दलितलाई डेराकै समस्या

कान्तिपुर संवाददाता

बुटवल — अर्घाखाँची ढिकुराकी सिर्जना नेपाली कक्षा ११ पढ्न यहाँ आएकी छन् । यहाँस्थित एक कलेजमा भर्ना भइसकिन् । अझै उनको बसोबासको टुंगो छैन ।

‘भाडाको कोठा खोज्दै हिंडेको १० दिनभन्दा बढी भयो,’ उनले भनिन्, ‘थर भनेपछि कोठा भाडामा दिनै मान्दैनन् ।’ निधो भइसकेका ठाउँमा पनि फोन गरेर रद्द गर्ने गरेको उनले सुनाइन् ।


सिर्जनाजस्ता स्याङ्जा गल्याङका राजु विश्वकर्मा बुटवल बहुमुखी क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत छन् । उनी ३ वर्षमा ६ पटक डेरा सरे । ‘दलित भन्ने थाहा पाएपछि डेरा दिनै मान्दैनन्,’ उनले भने, ‘डेरा पाइहाले धारो, लुगा सुकाउने छत र घरमा हुने कार्यक्रममा भेदभाव गर्छन् ।’


भेदभाव भएको गुनासो गरे कोठा सर्न दबाब दिन्छन् । दलित विद्यार्थीमात्र होइन, व्यवसायीलाई समेत घरभाडा पाउन मुस्किल छ । आफू त्यही घरमा बस्ने भए गैरदलितको घरमा भाडामा दिंदै दिंदैनन् । यसले गर्दा रोजेको ठाउँमा व्यापार व्यवसायसमेत गर्न पाएका छैनन् ।


बुटवल कालिकानगरका सन्दीप विक तिलोत्तमाको भलबारीमा सुनचाँदी व्यवसाय गर्छन् । घरपायक व्यवसाय सार्न खोजेको २ वर्ष भयो । ‘केन्द्रमा गैरदलितका घर छन् । चिनेकै व्यक्ति १८ जनालाई आग्रह गरें तर दिएनन्,’ उनले भने, ‘भन्न त सुनचाँदीको पसल राख्दा जोखिम हुन्छ भन्छन् । तर, दलित भएकै कारण भाडामा नदिएका हुन् ।’ दलित भएकै कारण युवा क्लब, खेलकुद क्लबलगायतमा नेतृत्व गर्न नपाएको उनको दुखेसो छ । सन्दीपकी आमा माया बराल विक बुटवल उपमहानगर–१० की दलित महिला सदस्य हुन् । ‘आफैं जनप्रतिनिधि भएर पनि भेदभाव सहनुपरेको छ,’ मायाले भनिन्, ‘व्यापार व्यवसाय गर्न सटर भाडा पाइँदैन ।’


दलित महिला संघ जिल्ला अध्यक्ष मनु खड्का विश्वकर्माले घरभाडामा दलितमाथि हुने भेदभावले पढाइलेखाइ, जागिर, व्यवसाय र प्रगतिमै समस्या भएको बताइन् । यसअघि विभिन्न छलफलमा घरभाडामा हुने विभेदविरुद्ध आवाज उठाउँदा घर व्यक्तिगत हो भनेर रोकेको उनले सुनाइन् । ‘भाडामा दिन बनाएको घर सार्वजनिक स्थलजस्तै हो । त्यसमा जातीय भेदभाव र छुवाछूत गर्न पाइँदैन,’ उनले भनिन्, ‘यसविरुद्ध दलित समुदाय र सामाजिक संघसंस्था एक भएर आवाज उठाउने छौं ।’


प्रकाशित : श्रावण १, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्

पुल नबन्दा सवारी ठप्प

बुर्तिबाङ–ढोरपाटनसम्मको सडकमा नियमित सवारी चल्न छाडेका छन् । जबरजस्ती चल्ने ट्र्याक्टरले सडक अप्ठ्यारो भएको भन्दै भाडा चर्को लिन्छन् ।
प्रकाश बराल

(बागलुङ) — ढोरपाटन नगरपालिका–९ को ज्योति विकास माविका प्रधानाध्यापक बैंकको काम गर्न पैदल बुर्तिबाङ झर्नुपर्‍यो । वर्षायामका कारण सवारी चल्न छाडेपछि उनले आफ्नै नगरपालिकाको केन्द्र झरेर काम सकेर गाउँ फर्कन दुई दिन बिताउन बाध्य भए ।

चामललगायत दैनिक उपभोग्य सामग्री ढुवानीका लागि जितबहादुर विश्वकर्माले पनि दिन बिताए । सडक हिलाम्मे छ । बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडकमा नियमित सवारी चल्न छाडेका छन् । जबरजस्ती चल्ने ट्र्याक्टरले सडक अप्ठ्यारो भएको भन्दै भाडा चर्को लिन्छन् । धेरैले खाद्यान्न पिठ्युँमा बोकेर लैजान बाध्य छन् ।

ढोरपाटन–सालझन्डी सडक निर्माण नभएपछि यात्रीले सास्ती खेपेका हुन् । सडकलाई गौरवको योजनाको रूपमा सूचीकृत गरे पनि निर्माणमा भने ढिलाइ भएको छ । सडकको ट्र्याक फेरिएपछि केही वर्षअघि काम गरिएको सडक पनि जीर्ण भएको छ ।

निसीखोलाको बोहोरागाउँदेखि ढोरपाटन जाने ट्र्याक खन्दाखन्दै छाडेर बुर्तिबाङ, अधिकारीचौर हुँदै जाने भएपछि केही वर्ष ढिलाइ भएको थियो । चालु वर्ष यो खण्डमा कामै नभएपछि सडक जीर्ण र जोखिम बनेको स्थानीयले गुनासो गरे । जनप्रतिनिधिले पनि आयोजनालाई पटकपटक आग्रह गर्दा सडक बन्न नसकेको टिप्पणी गरे ।

‘हामीले ढोरपाटनलाई जिरो किलोमिटर मानेर काम थालौं भनेका हौं, तर गरेको छैन,’ ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले भने, ‘के गरेका छन्, कता बजेट खर्चन्छन् केही बुझ्न सकिएन ।’ आयोजनाको क्षेत्र भएको भन्दै नगरपालिकाले बजेट लगानी नगर्दा उपभोक्ता मारमा परेको उनले बताए ।

सडककै समस्याले ढोरपाटनका किसानले फलाएको आलु सहजै बजार पठाउन पनि सकेका छैनन् । हेलिकोप्टर चढेर सिकारका लागि जाने विदेशी सिकारी बाहेकका सबै पर्यटकले पनि ढोरपाटन घुम्न जाँदा सास्ती खेप्छन् । सडक चिप्लो र ग्रेड नमिलेकाले दुर्घटनाको खतरा बढी छ । बोबाङ, फलेघर र रुद्रताल क्षेत्रमा बाटो चिप्लो र जोखिम छ । साँघुरो, उकालो र चिप्लोले धेरै सवारी दुर्घटनामा परेको चालक खगेन्द्र विश्वकर्माले बताए । ‘वर्षामा पानी पर्दा र हिउँदमा हिमपात हुँदा ढोरपाटन जानै सकिंदैन’ विश्वकर्माले भने, ‘बचाएर सवारी चलाउनै नसकिने बाटो छ ।’

सडकको ग्रेड मिलाउने र ग्राभेल गरियो भने मात्र सहज यात्रा सम्भव हुने उनले बताए । ग्रामीण सडकको ट्र्याक खुलेकै बाटोलाई आधार बनाएर सालझन्डी ढोरपाटन आयोजनाले काम अगाडि बढाएको थियो । आयोजना प्रमुख होमबहादुर केसीले सडकको स्तरोन्नति गर्ने र ढोरपाटन खण्डमा काम गर्ने बताए पनि यो वर्ष कामै नभएको नेपालीले बताए ।

ट्र्याक खोल्ने पहिलो वर्ष २५ करोड बजेट परेकोमा गत वर्ष २२ करोड र चालु वर्षलाई १८ करोड रुपैयाँ मात्र विनियोजन भएको थियो । उक्त बजेट पनि ढोरपाटनतर्फ नआएको नेपालीले टिप्पणी गरे । मध्यपहाडी लोकमार्गको बुर्तिबाङमा निर्माणाधीन पक्की पुल सम्पन्न नभएपछि यसअघि चलेका सवारी पनि बन्द भएका छन् । यसअघि खोलामै बनाइएको अस्थायी कल्भर्टबाट ढोरपाटन र निसीखोला सवारी चल्थे । बडिगाड खोलामा निर्माणाधीन पुल हिउँदमा मात्र सकिने आयोजनाको तयारी छ । वर्षात्मा खोला तर्न नसक्ने भएकाले सवारी बुर्तिबाङ बजारमै रहन्छन् । बुर्तिबाङदेखि ढोरपाटन सिकार आरक्ष ३६ किमि र निसीखोलाको भलकोट ५० किमि पश्चिममा पर्छ ।

वर्षाले खोला बढेर अस्थायी पुल बगाएपछि केही सवारी साधन पश्चिमतर्फ परेका छन् । ट्र्याक्टर, जिप र मोटरसाइकल तार्न नसकिने भएपछि पश्चिम क्षेत्रमा मात्र सञ्चालन हुने स्थानीय नवीन विकले बताए । निसीखोलातर्फ मध्यपहाडी लोकमार्गको खण्ड सहज भए पनि पुल नभएपछि झेलुंगे पुल तरेर पारिपट्टि बसेका सवारी चढेर जानुपर्ने बाध्यता भएको हो ।

प्रकाशित : श्रावण १, २०७६ १२:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×