कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेस्रोलिंगीलाई सार्वजनिक हुँदा झनै समस्या

रूपा गहतराज

(नेपालगन्ज) — बर्दियाको बढैयातालकी शीला गुरुङ घरकी कान्छी छोरीका रूपमा हुर्किइन् । महिला भए पनि पुरुषको व्यवहार थियो । लामो अवधि खुल्न सकिनन् । ४९ वर्षको उमेरमा विभिन्न संस्थाको सहयोगमा पहिचान खुलाइन् ।

त्यसपछि पुरुषका रूपमा चिनाउँदै आए । पहिचान खुलाएपछि समस्या झेल्नु परेको छ । समाजले पुरुषको रूपमा स्वीकार्दैन । महिलाको हक अधिकार पाइँदैन । बेला–बेला प्राप्त अवसर पनि गुमाउनु परेको छ । ‘न छोरासरह अंश पाइयो,’ उनले भने, ‘न छोरी भएर परिवारलाई खुसी दिन सकियो ।’


उनले ०४८ सालदेखि तेस्रोलिंगीका लागि वकालत गर्दै आएका छन् । अहिले आफैंलाई रोजीरोटी जुटाउन समस्या छ । ‘काम माग्न गयो, कतै काम दिंदैनन्,’ उनले भने, ‘महिला भन्यो भने पुरुष भन्छन् । पुरुष भन्यो भने पत्याउँदैनन् ।’


उनीहरू एकल महिलाले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता पाउँदैनन् । ‘न त हाम्रा श्रीमतीले एकल भएपछि भत्ता पाउनेछन्,’ उनले भने, ‘हामी मरेपछि परिवारले कसरी जीविका चलाउलान् !’


उनीहरूका अनुसार काम पाउनै गाह्रो छ । पाइहाले टिक्न समस्या छ । काम गर्ने वातावरण हुँदैन । ‘पहिचान खुलाउँदा हामी झनै समस्यामा पर्‍यौं,’ उनले भने, ‘स्थानीय तहलले हामीलाई रोजगारको अवसर दिनुपर्छ ।’


बाँके बैजनाथकी कौमती पुन ०६६ सालदेखि अंकित पुन बने । ३६ वर्षीय पुनले १२ वर्षको उमेरमा वास्तविकता बुझेको बताए । उनलाई खुल्न निकै चुनौती सामना गर्नुपर्‍यो । पहिचानका कारण घर छाड्नुपर्‍यो । जति संघर्ष गरे पनि अहिले आएर न कुनै सीप छ, न रोजगारीको अवसर नै ।


‘दाताको सहयोगमा हामी खुल्यौं । त्यसपछि पहिचानअनुसार स्थापित हुन सकेनौं, न त पुरानो पहिचानमा फर्किन सक्यौं,’ उनले भने, ‘महिला भएर बाँच्न पाएनौं, न पुरुष भएर अधिकार उपभोग गर्न पायौं । यस्ता व्यक्तिले पहिचान सार्वजनिक भएपछि झन् हिंसामा परेको अनुभूति गर्न थालेका छन् । सुरुमा खुलेकालाई राज्यले कुनै सुविधा दिएको छैन । आरक्षण कोटामा महिला अनि पुरुष मात्र उल्लेख गरिएको हुन्छ । तेस्रोलिंगीका कुरा कसैले नउठाएको उनीहरूले दुखेसो गरे ।


‘आउने पिढीलाई पहिचान नखुलाउन आग्रह गर्छु,’ अंकितले भने, ‘जस्तो हुनुहुन्छ, आफनो पहिचान लुकाएरै बस्नुस् । खुलाएर कुनै फाइदा छैन ।’


कोहलपुरकी २२ वर्षीया जेसीका खड्का बेरोजगार छन् । उनी दाताको सहयोगमा तेस्रोलिंगीको अधिकारका लागि काम गरिरहेकी छन् । २ वर्षअघिसम्म उनलाई धेरैले जीवन खड्का भनेर चिन्थे । अहिले उनी जेसिका भएकी छन् । धेरै समय महिला बन्ने रहर दबाएर बसिन् । ‘सामाजिक बाध्यताले इच्छा दबाएरै बसें,’ उनले भनिन्, ‘तर, पहिचान अहिले फेरिएको छ । अहिले म जेसिका खडका भनेर चिनिन थालेकी छु ।’ शारीरिक अवस्था महिलाको जस्तै भएकाले साथीले गिज्याउँछन् । गीत गाउने उत्कृष्ट कला छ ।


महिला र पुरुष दुवैको आवाज निकाल्छिन् । नृत्य उत्तिकै राम्रो गर्छिन् । ‘धेरै स्थानमा आफ्नो दुवै प्रतिभा देखाउन पुगेकी छु,’ उनले भनिन् । आफ्नो यौनिकताकै कारण प्रतिभाको सम्मान नभएको उनले बताइन् । लामो संघर्षपछि आफ्नो सपना पूरा गरेकी उनलाई आफ्नो प्रतिभा सबैसामु पुर्‍याउने अझै धोको छ ।


पहिचानका लागि सार्वजनिक हुँदा झन् समस्यामा परेको उनीहरूले बताए । राज्यले दिने सेवासुविधाबाट वञ्चित भएको गुनासो गरे । सार्वजनिक भएका यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकांश बेरोजगार छन् । नेपालगन्जस्थित पश्चिम तारा नेपाल संस्थाकी परिना चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्यकले अझै पनि सम्मानित जीवन बाँच्न नपाएको बताइन् ।


‘हामी खुलेर आफ्नो जीवन बाँच्न पाएका छैनौं,’ उनले भनिन्, ‘हरेक यौनिक तथा लैंगिक अल्पसंख्यकले असुरक्षित रूपमा बाँचिरहनुपरेको छ ।’


प्रकाशित : श्रावण १, २०७६ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?