक्सन प्रालि धापासी, काठमाडौंले ठेक्का लिएर जय विष्णु निर्माण सेवामार्फत पुल निर्माण गरेको हो ।

निर्माण व्यवसायी अनिल सिलवालले सबै पक्षको सहयोगमा समयमै काम सम्पन्न गरिएको बताए । ‘गत वर्षको असार २३ गते सम्झौता गरेका थियौं,’ उनले भने, ‘हामीले यसलाई अवसरका रूपमा लियौं । छिटो काम गर्न हामीले आन्तरिक व्यवस्थापन गयौं ।’
दिनरात खटेर विभिन्न बाधा अवरोधका बीच पनि काम समयभन्दा छिटो नै सकेका उनले बताए । इन्टिग्रेटेड सिस्टमबाट काम गर्दा सफल भएको उनले बताए । कमजोर भूभाग भएकाले ४८ पायल १४ मिटर जमिनमुनि गाडिएको छ । पुलमा एउटामात्र स्पान प्रयोग गरिएको छ ।

पुलको ०७५ असार २३ गते सम्झौता भएर असोजको ८ गते शिलान्यास भएको हो । प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ यादवले पुलको शिलान्यास गरेका थिए । उद्घाटनमा आएका मन्त्री चौधरीले प्रदेश ५ अन्य प्रदेशभन्दा धेरै आर्थिक प्रगति गर्ने प्रदेश भएको बताए । ‘समयअगावै काम सकेर तिनाउको अम्लिहानमा पुल बनेको छ,’ उनले भने, ‘सरकारले काम गर्ने ठेकेदारको सूची बनाउँदै छ । काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राखेर काम नदिने प्रक्रियामा रहेको छ ।’

प्रतिनिधिसभा सांसद दलबहादुर राना र सोमप्रसाद पाण्डेयले समयमा विकास निर्माणको काम गर्ने निर्माण व्यवसायीलाई हौसला प्रदान गर्ने बताए । प्रदेश सांसद नारायण आचार्यले नगद १० हजारसहित निर्माण व्यवसायीलाई सम्मानपत्र दिए ।

प्रकाशित : श्रावण २, २०७६ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्